मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तीर्थराज बस्नेत काठमाडाैं
२०७६ असार ३० सोमबार ०६:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

जग्गा नहुँदा काठमाडौंका २५ विद्यालयको पुनर्निर्माण हुन सकेन

Read Time : > 1 मिनेट
तीर्थराज बस्नेत काठमाडाैं
२०७६ असार ३० सोमबार ०६:५१:००

पर्याप्त जग्गा नहुँदा काठमाडौं जिल्लाका २५ वटा सामुदायिक विद्यालयको पुनर्निर्माणमा समस्या भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा नभएका कारण पुनर्निर्माण हुन नसकेको हो । 

०७२ को भूकम्पका कारण काठमाडौंका दुई सय ४१ मध्ये एक सय ८१ विद्यालय क्षतिग्रस्त भएका थिए । ६० भन्दा बढी विद्यालय पूर्णरूपमा क्षतिग्रस्त बनेका थिए । भूकम्प गएको चार वर्षको अवधिमा ८७ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । ४३ वटा विद्यालयको पुनर्निर्माण जारी छ भने ६६ वटा विद्यालय पुर्ननिर्माण हुन बाँकी छन् । जसमध्ये २५ विद्यालय जग्गा अभावका कारण पुनर्निर्माण हुन नसकेको प्राधिकरणले जनाएको छ । ६६ वटा विद्यालय रेट्रोफिटका लागि डिजाइन भइरहेको प्राधिकरणका इन्जिनियर सागर पौडेलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७३–७४ मा १५ विद्यालय, ०७४–०७५ मा ३९ र ०७५–०७६ २९ वटा विद्यालय पुनर्निर्माण भएका छन् । चार विद्यालय एडिबीको ऋण सहयोगमा पुनर्निर्माण गरी हस्तान्तरण भइरहेका छन् । 

२५ विद्यालयसँग आवश्यक जमिन छैन

चार कोठे भवन निर्माणका लागि न्यूनतम १४ मिटर लम्बाइ १० मिटर चौडाइ भएको जमिन आवश्यक हुन्छ । तर, २५ विद्यालयमा भने डिजाइन परिवर्तन गरेर कम जमिनमा समेत भवन बनाउने जग्गासमेत छैन । ती विद्यालयमा खेलमैदानसमेत नरहेको प्राधिकरणले जनाएको छ । जग्गा अभावका कारण ती विद्यालयको पुनर्निर्माण हुन नसकेको प्राधिकरणले जनाएको छ । जग्गा नभएर पुनर्निर्माणको काम रोकिनेमा

सबैभन्दा धेरै काठमाडौं महानगरका विद्यालय छन् । प्राधिकरणको तथ्यांकअनुसार काठमाडौं महानगर भित्रका १९ विद्यालय जग्गा नभएका कारणले पुनर्निर्माण हुन सकेका छैनन् । यस्तै, कागेश्वरी मनहरा नगरपालिकाका दुई, चन्द्रागिरी नगरपालिकाका र टोखा नगरपालिकाका एक–एक विद्यालयसँग भवन निर्माणका लागि आवश्यक जग्गा छैन । कम जमिन भएका चम्पाशिखर आधारभूत विद्यालयलाई चन्द्रागिरि नगरपालिका र अरुणोदय माध्यमिक विद्यालयलाई भने गोकर्णेश्वर नगरपालिकाले जग्गा उपलब्ध गराएसँगै पुनर्निर्माण प्रक्रिया अघि बढेको छ ।

विद्यार्थी कम भएका विद्यालय पुनर्निर्माण नहुने 

भूकम्पले क्षतिग्रस्त बनेका दुई विद्यालयको भने कम विद्यार्थी भएका कारण पुनर्निर्माण प्रक्रिया अघि नबढाइएको प्राधिकरणले जनाएको छ । दक्षिणकालीको बालसुधार आधारभूत विद्यालय र चन्द्रागिरिको सेतीदेवी आधारभूत विद्यालयमा विद्यार्थी कम हुँदा पुनर्निर्माणको काम अघि नबढाइएको हो । बालसुधारमा २५ र सेतीदेवीमा ३० विद्यार्थी अध्ययनरत छन् ।