मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ३० सोमबार ०६:१२:००
Read Time : > 7 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीलाई मन्त्रीले बुझाए वार्षिक रिपोर्ट कार्ड

आफूले तोकेको लक्ष्यमा सन्तोषजनक उपलब्धि प्राप्त भएको मन्त्रीहरूको दाबी, तर उपलब्धिको सूचीमा तालिम र गोष्ठी पनि

Read Time : > 7 मिनेट
२०७६ असार ३० सोमबार ०६:१२:००

मन्त्रीहरूले आफ्नो वार्षिक कार्यप्रगति रिपोर्ट प्रधानमन्त्रीलाई बुझाएका छन् । आफूले तोकेको लक्ष्यमा सन्तोषजनक उपलब्धि प्राप्त भएको उनीहरूको दाबी छ । तर, उपलब्धिको सूचीमा तालिम र गोष्ठी पनि समावेश छ ।मन्त्रालयले आफैँ निश्चित गरेको लक्ष्यमा एक वर्षमा कति प्रगति भयो ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनलाइन अनुगमनमा भएको समीक्षा रिपोर्ट हरेक मन्त्रालयले प्रधानमन्त्रीलाई बुझाएका छन् ।

१. परराष्ट्र मन्त्रालय
मन्त्रालयले उच्चस्तरीय भ्रमणहरूबाट छिमेकी मित्रराष्ट्रलगायत अन्य राष्ट्रहरूसँगको सम्बन्ध विस्तार र सुदृढ भएको भन्दै त्यसलाई मुख्य उपलब्धि मानेको छ । थप ६ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना भएको, विदेशमा रहेका विद्वत् नेपालीहरूको अभिलेख गर्ने र उनीहरूको ज्ञान, सीप परिचालनमा सहजीकरण गर्ने उद्देश्यले ब्रेन गेन सेन्टरको स्थापना गरिएको, परराष्ट्र नीति राष्ट्रिय संवाद कार्यक्रम आयोजना गरिएको लगायत विषयलाई उपलब्धि भनेको छ ।

२. श्रम तथा वैदेशिक रोजगार मन्त्रालय
 ९७ वटा काम सम्पन्न गर्ने लक्ष्य राखेकोमा मन्त्रालयले ७८ वटा काम पूरा गरेको देखाएको छ । १४ वटा काम भइरहेको र पाँचवटा काम सुरु गर्न नसकेको मन्त्रालयको समीक्षा रिपोर्टमा उल्लेख छ । मुख्य उपलब्धिका रूपमा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको सुरुवात, श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन, श्रम अडिटको कार्यान्वयन, राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना तथा मलेसिया, जापान, संयुक्त अरब इमिरेट्स र मोरिसस सरकारसँग द्विपक्षीय श्रम समझदारीलाई देखाएको छ ।

३. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको विस्तार कार्य ६० प्रतिशत सम्पन्न भएको, विमानस्थल २१ घन्टा सञ्चालन भएको, बुटिक एयरपोर्टका रूपमा स्थापना गर्न थप बगैँचा निर्माण र सौन्दर्यीकरणलगायत कामलाई मन्त्रालयले मुख्य उपलब्धिका रूपमा औँल्याएको छ । यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको, बाहिरी मुलुकमा पुर्‍याइएकामध्ये ४५ वटा धार्मिक तथा ऐतिहासिक महत्वका  मूर्ति फिर्ता ल्याई प्रदर्शनीमा राखिएको, राष्ट्रिय अभिलेखालयमा संकलित ११ हजार पाँच सय ५० ग्रन्थका ६ लाख ५५ हजार इमेजलाई डिजिटल प्रणालीमा सुरक्षित गरिएको लगायत कामलाई मुख्य उपलब्धि भनेको छ । 
 
४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
मुक्त कमैया, मुक्त हलिया पुनस्र्थापना सम्पन्न भएको, जग्गा प्रशासन प्रणालीको आधुनिकीकरण, अनलाइन प्रणाली, नमुना कार्यालयको सुरुवात गरेको विषयलाई प्रमुख उपलब्धिका रूपमा मन्त्रालयले उल्लेख गरेको छ । यस्तै, आगामी पाँच वर्षसम्म भूउपग्रह चित्र निःशुल्क प्राप्त हुने व्यवस्था गरेको, भूसूचना प्रविधिमा अत्याधुनिक प्रविधिको सुरुवात गरेको र सगरमाथाको उचाइ मापनको फिल्ड कार्य सम्पन्न गरेको पनि जनाएको छ । 

५. कृषि तथा पशुपक्षी विकास मन्त्रालय
अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्ष धान ८.८९, मकै ३.४८, गहुँ ४.५, तरकारी १.८६, आलु ४.३ र उखु उत्पादनमा ११.४ प्रतिशतले वृद्धि भएको मन्त्रालयको दाबी छ । यसलाई मुख्य उपलब्धि मानेको छ । यस्तै, दूधमा ३.४, मासुमा ३.५, अण्डामा ६.४ र माछामा ५.९ प्रतिशतले उत्पादन बढेको पनि जनाएको छ । मन्त्रालयले ८९ वटा काम पूरा गर्ने लक्ष्य राखेकोमा ६१ वटा काम सम्पन्न गरेको छ । २७ वटा प्रक्रियामा रहेको र एउटा काम गर्न नसकेको जनाएको छ । 

६. स्वास्थ्य तथा  जनसंख्या मन्त्रालय
हरेक नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउने नीतिअनुरूप तीन सय ३९ स्थानीय तहमा स्वास्थ्य बिमा लागू भएको र चार सय ५६ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिएको विषयलाई मन्त्रालयले सबैभन्दा ठूलो उपलब्धि मानेको छ । बिमितको संख्या १८ लाख नाघेको मन्त्रालयको भनाइ छ । यस्तै, स्वास्थ्यसंस्था पञ्जीकरण प्रणाली लागू गरिएको, अस्पताल तथा मेडिकल कलेजसँगको सहकार्यमा दुर्गम क्षेत्रमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरेको, हरेक प्रदेशमा कम्तीमा एक विशिष्टीकृत सेवासहितको अस्पताल रहने नीतिअनुरूप पाँच अस्पताललाई स्तरोन्नति गरेको पनि जनाएको छ ।

७. अर्थ मन्त्रालय
मन्त्रालयले वैदेशिक सहायता परिचालनमा पाँच प्रकारका सुधार गरेको भन्दै तिनलाई प्रमुख उपलब्धि भनेको छ । नेपालमा पूर्वाधार निर्माणमा लगानी गर्न चिनियाँ र नेपालको संयुक्त लगानीमा पूर्वाधार विकास बैंक स्थापनाको सैद्धान्तिक स्वीकृति लिएको, राजस्व प्रशासनमा करदाताको पहुँच बढाउन आन्तरिक राजस्व कार्यालय थप गरिएको, करदातालाई करसम्बन्धी सेवा स्थानीयस्तरमा नै उपलब्ध गराउने उद्देश्यले विभिन्न जिल्लामा करदाता सेवा कार्यालयहरू स्थापना गरिएको विषयलाई पनि उपलब्धि मानेको छ । त्यस्तै, एसियाली पूर्वाधार लगानी बैंकले तामाकोसी पाँचौँ जलविद्युत् परियोजनामा लगानी गर्न सहमति जनाएको, वैदेशिक सहायताको परिचालन बढाइएको, परिचालनलाई राष्ट्रिय प्राथमिकताअनुकूल बनाइएको, बजेट सहायता लिनेक्रम बढेको, अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति स्वीकृत भई कार्यान्वयनमा आएको पनि उसले जनाएको छ । 

८. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
मन्त्रालयले एक वर्षमा तीन सय पाँचवटा ऐन, निर्देशिकाको मस्यौदा तर्जुमा र नेपाल ऐनहरूको पुनरावलोकन गरी संशोधन गरेको छ । त्यस्तै, द्विपक्षीय, बहुपक्षीय सम्झौता, दातृसंस्थाहरूसँग सम्पन्न गरिने सम्झौताको एक सय १४ वटा मस्यौदामा राय दिएको छ । तर, पुँजीगततर्फ आठ करोड चार लाख बजेट रहेकोमा मन्त्रालयले एक करोड सात लाख रुपैयाँ अर्थात् १३.३८ प्रतिशत मात्र खर्च गरेको छ । 

९. वन तथा  वातावरण मन्त्रालय
मन्त्रालयले मुख्य उपलब्धिका रूपमा वनबाट एक अर्ब १८ करोड राजस्व संकलन र ४२ वटा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिलाई प्रस्तुत गरेको छ । ५१ वटा आयोजनालाई कुल पाँच सय ५० हेक्टर वन क्षेत्र उपलब्ध गराएको र वनमा आधारित एक हजार चार सय ९० वटा लघु तथा साना उद्योग  स्थापना गरेको पनि उसले जनाएको छ । 

१०. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
मन्त्रालयले एक वर्षमा नौ सय १५ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । मन्त्रालयले प्रमुख उपलब्धिका रूपमा एक हजार ५० किलोमिटर सडक ग्राबेल गरेको, तीन सय १३ किलोमिटर माटेसडक निर्माण गरेको, दुई सय ४३ वटा पुल बनाएको र चार सय २१ किलोमिटर रेलमार्गका लागि डिपिआर बनाएको देखाएको छ । यस्तै, दुई सेट रेल खरिदका लागि भएको सम्झौतालाई पनि उसले मुख्य उपलब्धि मानेको छ । मन्त्रालयले चालू आर्थिक वर्षमा तोकेका २२ मध्ये १३ लक्ष्य पूरा गरेको छ । पाँचवटा काम भर्खर मात्र सुरु गरेको र चारवटा काम सुरु गरेकै छैन । 

११. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
मन्त्रालयले तीन सय १८ स्थानीय तहको कार्यालय, एक हजार पाँच सय ७४ वडा कार्यालय, एक हजार आठ सय ४९ सामुदायिक माध्यमिक विद्यालय र एक हजार पाँच सय ६७ स्वास्थ्यसंस्थामा इन्टरनेट सेवा जडानलाई सबैभन्दा महत्वपूर्ण उपलब्धि मानेको छ । यस्तै, नेपालको आफ्नै स्याटेलाइट र सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि फ्रान्स सरकारसँग समझदारी गरेको, लमजुङको बेँसीसहर नगरपालिकामा पाँच अर्ब ९० करोडको लगानीमा स्मार्ट फिल्म सिटी निर्माणका लागि विदेशी कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको र अश्लील सामग्री समावेश भएका चार लाख ५५ हजारभन्दा बढी वेभसाइट बन्द गरेको विषयलाई मुख्य उपलब्धि भनेको छ । मन्त्रालयले बक्सअफिस प्रणाली लागू गरेको, राष्ट्रिय सुरक्षा तथा सार्वजनिक डाटा सुरक्षित बनाउन साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना गरेको, पत्रकारको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गरेको, ५३ जिल्लामा दूरसञ्चारको पहुँचवृद्धि गरेको पनि बताएको छ । 

१२. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
कोरला नाकामा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाएको, तरकारी, फलफूल, जडीबुटी, मासुजन्य वस्तुको निर्यात सहजीकरण गर्ने विषयमा छलफल भएको, नेपालले तियान्जेन,  सेनजेन, लियानयुंगाङ र झाङजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न सक्ने सम्झौता भएको, पारवहनका लागि लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह प्रयोग गर्न सक्ने भएको लगायतलाई मुख्य उपलब्धि भनिएको छ । यस्तै, नेपाली रेल वीरगन्जदेखि कोलकाता र हल्दियासम्म आउन–जान पाउने सैद्धान्तिक सहमति भएको, वीरगन्ज सुक्खा बन्दरगाहमा डिजेल इन्धनबाट चल्ने रेललाई विद्युतीय रेलमा परिणत गर्न सहमति भएको पनि जनाएको छ ।

१३. गृह मन्त्रालय
गृह मन्त्रालयले सात सय २३ स्थानीय तहको केन्द्रमा नेपाल प्रहरीका एकाइ स्थापना गरी शान्तिसुरक्षाको व्यवस्था मिलाइएको, सशस्त्र प्रहरी बलको गण एवं गुल्महरू ५६ स्थानबाट ७७ जिल्लामा विस्तार गरेको विषयलाई मुख्य उपलब्धि मानेको छ । सीमाक्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी तुल्याउन एक सय सात स्थानमा बोर्डर आउटपोस्ट स्थापना गरी सञ्चालनमा ल्याएको, विभिन्न अपराधमा अदालतले सजाय फैसला गरी लामो समयदेखि फरार एक हजार एक सय चारजना पक्राउ गरेको, ६ सय ७८ थान अवैध हातहतियार संकलन गरिएको लगायत काम भएको बताएको छ । 

१४. रक्षा मन्त्रालय
रक्षा मन्त्रालयले शान्तिसेनामा भाग लिन जाने सैनिकहरूको छनोट प्रक्रियालाई थप निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शान्तिसेना छनोट कार्यविधि, २०७५ स्वीकृत गरेको विषयलाई मुख्य उपलब्धिका रूपमा लिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको, राष्ट्रिय सुरक्षा नीति २०७५ को मस्यौदालाई अनुमोदन गरेको, नेपाली सेनाले ठेक्का पाएको निजगढ–काठमाडौं द्रुतमार्ग आयोजनाको डिपिआर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको पनि जनाएको छ ।

१५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
मन्त्रालयले विद्यार्थी भर्ना अभियान २०७६ सम्पन्न गरी कक्षा १ मा सात लाख २८ हजार ६ सय ५८ नयाँ विद्यार्थी भर्ना गरेको विषयलाई प्रमुख उपलब्धि भनेको छ । अस्थायी शिक्षकहरूको समस्या समाधान गरी सात हजार आठ सय ७८ शिक्षकलाई अवकाश दिएको, चिकित्सा शिक्षा आयोग गठन भई काम सुरु भएको पनि बताएको छ । 

१६. युवा तथा खेलकुद मन्त्रालय
मन्त्रालयले मुख्य उपलब्धिका रूपमा युवा स्वरोजगारअन्तर्गत एक अर्ब ४६ करोड ८० लाख ५० हजार कर्जा लगानी गरी ११ हजार आठ सय ७९ जना युवालाई स्वरोजगार बनाएको बताएको छ । एक हजार नौ सय ९५ जना युवालाई उद्यमशीलता, नेतृत्व विकास आदि विषयमा परामर्श दिएको, अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसर निर्माण गर्न जग्गा प्राप्ति प्रक्रिया सुरु भएको, चितवन रंगशालाको कम्पाउन्ड वाल निर्माण ९० प्रतिशत सम्पन्न भएको, मूलपानी क्रिकेट रंगशालामा बाउन्ड्री वाल निर्माणसम्पन्न भएको, युवा तथा खेलकुदसँग सम्बन्धित नौवटा निर्देशिका तथा कार्यविधि निर्माण गरेको पनि मन्त्रालयले जनाएको छ । 
१७. ऊर्जा मन्त्रालय
जलस्रोत तथा सिँचाइ विभागसँग २३ अर्ब २९ करोड बजेट छ । तर, उसले १३ अर्ब १५ करोड मात्र खर्च गरेको छ । जल तथा मौसम विज्ञान विभागसँग रहेको एक अर्ब १२ करोडमध्ये ५३ करोड ४० लाख मात्र खर्च भएको छ । मन्त्रालयले भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न गरेको, बाँध र विद्युत्गृहका लागि बोलपत्र मूल्यांकन भइरहेको विषयलाई प्रमुख उपलब्धि मानेको छ । ९० वटा लक्ष्य राखेकोमा ३९ वटा काम मात्र सम्पन्न गरेको छ । ३७ वटा काम भर्खरै मात्र सुरु गरेको छ भने १४ वटा सुरु नै गरेको छैन ।

१८. खानेपानी मन्त्रालय
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणमा यांग्री तथा लार्केसम्म पहुँच सडक निर्माण सुरु, सुन्दरीजल पानी प्रशोधन केन्द्रको ९० प्रतिशत निर्माण कार्य पूरा, मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको मुआब्जा तथा क्षतिपूर्ति  वितरण सुरु भएको विषयलाई मुख्य उपलब्धि मानेको छ । गत पुसदेखि अवरुद्ध रहेको र मेलम्ची आयोजना पुनः खरिद प्रक्रियामार्फत मुहान संरक्षण, भेन्टिलेसन साफ्ट र सुन्दरीजलमा वासआउट सुरु गरिएको, बाँकी काममध्ये सुरुङमार्ग निर्माण र हेडवक्र्स निर्माण कार्यको बोलपत्र खोली मूल्यांकन भइरहेको विषयलाई मुख्य उपलब्धि भनेको छ । 

यस्तै, रिङरोडभित्र ७५ किलोमिटर थोक वितरण प्रणाली पाइपलाइन सम्पन्न गरेको, उपत्यकामा नौवटा पानीपोखरी निर्माण गरेको, दुई सयवटा खानेपानी आयोजनाको मर्मत सुधार तथा पुनर्निर्माणको काम सम्पन्न गरेको बताएको छ । मन्त्रालयले एक वर्षमा ६४ हजार ६ सय ६२ घरधुरीमा शौचालय निर्माण गरेको समेत उल्लेख गरेको छ । 

१९. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
मन्त्रालयले तीनै तहमा कर्मचारीहरू समायोजन भई सेवाप्रवाह भइरहेको विषयलाई मुख्य उपलब्धि भनेको छ । यस्तै, प्रदेश र स्थानीय तहवाट प्रवाह हुने सेवा तथा विकास निर्माणका कामहरू प्रभावकारी रूपमा अगाडि बढेको, स्थानीय तहबाट निर्माण हुने ऐन, नियम, कार्यविधिहरूमा एकरूपता कायम भएको बताएको छ । 

२०. सहरी विकास मन्त्रालय
मन्त्रालयले प्रधानमन्त्रीनिवासमा नयाँ भवन बनाउन बोलपत्र आह्वानदेखि दमकमा भ्युटावर बनाउन प्रक्रिया अघि बढाएको विषयलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । प्रमुख उपलब्धिका रूपमा मन्त्रालयले संघीय संसद् भवनको बोलपत्र मूल्यांकन भइरहेको, बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण सुरु भएको, उपराष्ट्रपतिको कार्यालय तथा आवास व्यवस्थापन गरेको, प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यालयको अस्थायी व्यवस्थापन भएको र निर्माणका लागि बोलपत्र प्रकाशनलाई औँल्याएको छ । 

२१. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
मन्त्रालयले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सातवटै प्रदेशमा सम्पन्न गरेको, यस वर्षलाई ‘लैंगिक हिंसाविरुद्धको अभियान वर्ष’ घोषणा गरिएको, अदालतको आदेश र कोष सञ्चालन समितिको निर्णयबमोजिम ३१ जना हिंसापीडित महिलालाई ३२ लाख २६ हजार रुपैयाँ क्षतिपूर्ति दिइएको विषयलाई मुख्य उपलब्धि भनेको छ । बेचबिखन तथा ओसार–पसारमा परी अलपत्र परेका तीन सय ११ नेपालीलाई भारत र म्यानमारबाट उद्धार गरेको, बाल हेल्पलाइनबाट जोखिमपूर्ण अवस्थामा रहेका दुई हजार ६ सय २९ जनालाई आपत्कालीन उद्धार र संरक्षण गरेको, हराएका दुई हजार नौ सय ४९ जनामध्ये एक हजार ६ सय ८३ बालबालिकालाई उद्धार तथा पुनस्र्थापना गरेको पनि जनाएको छ । अपांगता भएका व्यक्तिहरूका लागि दुई हजार ६ सय सहायक सामग्री वितरण गरेको, दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका २५ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको पनि मन्त्रालयले जनाएको छ । 

  •  मन्त्रालयले आफैँ निश्चित गरेको लक्ष्यमा एक वर्षमा कति प्रगति भयो ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनलाइन अनुगमनमा भएको समीक्षा रिपोर्ट हरेक मन्त्रालयले प्रधानमन्त्रीलाई बुझाएका छन् ।
  •  आफैँले लक्षित गरेको कार्ययोजनाको न्यूनतम ३९ देखि अधिकतम ८८ प्रतिशतसम्म काम सम्पन्न गरेको मन्त्रीहरूको दाबी छ । संघीय मामिला तथा स्थानीय विकास, सहरी विकास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको स्पष्ट रिपोर्ट प्राप्त भएको छैन ।