मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार ३० सोमबार ०९:३२:००
Read Time : > 2 मिनेट
नयाँCity

नकारात्मक कुरा गर्नेको छेउमै बस्दिनँ

Read Time : > 2 मिनेट
२०७६ असार ३० सोमबार ०९:३२:००

मैले आफैँलाई हेर्दा एकदमै एकोहोरो देख्छु । एउटा काममा लागेपछि त्यो फत्ते नगरेसम्म अर्को काम छुदिनँ । म त्यस्तो व्यक्ति होइन जो एकै समय धेरैवटा काम गरुँ । अहिले म ‘दोख’ फिल्म बनाइरहेको छु । विगत चारवर्षदेखि यसैमा केन्द्रित छु । बीचमा धेरै अफर आए तर, अस्वीकार गरेँ । गरिरहेको कामभन्दा बाहेक मेरो दिमाग नै जाँदैन । 

मेरो यो एकोहोरो बानीले घरका मानिसलाई चाहिँ दिक्क लाग्छ । अरू मान्छेले पनि कत्ति एकोहोरे मान्छे होला भन्छन् । मलाई ठूलो कुरा लाग्दैन । किनभने, यो मेरो स्वभाव हो । 

सरल छु

सरलता मेरो सबल पक्ष पनि हो र कमजोर पक्ष पनि । मान्छेले ‘अनुप सेलेब्रिटी हो, हामीसँग बोल्दैन, कुरा गर्दैन’ भन्ने सोँच्दारहेछन् । तर, म सबैसँगै सधैँ एउटै व्यवहार गर्छु । सबैसँग बोल्छु, हाँस्छु । म जोसँग पनि जहाँ पनि छिट्टै घुलमिल हुन सक्छु । सबै उमेर समूहका साथी छन् । आफ्नै उमेरका त स्वभावैले हुने भए । किशोर र वृद्ध उमेरका समेत साथी बनाएको छु । सरलता मेरो कमजोर पक्ष किन भयो भने, केहीले फाइदा पनि उठाउँछन् । 

सद्गुरु बन्ने प्रयास गर्छु

मैले जानेको कुरा जोसुकैले जहाँसुकै सोधे पनि सहजै भनिदिन्छु । ज्ञान जति बाँड्यो त्यति बढ्छ । मैले कतै पढेको थिएँ, गुरु तीन किसिमका हुन्छन् । एउटा गोबरगणेश गुरु, अर्को असत्गुरु र अर्को सद्गुरु । गोबरगणेश गुरु भनेको चाहिँ चेला र गुरुको सम्बन्ध बनाइराख्ने, तर गुरुले चेलालाई केही नसिकाउने । केही नसिक्ने भए पनि चेलाले गुरु मानिरहने । असत्गुरुचाहिँ जोसँग थोरै ज्ञान छ । मैले मेरा चेलालाई सिकाएँ भने मलाई उछिनेर जान्छ र मैले खाइपाई आएको जागिर जान्छ भनेर थोरै मात्रै सिकाउने वा गलत शिक्षा दिने । सद्गुरुले चाहिँ आफ्नो प्रशिक्षार्थीलाई दशवटा बाटो देखाउँछ । त्यो बाटो हिँड्दा कहाँ पुग्छ त्यो पनि बताउँछ । तर, हिँड्न आफैँलाई लगाउँछ । 

कसैलाई बिझाउँदिनँ 

म कसैलाई सीधा रूपमा नराम्रो भन्दिनँ । भन्न त भन्छु, तर भूमिका बाँधेर भन्छु । पहिला राम्रो चिज भन्छु । त्यसपछि मन नपरेको कुरा भन्छु । पहिला सीधै नराम्रो चिज मात्रै भन्थेँ । चित्त नबुझेपछि गाली गर्थेँ । उस्तै परे, लातले पनि हान्थेँ । त्यसले नकारात्मक असर प-यो । काम नै छाडेर जाने । व्यक्तिगत रूपमा लिने भयो । अनि बानी सुधार गरेँ । 
फूलजस्तो हुन्छु

म सकारात्मक छु । नकारात्मक मान्छेको बीचमा बस्न सक्दिनँ । कतै बस्दा नकारात्मक अनुभूति भए तत्काल उठेर हिँडिहाल्छु । जहिल्यै सकारात्मक छलफल, सकारात्मक विचार रुचाउने व्यक्ति हुँ । अरूको कुरा काट्ने र नकारात्मक सोच्ने समय मसँग छैन । सकारात्मक ठाउँमा परेँ भने म एकदम कोमल हुन्छु । पग्लिहाल्छु । फूलजस्तो हुन्छु । म पग्लिन रुचाउँछु ।

क्षमताअनुसार गर्न सकिनँ 

कहिलेकाहीँ आफ्नो कामलाई हेर्दा म जति गर्न सक्छु त्यसअनुसारको काम पाइनछु कि जस्तो लाग्छ । मेरो क्षमताअनुसारको काम अझै पाएको छैन । मान्छेहरूले जसरी मलाई हेर्छन्, बुझ्छन् त्यो स्तरमा अझै प्रस्फुटन गर्न सकेको छैन । त्यो एउटा अभिनेताको स्वभाव पनि होला । मैले जत्ति गर्न सक्छु त्यत्ति गरिसकेँ भनेको दिन त सकिन्छ भन्ने पनि हो । सधैँ आफैँलाई चुनौती दिन मन लाग्छ । १० वर्षअघिको म र १० वर्षपछिको म एउटै हुनुभएन । 

आमाबुबाको सोचअनुसारको छोरा भइनँ

म मेरा आमाबुबाले सोचेकोजस्तो छोरा भइनँ । घर जानेबित्तिकै आमाको पाउ छोएर आशीर्वाद लिएपछि बुबाको ग्यालरीमा छिर्छु । म आफ्नै काममा लाग्ने हुँदा बुबा आमालाई दुःख दिएँ भन्ने लाग्छ । बुबा त आफैँ पनि कलाकार हुनुभएकाले बुझ्नुहुन्थ्यो होला । आमालाईचाहिँ अलि गाह्रो हुन्थ्यो । किनभने, जुन क्षेत्रमा लागेको थिएँ त्यहाँ पैसा कमाइँदैनथ्यो । उल्टै आफैँ खर्च गर्नुपथ्र्यो । आफूसँग पैसा हुँदैनथ्यो । त्यस्तो वेला घरको सोफासेट, क्यासेट प्लेयरसमेत बेचेको छु । 

धेरै समय काममा, साथीभाइसँगै हुन्थेँ । अहिले पनि बाहिरै छु । आफ्नै काममा दौडिरहेको छु । उहाँहरूसँग बस्ने, कुरा सेयर गरिदिन पनि भइनँ । आमाबुबा पोखरा बस्नुहुन्छ । मिस गरिरहन्छु । उहाँहरूले खोजेकोजस्तो छोरा सायद बन्न सकिनँ कि भन्ने लागिरहन्छ । एउटा छोराले निभाउनुपर्ने कर्तव्य निभाउन सकिरहेको छैन भन्ने लागिरहन्छ । त्यही कारण अब म सँधैका लागि पोखरा जाँदै छु । काठमाडौं छाडेर आमाबुबासँग बस्नका लागि जाँदै छु । 

सिग्नेचर इमेज बनाएँ 

तीन दशकदेखि रंगमञ्चमा छु । नाटक मरिसक्यो भनिरहेको समयबाट हामीले सुरु ग-यौँ । महिला कलाकार नै हुँदैनथे । महिला कलाकारका लागि उहाँहरूको घरैमा गएर सुरक्षाको पूर्ण जिम्मेवारी लिएर आउनुपथ्र्यो । त्यस्तो अवस्थाबाट सुरु गरेर आज नेपाली रंगमञ्चले महिला कलाकार मात्रै नभएर निर्देशक पनि पाएको छ । 

आजको अवस्थामा रंगमञ्च यस्तो हुनुमा मेरो पनि केही योगदान छ । त्यस्तो अवस्थाको प्रस्थान बिन्दुको अंश बन्न पाउँदा सन्तोष लाग्छ । कामको हिसाबले पनि सामाजिक रूपमा सान्दर्भिक हुने नाटक गर्दै आएको छु । त्यसवेला खर्च गरेर नाटक गर्नुपर्ने अवस्था थियो । आज यही रंगमञ्चले धानिएको छु । फिल्म, रेडियो नाटकमा काम गर्न पाइरहेको छु । यो ठूलो उपलब्धि हो । अहिले अनुप बराल भनेर पहिचान बनाउन सक्षम भएको छु । अनुप बरालको नाटक भनेपछि दर्शकमा मेरो सिग्नेचर इमेज आउँछ ।