मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विदुर पौडेल सिन्धुली
२०७६ असार २९ आइतबार १३:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

आफन्तैबाट बालिका असुरक्षित

Read Time : > 1 मिनेट
विदुर पौडेल सिन्धुली
२०७६ असार २९ आइतबार १३:४५:००

पछिल्लो समय जिल्लामा मानवअधिकार उल्लंघन र यौन दुर्व्यवहारका घटनामा तीव्र वृद्धि भइरहेका  छन् । मानवअधिकार उल्लंघन र यौन दुर्व्यवहारमा आफन्त नै बढी संलग्न हुने गरेको पाइएको छ । 

मानवअधिकार उल्लंघनका घटनामा वृद्धि
पछिल्ला ६ महिनाको अवधिमा सिन्धुली जिल्लामा मानवअधिकार उल्लंघनका २७ घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा बढी मात्रामा बालबालिका र महिला आफन्तबाटै असुरक्षित भएको पाइएको देखिएको छ । 

तथ्यांकमा शिशुहत्या, बालिका बलात्कार बालविवाह र बलात्कार, घरेलु हिंसालगायतका घटना भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा बालिकाहरू बढी पीडित भएको जनाईएको छ । उनीहरू आफन्त, परिवार र नजिकका व्यक्तिबाट पीडित भएको र जिल्लाको मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको उल्लेख गरिएको छ । जिल्लामा यस अवधिमा ११ वटा बलात्कारजन्य अपराध जसमा आठजना बालिका पीडित भएका छन् । त्यसपछि घरेलु हिंसाका नौवटा घटना भएको उल्लेख गरिएको छ । बालविवाह, शिशुहत्या, कुटपिटका एक/एकवटा घटना भएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकले मानवअधिकार उल्लंघनका घटनामध्ये गत वर्षको तुलनामा घरेलु हिंसाका घटनामा ५० प्रतिशत कमी आएको जनाएको छ ।

पछिल्ला ६ महिनामा सिन्धुलीमा मानवअधिकार उल्लंघनका २७ घटना सार्वजनिक भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदन

अवैध सम्बन्धपछि शिशुको हत्या
तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङकी १९ वर्षीया अम्बिका बसेलले अवैध सम्बन्धबाट गर्भधारण गरी नवजात शिशुलाई ढुंगाले किच्चाएर हत्या गरेको आरोपमा प्रहरीले ०७५ पुस ३० गते गिरफ्तार गर्‍यो । आरोपितले पुस ३० गते उनकै घरनजिकै रहेको खोल्सामा बच्चा जन्माई हत्या गरेर गाडेको सूचना पाएपछि प्रहरीले घटनास्थल पुगेर आरोपितलाई गिरफ्तार गर्‍यो । बसेलविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कर्तव्यज्यान सम्बन्धी मुद्दा चलाएको थियो । उनको मुद्दा प्रहरीले ०७५ पुस १३ गते सरकारी वकिल कार्यालय सिन्धुलीलाई बुझाएको थियो । ०७५ माघ १७ गते बसेललाई पुर्पक्षका लागि थुनामा पठाइएकोमा जिल्ला अदालतको ०७६ वैशाख ११ को फैसला अनुसार बसेललाई २५ वर्ष कैद सजायको फैसला तोकेको थियो ।

आफन्तबाटै यौन दुर्व्यवहार
नौ वर्षीया भतिजीलाई फकाई फुलाई आफ्नै घरमा बोलाएर ठूलोबुबाले यौन दुर्व्यवहार गरेको आरोपमा एक आरोपितलाई प्रहरीले ०७५ माघ १३ गते गिरफ्तार गरेको थियो । पीडित बालिकालाई माघ १२ गते कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएका थिए । तर, बालिकाको स्वास्थ्य परीक्षण भएन । जिल्ला अदालतको वैशाख २९ गतेको इजलासले आरोपितविरुद्ध एक महिना कैदसहित ५००० जरिवाना र १०,००० रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । 

मानव बेचबिखन तथा ओसार–पसार 
१३ वर्षीया बालिका ललाइफकाई विवाह गर्छु भनेर भगाएको अभियोगमा प्रहरीले कमलामाई नगरपालिका वडा नम्बर–९ इनारपानीका २९ वर्षीय मिलनशंकर विकलाई ०७६ जेठ २१ गते पक्राउ गरेको छ । बालिकालाई भगाएर घरतर्फ लैजाने क्रममा क्रममा चकमकेमा प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकाका बुबाले  ०७६ जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लिखित उजुरी दर्ता गराएका छन् । सो मुद्दा कानुनी प्रक्रियामै रहेको प्रहरीले जनाएको छ । 

परिवारभित्रै असुरक्षित
आफ्नै १४ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा २० वर्षीय एक युवकलाई प्रहरीले ०७६ जेठ १६ गते पक्राउ गरेको थियो । बालिकालाई डर धम्की दिई जेठ १५ गते आफ्नै घरमा बलात्कार गर्ने दाजुविरुद्ध पीडितका बुबाले जेठ १७ गते मुद्दा दर्ता गराएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण ०७६ जेठ १७ गते जिल्ला अस्पताल सिन्धुलीको ओसिएमसीमा गरिएको थियो । बहिनी बलात्कार गर्ने दाजुलाई बलात्कार तथा हाडनाताकरणीको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । सो मुद्दा चालू अवस्थामा छ ।