मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मणिलाल विश्वकर्मा
२०७५ मङ्सिर २९ शनिबार १५:२८:००
Read Time : > 1 मिनेट
प्रदेश

उखु किसानले अझै पाएनन् अनुदानको बक्यौता रकम 

मर्कामा पाँच हजार ६ सय दुई जना किसान 

Read Time : > 1 मिनेट
मणिलाल विश्वकर्मा
२०७५ मङ्सिर २९ शनिबार १५:२८:००

सिरहाको नरहा गाउँपालिका २ पानवारीस्थित हिमालय सुगर मिल्सलाई उखु बेचेका किसानहरुले सरकारी अनुदानको ६ करोड रुपैयाँ भन्दा बढी बक्यौता भुक्तानी नपाएको गुनासो गरेका छन् । 

सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाका उखु किसान श्रीदेव यादवले चिनी उद्योगलाई उखु बेचेको रकम १० महिनापछि पाएपनि सरकारी अनुदानको रकम अझै नपाएको बताए । ‘उद्योगलाई उखु बेचेको रकम ढिलै भएपनि भुक्तानी पायौं’ उनले भने ‘अनुदानको रकम पाउन पनि विभिन्न झञ्झट ब्यहोर्दैछौं ।’ उखु खेती गर्नुपर्ने समयमा किसानहरु अनुदानको रकम भुक्तानीका लागि दौडधुप गर्नु पर्दा समस्यामा परेको उनले सुनाए ।   
 
अर्का उखु किसान गाउँपालिका ३ का इस्लाम अन्सारीले चार हजार क्वीण्टल उखुको अनुदान दुई लाख ६१ हजार एक सय २० रुपैयाँ नपाएको दुःखेसो गरे । ‘सरकारले दिने अनुदानको भुक्तानीका लागि जग्गा धनीपूर्जाको नक्कल मागेर किसानलाई थप दुःख दिएको छ,’ उनले भने, ‘मैले आफ्नो र भाडामा लिएको जग्गामा उखु खेती गरेको छु, भाडाको जग्गाको कसरी जग्गा धनीपूर्जा ल्याउनु ?’ उनका छिमेकी साहिद अन्सारीले पनि उखुको अनुदान वापत्को ६ लाख ५२ हजार आठ सय रुपैयाँ भुक्तानी नपाएको गुनासो गरे । 

मर्कामा पाँच हजार ६ सय दुई जना किसान 
सरकारले निर्धारण गरेको उखुको मूल्य प्रति क्वीण्टल पाँच सय ३१ रुपैयाँ २० पैसा मध्ये उद्योगले प्रति क्वीण्टल चार सय ६५ रुपैयाँ ९२ पैसा र सरकारले ६५ रुपैयाँ २८ पैसा अनुदान दिने सहमति भएको उखु किसानहरु बताउँछन् । उद्योगले पाँच हजार ६ सय दुई जना किसानको उखुकाु रकम फछ्र्यौट गरिसकेको भएपनि सरकारी अनुदानको रकम भने वर्ष दिन बित्न लाग्दा समेत भुक्तानी नपाएको किसानहरुको भनाई छ ।

उद्योगलाई उखु बेचेका मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटका गरी पाँच हजार ६ सय दुई जना किसानले १० लाख २१ हजार ६७ क्वीण्टल उखु बेचेका थिए । उक्त परिमाणको उखुको ६ करोड दुई लाख ५४ हजार रुपैयाँ सरकारी अनुदान वापत्को रकम नपाएको किसानहरुको गुनासो छ ।

आर्थिक वर्ष २०७४/०७५ मा हिमालय सुगर मिल्समा सिरहाका किसानले चार लाख ५३ हजार सात सय ४५, धनुषा चार लाख ६१ हजार एक सय ९, सर्लाही ५६ हजार दुई सय ६७, सप्तरी सात हजार चार सय ५५ क्वीण्टल उखु बेचेको मिलका प्रमुख उखु प्रबन्ध अवधकिशोर यादवले जानकारी दिए ।
प्रबन्ध यादवका अनुसार सुनसरी र मोरङ २२ हजार पाँच सय ७९, बारा र रौतहटका १९ हजार सात सय ६५, महोत्तरी एक सय ४३ र भारतीयले एक हजार ६ सय क्वीण्टल उखु बेचेका थिए । ‘उद्योगले प्रति क्वीण्टल चार सय ६५ रुपैयाँका दरले कार्तिकभित्रै किसानको खातामा रकम जम्मा गरिदियो’ प्रबन्धक यादवले भने । उद्योगले भुक्तानी गरेकै आधारमा किसानलाई अनुदान रकम दिइनु पर्ने र त्यसका लागि जग्गाधनी पूर्जाको झमेला हटाइनु पर्ने औंल्याए । 


रकम आइसक्यो, भुक्तानी हुन्छ : प्रजिअ
उखु किसानलाई सरकारले दिने अनुदान रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा भईसकेको सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । ‘चिनी मिलले किसानहरुको विवरण र खाता नम्बर समेत पठाई सकेको छ’ प्रजिअ पण्डितले भने, ‘भुक्तानीका लागि उखु लगाएको जग्गाकोे धनीपूर्जाको प्रतिलिपी अनिवार्य गरिएको भएपनि सबैको नआएकाले भुक्तानी दिन नसकिएको हो ।’

कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले अनुदान भुक्तानीका लागि बैंक खाता नम्बर र लालपूर्जा अनिवार्य भएकाले खाता नम्बर आएपनि जग्गा धनीपूर्जाको प्रतिलिपी उपलब्ध नहुँदा रकम भुक्तानीमा कठिनाइ भएको बताए ।