मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २९ आइतबार ०७:०१:००
Read Time : > 1 मिनेट
अर्थ

मेसिन बिग्रिँदा तरकारीमा विषादी परीक्षण ठप्प

Read Time : > 1 मिनेट
२०७६ असार २९ आइतबार ०७:०१:००

अत्तरियास्थित कृषिउपज व्यवस्थापन समितिको मेसिन बिग्रिएपछि तरकारीमा विषादी परीक्षण गर्ने कार्य रोकिएको छ । सुदूरपश्चिम प्रदेशभरि तरकारीको सबैभन्दा बढी कारोबार हुने अत्तरियामा १६ असारदेखि विषादी परीक्षण गर्ने कार्य ठप्प भएको हो । उपकरण बिग्रिएपछि विषादी परीक्षणविनै तरकारीको कारोबार भइरहेको छ । अहिले बिग्रिएको उपकरण मर्मत गर्न काठमाडाैं पठाइएको अत्तरिया कृषिउपज व्यवस्थापन समितिभित्र रहेको विषादी अवशेष दु्रत विश्लेषण एकाइका प्रमुख जितबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार सो विषादी परीक्षण केन्द्रमा दैनिक तरकारीका ५–६ वटा नमुना परीक्षण हुँदै आएको थियो । परीक्षण गरिएका तरकारीहरूमा स्वास्थ्यमा हानि गर्ने विषादी ३५ प्रतिशतभन्दा कम भएमा मात्रै बिक्रीको अनुमति दिने गरिएको उनले बताए । कृषिउपज व्यवस्थापन समितिमा भारतबाट आयात हुने तरकारी र स्थानीय किसानले बिक्री गरेको तरकारीमा विषादी प्रयोग भए–नभएको परीक्षण हुँदै आएको थियो ।

हानि गर्ने विषादी ३५ देखि ४५ प्रतिशतसम्म भए २–३ दिन राखेर पुनः परीक्षण गरी ३५ प्रतिशतभन्दा कम देखिए मात्र बिक्रीको अनुमति दिने उनले बताए । उनले भने, ‘तरकारी केही दिन राख्दा विषादीको मात्रा घट्ने गर्छ ।’ समितिमा दैनिक करिब २० टन तरकारी कारोबार हुने गर्छ । २० टनमध्ये १० टन भारतबाट आयात गरिएको तरकारी हुने गरेको समितिका अध्यक्ष नन्दलाल भट्टले बताए । अत्तरिया कृषिउपज व्यवस्थापन समितिबाट सुदूरपश्चिमका सबै पहाडी जिल्लामा तरकारी पठाइन्छ । प्याज र आलुमा भने पूर्ण रूपमा भारत निर्भर रहनुपर्ने अवस्था रहेको उनले बताए ।

बजारमा बिक्री हुनेमध्ये प्याजको ९८ प्रतिशत र आलुको ९५ प्रतिशत आपूर्ति भारतबाट आयातीत हुने गरेको भट्टले जानकारी दिए । बेमौसमी सिजनमा भने तरकारीमा भारतमा निर्भर रहने गरेको उनले बताए । भारतबाट आयात हुने टमाटर, बोडीलगायत छिटो बिग्रिने तरकारीमा शरीरलाई हानि गर्ने विषादीको प्रतिशत बढी रहने गरेको थापाले बताए । ‘यहाँका किसानले उत्पादन गरेको तरकारीमा पनि अत्यधिक विषादी प्रयोग भएको पाइन्छ,’ थापाले भने, ‘धेरै विषादी प्रयोग गरिएको तरकारीले स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउनेबारे किसानलाई सचेत गराउनुपर्ने आवश्यकता देखिन्छ ।’

अत्तरिया कृषिउपज व्यवस्थापन समितिमा रहेको उपकरणले तरकारीमा प्रयोग भएको कार्बाभेट र अर्गानोफस्फेट समूहरूको विषादी परीक्षण गर्छ । उक्त उपकरणले विषादीको मात्रा नभई विषादी प्रयोग भएको छ–छैन भन्ने देखाउने र यसले स्वास्थ्यमा गर्ने हानिको प्रतिशत देखाउने उनले बताए ।

०७४ चैतमा विषादी जाँच मेसिन जडान गरिएको थियो । अत्तरिया कृषिउपज व्यवस्थापन समितिका अध्यक्ष भट्टले नाकामै भारतबाट आयात गरिने तरकारीमा विषादी जाँचको व्यवस्था गर्नुपर्ने माग किसानहरूको रहेको बताए । नाकामै जाँच गर्न सके स्वास्थ्यलाई गम्भीर हानि गर्ने विषादी प्रयोग भएका तरकारीको आयात रोकिने र भारतीय आयात रोकिँदा नेपाली किसानलाई प्रोत्साहन मिल्ने भट्टले बताए ।