१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विजय कार्की ललितपुर
२०७६ असार २९ आइतबार ०७:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

ललितपुर महानगरका अधिकांशले तिर्दैनन् बहाल र घरजग्गा कर

Read Time : > 1 मिनेट
विजय कार्की ललितपुर
२०७६ असार २९ आइतबार ०७:४८:००

ललितपुर महानगरपालिकाका अधिकांशले बहाल र घरजग्गा कर नतिरेको पाइएको छ । महानगरभित्र करिब एक लाख घर रहेको अधिकारीहरू बताउँछन् । तीमध्ये करिब ७० प्रतिशत घर भाडामा लगाइएका छन् । भाडामा लगाइएका मध्ये जम्मा ५ प्रतिशतले मात्र बहाल कर तिर्ने गरेका छन् ।

महानगरपालिका राजस्व प्रशासन महाशाखा प्रमुख डिल्लीराज शाक्यले भने ‘महानगरभित्र एक लाखभन्दा बढी करदाता भएको अनुमान छ । तर, हामीसँग ३२ हजार करदाताको मात्र तथ्यांक छ । त्यसमध्ये पनि १५ प्रतिशत करदाताले मात्रै कर तिर्ने गर्छन् ।’ चालू आर्थिक वर्षको जेठ मसान्तसम्म महानगरले एक अर्ब ५५ करोड कर संकलन गरेको छ । कर नतिरे पनि राज्यको सेवा भने निर्धक्कसँग उपयोग गरिरहेका छन् । शाक्य भन्छन् ‘कर नतिर्ने नगरिकलाई राज्यको कुनै पनि सेवाबाट वितरणमा रोक छैन । त्यसले पनि कर तिर्न नागरिक उत्साहित छैनन् ।’

महानगरपालिकालाई घर जग्गा बहाल, मालपोत, व्यवसाय, विज्ञापनलगायतका शीर्षकमा कर उठाउने अधिकार छ । तर, करदाताले आफूलाई आवश्यकता पर्दा मात्र कर तिर्ने गरेका महानगरपालिकाले जनाएको छ । शाक्यले भने ‘करदाताले नियमित कर तिर्दैनन् । आफूलाई आवश्यकता पर्दा मात्र कर तिर्छन् ।’

 करदाताको यकिन तथ्यांक नै छैन
महानगरसँग करदाताको यकिन तथ्यांकसमेत छैन । महानगरले अहिलेसम्म ३२ हजार करदाताको मात्र तथ्यांक राखेको छ । तर, करिब एक लाख करदाता रहेको महानगरकै अधिकारीहरू बताउँछन् । नागरिकले करसम्बन्धी विवरण नबुझाउँदा यकिन तथ्यांक नभएको महानगरको दाबी छ । ०७२ मा महानगरपालिकाले करसम्बन्धी तथ्यांक संकलनको प्रयासमा नगरवासीले असहयोग गरेकाले करदाताको यकिन तथ्यांक नभएको शाक्यको जिकिर छ । ‘अहिले वडा कार्यालहरू वडा प्रोफाइल बनाउँदै छन्’ शाक्यले भने त्यसपछि करदाताको वास्तविक तथ्यांक उपलब्ध हुनेछन् ।’

नीति बनाएर व्यवस्थित गर्छौँ  : राजु महर्जन, प्रवक्ता
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नीति बनाएर कर समस्या समाधान गर्ने बताएका छन् । सबैलाई करको दायरामा ल्याउन महानगरले पहल गरिरहेको उनले बताए । उनले भने ‘नागरिकलाई करको दायरामा ल्याउन नीतिको आवश्यकता छ । हामी आगामी वर्ष नीति निर्माण गरेर अघि बढ्छौँ ।’ पुराना बस्तीका करिब ७० प्रतिशत नागरिकको घरको नक्सा पाससमेत नभएको महर्जनले बताए ।

 १९९० अघिका घरले पनि कर तिरेका छैैनन्
महानगरभित्र १९९० अघि बनेका सयौँ घर छन् । तर, घरधनीले बहाल र घरजग्गा कर अहिलेसम्म बुझाएका छैनन् । विभिन्न समयमा कर शिक्षा अभियान सञ्चालन गरे पनि नागरिकले कर नबुझाएको शाक्य स्वीकार्छन् ।

शाक्य भन्छन् ‘०७४/७५ मा महानगरले कर वर्ष मनायो । कर वर्ष मनाउँदा करिब चार हजार करदाता बढेका थिए । कर वर्षमा महानगरले २० वर्षअघिको करमा पूरै छुट र २० वर्षपछिको करमा १० प्रतिशत छुट दिएको थियो । तर, करदाताको संख्यामा उल्लेखनीय वृद्धि हुन सकेन ।’