मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २८ शनिबार ०८:३०:००
Read Time : > 8 मिनेट
फिचर

दुस्मनी नभएका दुई किनारा

Read Time : > 8 मिनेट
२०७६ असार २८ शनिबार ०८:३०:००

सिटौला–प्रकाशमान सम्बन्ध

कांग्रेस नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला १२औँ महाधिवेशनमा सुशील कोइराला प्यानलका महामन्त्री हुन् । सिंह निर्वाचित भए । तर, सिटौलालाई मनोनीत कोटाबाट महामन्त्री बन्न निकै सकस पर्‍यो । तत्कालीन देउवा पक्षको असन्तुष्टिपछि केन्द्रीय समितिमा प्रस्ताव आएको वर्ष दिनपछि मात्रै उनी महामन्त्री बन्न पाए । मनोनीत भएर आए पनि सिटौला सचिवालयको काममा हाबी भए । सिटौला सचिवालयमा हाबी हुँदासमेत निर्वाचित भएर आएका महामन्त्री सिंहले कहिल्यै असन्तुष्टि नजनाएको चर्चा कांग्रेसमा हुने गर्छ । काठमाडौंका सिंह गणेशमानका छोरा हुन् । बाबुको लिगेसीका कारण राजनीतिमा केही सहज भए पनि सिंह आफ्नो सक्रियता नै मुख्य शक्ति भएको ठान्छन् । तर, सिटौला आफ्नै बलमा राजनीतिमा स्थापित भए । उनी लिगेसीभन्दा सक्रियतामा बढी विश्वास गर्नुपर्ने मत राख्छन् । 

सिटौलालाई चुनौती ठान्दैनन् सिंह
लौह पुरुषका रूपमा चर्चित गणेशमानका छोरा सिंह सिटौलालाई ठूलो राजनीतिक लिगेसी नभएकाले धेरै चुनौती ठान्दैनन् । लामो समय वकालतीपछि झापा कांग्रेसको सभापति हुँदै सिटौला केन्द्रीय राजनीतिमा स्थापित भए । काठमाडौंका रैथाने सिंह काठमाडौं कांग्रेसको तीनपटक जिल्ला सभापति भए । काठमाडौंबाटै चुनाव जित्दै आएका सिंह ०५८ मा कांग्रेस फुट्दा देउवाको प्रजातान्त्रिक कांग्रेसमा उपभापति भए । तर, ०६७ सालमा भएको १२औँ महाधिवेशनमा उनी तत्कालीन संस्थापन पक्षबाट महामन्त्रीमा निर्वाचित भए । ठूलो लिगेसी नभएकाले सिटौला आफ्ना लागि चुनौती नभएको बुझाइ सिंहको थियो । तर, गिरिजा हुँदै सुशीलको पनि निकट भएर काम गरेपछि भने सिंहले सिटौलालाई चुनौतीका रूपमा महसुस गरेको बताइन्छ । महामन्त्रीका रूपमा सँगै काम गर्दा यी दुई नेताबीच टसल भने भएन । तर, एकअर्कालाई नरुचाउने भए पनि यी दुई नेता एकअर्काको तिखो टिप्पणी गर्दैनन् । 

सिंहलाई क्षमतामा प्रतिस्पर्धी मान्दैनन् सिटौला
सिंह र सिटौलानिकट हुनेहरूका अनुसार सिटौला प्रकाशमानसँग राजनीतिक क्षमता नभएकाले प्रतिस्पर्धी नै ठान्दैनन् । ‘सिंहले सिटौलालाई लिगेसी नभएको कमजोर नेता मान्छन्,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, सिटौला राजनीतिक शक्तिमा विश्वास गर्छन्  । लिगेसीलाई मान्दैनन् । क्षमता नभएकाले सिंहलाई प्रतिस्पर्धी नै ठान्दैनन् । एकले अर्कोलाई नमान्ने भएकाले द्वन्द्व नै भएन ।’ 

रणनीतिक सिटौला सक्रिय सिंह 
दुवैलाई नजिकबाट जान्नेहरूका अनुसार राजनीतिक भागदौडमा सिटौला रणनीतिक छन् । सिंह सक्रिय देखिन्छन् । लामो समय वकालत पेसा गरेका सिटौला कानुनी जटिलता, राजनीतिक जोडघटाउ र रणनीतिक विषयमा माहिर मानिन्छन् । तर, आफूलाई लागेको कुरा प्रस्ट भाषामा राख्ने सिंहको गुण भनेको सक्रिय रहनु मात्र हो । नेता कार्यकर्तालाई भेट्ने, घुम्ने, आफैँ सक्रिय हुने राजनीतिक गुण सिंहको छ । सिटौला रणनीतिक छन् । उनी आफैँ जानुपर्ने ठाउँमा मात्रै आफू जान्छन् नत्र निकटका नेतालाई नै परिचालन गर्छन् । कानुनी व्यवस्थापन, राजनीतिक जोडघटाउमा मसिनो ज्ञान राख्ने सिटौलाले चुनाव हारेपछि तीन महिनासम्म देउवालाई प्रधानमन्त्रीमा टिकाउन सल्लाह दिएको पनि चर्चा गरिन्छ । शान्ति प्रक्रियामा काम गरेका सिटौलाले माओवादीको सवारीमन्त्री भनेर पनि पार्टीमा आलोचना खेपे । 
 
गिरिजापछि सुशीलको रोजाइमा सिटौला
गिरिजाप्रसाद कोइरालाको विश्वास पात्र सिटौला उनको निधनपछि सुशील कोइरालाको पनि विश्वास पात्र बन्न सफल भए । दुई महामन्त्रीसँगै मनोनीत भए पनि सुशीलले सिटौलालाई नै च्यापेको चर्चा पार्टीमा हुन्छ । तर, सिंहले यसप्रति न आपत्ति जनाए न विरोध । सचिवालयको काम गर्नेदेखि राजनीतिक छलफलमा सुशीलले सिटौलालाई अवसर दिँदा सिंहले कहिल्यै गुनासो नगरेको चर्चा कांग्रेसभित्र हुने गथ्र्यो । 

सिटौलाको हाईहाई
०६२/६३ सालको जनआन्दोलपछि बनेको अन्तरिक सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्री बनेका सिटौलाको चर्चा चुलियो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसादको निकट भएर काम गरेपछि सिटौला राजनीतिक ‘सिन’मा अझै बढी आए । 

प्रस्ट प्रकाशमान, कुटिल सिटौला
सिंह आफूलाई लागेको कुरा कुनै पनि फोरममा प्रस्ट बोलिहाल्छन् । त्यसको प्रतिक्रियाको ख्याल गर्दैनन् । तर, सिटौला कुटिल मानिन्छन् । कुनै पनि विषयमा रिजर्ब बस्ने, गहिरो दृष्टिकोण राख्ने सिटौला विषयमाथि हचुवामा बोलिहाल्दैनन् । विषय र परिस्थितिको गाम्भीर्यता हेरेर सिटौला धारणा बाहिर ल्याउँछन् । संविधान बनेपछि सुशील कोइराला पुनः प्रधानमन्त्री बन्नुहुँदैन भन्नेमा सिंहले नरम र सिटौलाले कडा रूपमा कुरा राखेको केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन् । सिटौला परिपक्व मत राख्छन् । तथ्य, तर्कमा उभिन्छन् । 

सिंहलाई सभापति मान्न तयार छैनन् सिटौला
उमेरमा ६ वर्षले दाइभाइ भए पनि यी दुवै नेता एकअर्कालाई स्विकार्दैनन् । न प्रकाशमानलाई सभापति मान्न सिटौला तयार छन् न सिटौलालाई मान्न सिंह तयार छन् । एकअर्कालाई नस्विकार्ने उनीहरू एउटै कार्यक्रममा पनि जाँदैनन् । मञ्च सेयर गर्दा एउटै वरीयता देखिने भएपछि यिनीहरूलाई एउटै कार्यक्रममा प्रायः डाकिँदैन । सिटौला नै यो कुरा स्विकार्छन् । ‘एउटै कार्यक्रममा जान सकिन्छ । यो ठूलो कुरा होइन,’ सिटौला भन्छ्न, ‘प्रायः नेताहरूलाई हेरेरै कार्यक्रम तय हुने भएकाले एउटै कार्यक्रम खास धेरै सँगै परेको छैन । असाध्यै कम छन् ।’ 

देउवाविरुद्ध भने एकमत 
कांग्रेसले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा कमजोर नतिजा आएपछि संस्थापन इतरका नेताहरू नेतृत्वप्रति खनिए । ०७४ साल चैतमा भएको समीक्षा बैठकमा नेता सिंह र सिटौला देउवाविरुद्ध आलोचनामा एकसाथ उत्रिए । ‘पार्टीलाई हामीले जुन स्थानमा जिताउन सक्नुपर्ने हो, सकेनौँ । चुनावमा पार्टीको पराजयको भागीदार सभापति हुनुहुन्छ, यसको नैतिक जिम्मेवारी उहाँले लिनुपर्छ,’ ३५ मिनेट लामो भाषणमा सिंहले भनेका थिए, ‘सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार भएदेखि कांग्रेसको डाउनफल सुरु भयो ।’ देउवाजी प्रधानमन्त्री बनेर गोवामा निर्वासित तिब्बती प्रधानमन्त्रीलाई भेट्नु, कोलम्बियामा युनिभर्सिटीमा फितलो प्रस्तुति, साझा सवालमा लज्जास्पद प्रस्तुति, सप्तरीमा पढेको ज्ञापनपत्र, चितवनमा माओवादीसँग अलाएन्स गर्ने कारणबाट कांग्रेसले सर्मनाक हार व्योहोर्नुपरेको उनको भनाइ थियो । 

सिटौलाले पनि देउवाविरुद्ध खनिएका थिए । ‘सुशील कोइरालालाई दोस्रोपटक प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि पार्टीमा विचलन र स्खलन सुरु भयो । टिकट वितरणमा नातावाद, कृपावादले परिणाममा क्षति पुग्यो,’ सिटौलाले भनेका थिए, ‘समानुपातिकको लिस्ट बनाउँदा हामीलाई हेर्नै दिइएन । सभापतिले एकलौटी गर्नुभयो । रामचन्द्रजीले साथ दिनुभयो । राप्रपाजस्तो दक्षिणपन्थी पार्टीलाई सरकारमा ल्यायौँ, यो अर्को गल्ती थियो । लोकतान्त्रिक गठबन्धन अर्को गलत कदम थियो ।’

सँगै होलान् १४औँ महाधिवेशनमा ? 
पार्टीको आगामी १४औँ महाधिवेशनमा कस्तो टिम बन्छ भन्नेमा यी दुवै नेता संशय व्यक्त गर्छन् । ‘अहिले कुनै ग्यारेन्टी छैन । अहिले हुने÷गरेको अनुमान सिद्ध हुँदैन,’ सिटौला भन्छन्, ‘शेरबहादुरजी र रामचन्द्रजी दुवैले महाधिवेशनमा आफ्नो टिमका सबैलाई सँगै राख्न सक्नुहुन्न ।’

सिंह देउवाविरुद्ध एकजुट भएर जान सक्ने ठाउँ रहेको टिप्पणी गर्छन् । ‘मलाई त सुरुदेखि नै लागेको थियो तर, सिटौलाजी पनि अब देउवाबाट पार्टी चल्दैन भन्नेमा पुग्नुभएको छ । यसमा हाम्रो समान मत छ,’ सिंह भन्छन्, ‘पार्टी जोगाउन शेरबहादुरको वैकल्पिक नेतृत्व आवश्यक छ भन्ने साझा बुझाइ भएको छ । यति मिलेपछि मिलेका कुरामा सम्बन्धलाई विकसित गर्छौँ ।’ 

दुवै नेता एकअर्कालाई स्विकार्दैनन् । न प्रकाशमानलाई नेता मान्न सिटौला तयार छन् न सिटौलालाई प्रकाशमान । उनीहरू एउटै कार्यक्रममा सहभागी हुँदैनन् । मञ्च सेयर गर्दा एउटै वरीयता देखिने भएपछि उनीहरूलाई एउटै कार्यक्रममा प्रायः डाकिँदैन ।

गिरिजाप्रसाददेखि सुशीलसम्मका सहयोगी 
०५७ साल माघमा गिरिजाप्रसादको सरकारमा सिटौला उद्योग, वाणिज्य र आपूर्ति राज्यमन्त्री भए । गिरिजाले उनलाई संगठन विभाग प्रमुख र प्रवक्ता बनाए । पार्टी फुट्दा गिरिजातिरै रहेका सिटौला माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाको नजिकको सहयोगी भए । १२बुँदे समझदारीदेखि वामपन्थीसँग वार्ता गराउने वातावरणको जिम्मा सिटौलाले नै पाए । ०६२/६३ मा दोस्रो जनआन्दोलन सफल भएपछि गिरिजाको सरकारमा सिटौला गृहमन्त्री भए । गृहमन्त्री भए पनि ०६४ सालमा चुनावमा हारे । ०६७ मा सुशील कोइराला सभापतिमा जितेपछि सिटौला मनोनीत महामन्त्री भए । संविधानसभा विघटन हुनुअघि सिटौला उपप्रधानमन्त्री र कानुनमन्त्री भएर तीन साताजति सरकारमा गए । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सिटौला झापा ३ बाटै निर्वाचित भए । उनले संविधान निर्माणका लागि मस्यौदा समितिको सभापति भएर काम गरे । 

अनि बिच्किएर अघि बढे सिटौला
सुशीललाई नजिकबाट साथ दिए पनि उनको निधनपछि सिटौला तत्कालीन संस्थापनसँग टाढिँदै गए । १३औँ महाधिवेशको मुखमा सुशीलको निधन भएपछि नेता रामचन्द्र पौडेलले आफूलाई बेवास्ता गरेपछि पूर्वसंस्थापनलाई छोडेको उनी बताउँछन् । 

उपसभापति प्रकाशमान, मनोनीत महामन्त्री रामशरणलाई नजिक राख्ने तर आफूलाई कुनै भूमिका दिन नखोजिएकाले सिटौला बिच्किए ।  बरु, गगनलाई महŒव दिइयो, तर सिटौटालाई दिइएन । नेता पौडेल सिटौलालाई भान्से बनाउन पनि तयार नभएको टिप्पणी गरिन्छ । ‘यो सबै अनावश्यक कुरो हो । मैले उहाँलाई पार्टीको कुन स्थानमा कसलाई कहाँ राख्ने मिलाउनुहोस् भनेको थिएँ,’ पौडेलले नयाँ पत्रिकासित भने, ‘त्यो सबै बहाना मात्रै हो ।’ 

०७२ सालमा १३औँ महाधिवेशनमा तत्कालीन संस्थापनसँग असमझदारी भएपछि सिटौला पदाधिकारीमा टिमसहित आफैँ अघि बढे । आफू सभापतिमा उठेका सिटौलाले महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई अघि सारे । उनकै उम्मेदवारीको कारण सभापतिको निर्वाचन दोस्रो चरणसम्म पुग्यो र देउवा निर्वाचित भए । दोस्रो चरणमा सिटौलाले भित्री रूपमा देउवालाई साथ दिएका थिए । १३औँ महाधिवेशनमा देउवालाई साथ दिएपछि नेविसंघ, तरुण दल र महिला संघको निर्वाचनमा संस्थापन देउवासँगै मिलेर सिटौलाले यी संगठनमा पदाधिकारीसहितको हिस्सा हात पारे । तेस्रो शक्तिका रूपमा १४औँ महाधिवेशनमा झन् बढी प्रभावशाली बन्ने दाउमा सिटौला छन् ।

कसको शक्ति कति ? 

सिटौलाः केन्द्रीय समितिमा उमाकान्त चौधरी, गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल र शिवप्रसाद हुमागाईं सिटौलानिकट मानिन्छन् ।  जिल्लातर्फ ताप्लेजुङ, झापा, संखुवासभा, तेह्रथुम, कालिकोट, गोरखा, नुवाकोट र प्युठान जिल्लाका सभापतिलाई आफूनिकट मान्छन् ।   कांग्रेसका १६ सय हाराहारी महासमिति सदस्यमा  १५ देखि १७ प्रतिशत सदस्य आफ्नो पक्षमा रहेको सिटौलाको दाबी छ । १३औँ महाधिवेशनमा सभापतिमा भिड्दा कृष्णप्रसाद सिटौलाले तीन हजार एक सय ४८ मतमा जम्मा तीन सय २४ मत पाएका थिए ।  

सिंह : गणेशमानका छोरा, निरन्तर काठमाडौंबाट राजनीति गरेको हुँदा सिंहको प्रभाव छ । पुरानो लिगेसी र प्रभाव सिंहको शक्तिका रूपमा देखिन्छ । तर, सिटौलाको जति संगठित भने छैन । सिंहको पक्षमा इलाम, गुल्मी, चितवन, संखुवासभा, सिन्धुपाल्चोक, दैलेख, काठमाडौं, जुम्ला, खोटाङ, प्युठान, सल्यान र सुर्खेतका जिल्ला सभापति छन् । केन्द्रीय सदस्यमा बलबहादुर केसी, हृदयराम थानी, रामकृष्ण यादव र रत्ना शेरचन पौडेलसँग पनि नजिक मानिन्छन् । १३औँ महाधिवेशनमा आफ्नो पक्षमा ६६० महाधिवेशन प्रतिनिधि रहेको हिसाब यो पक्षले निकालेको थियो । 

सिंहको राजनीतिक जीवन
०३० सालमा नेविसंघबाट राजनीति थालेका सिंह ३६ सालमा नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष भए । ०३८ मा काठमाडौंमा पार्टीको जिल्ला सदस्य र ०४३ सालमा जिल्ला सचिव भए । ०४५ मा काठमाडौं सभापति भएपछि लगातार दुईपटक जिल्लाको नेतृत्व सम्हाले । त्यसपछि सिंह कांग्रेसको केन्द्रीय राजनीतिमा छिरे । ०५७ सालमा पोखरामा भएको १०औँ  महाधिवेशनबाट सिंह केन्द्रीय सदस्यमा विजयी भए । ०५८ सालमा कांग्रेस फुट्दा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा उपसभापति भए । ०६४ मा पार्टी एकीकरण हुँदा उपसभापति नै भए । ०६७ सालको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जिते । १३औँ महाधिवेशनमा सिंह केन्द्रीय सदस्य भए । 

०४८ र ०५१ को चुनाव हारेका सिंह ०५३ मा राष्ट्रिय सभामा सदस्य भए । सरकारमा देउवाको नेतृत्वमा वन तथा वातावरण, कृष्णप्रसाद भट्टराईको नेतृत्व जनसंख्या मन्त्री भए । सुशील कोइराला प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भए । ०७० सालमा संसदीय दलको उपनेता भए । सिंहले ०४२÷४३ सालमा त्रिचन्द्र क्याम्पसमा स्नातक तहमा साइन्स पढाए । 

सिटौलाको राजनीतिक जीवन  
००६ सालमा तेह्रथुम आठराईमा जन्मिएका सिटौला झापाबाट राजनीतिमा सक्रिय भए । निर्वासनबाट कांग्रेसका नेताहरू ०३१ मा फर्किएपछि झापा कांग्रेसमा सिके प्रसाईंको कार्यसमितिमा जिल्ला सदस्य भए । ४१ सालसम्म जिल्ला सदस्य, ०४४ मा पार्टीको पुनर्गठन हुँदा सिटौला प्रसाईंका उपसभापति भए । ०४५ पुस २३ मा पुनर्गठन हुँदा पुनः उपसभापति भए । ०४६ को जनआन्दोलनमा  प्रसाईं सभापति भए पनि उनको उमेरका कारण सिटौला नै संगठनमा हाबी थिए । जनआन्दोलन घोषणाको तयारी बैठकमा सिटौला कमाठमाडौं ठमेलस्थित चाक्सीबारीको गणेशमान सिंहको निवासमा पहिलोपटक आएका थिए । ४६ सालको परिवर्तनमा भूमिगत रूपमै सिटौलाले नेतृत्व गरे । अधिवेशनअघि नै सहमतिमा सभापति भएका सिटौला ४८ सालमा चुनिएरै सभापति बने । 

०४८ सालमा झापा १ बाट द्रोणप्रसाद आचार्यसँग पराजित भए । उनको निधनपछि भएको निर्वाचनमा क्षेत्र फेरिँदा सिटौला ३ बाट निर्वाचित भए । ०५१ सालको मध्यावधि निर्वाचनमा झापा ३ बाट पुनः पराजित भए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कांग्रेसका उम्मेदवारलाई हराउन हात्तीछाप चुनाव चिह्नको प्रचार गरे । आन्तरिक कचिंगलमा गिरिजाले मध्यावधि घोषणा गरेको भन्दै भट्टराई र सिंहले गिरिजाविरुद्ध अभियान नै चलाएका थिए । सिंह र भट्टराई गिरिजालाई हटाउन खोज्ने तर उनी नहट्ने भएपछि बहुमतकै सरकार ढल्न पुगेको थियो । त्यतिखेर कांग्रेसका सांसद चौहत्तरे र छत्तीसेमा विभाजित भए । गिरिजातिर ७४ जना र भट्टराई, सिंह, देउवातिर ३६ सांसद लागे । विभाजनको रेखा कोरिएको भन्दै सिटौला गिरिजातिरै लागे । 

सुरुमा प्रकाशमानमा सिटौला आफ्ना लागि चुनौती नभएको बुझाइ थियो । तर, गिरिजाप्रसाद  हुँदै सुशीलको पनि निकट भएर काम गरेपछि भने सिंहले सिटौलालाई चुनौतीका रूपमा महसुस गरे । महामन्त्रीका रूपमा सँगै काम गर्दा यी दुई नेताबीच टसल भने भएन ।

०५३ सालको नवौँ महाधिवेशनमा सिटौला झापा सभापतिमा निर्वाचित भए । ०५६ सालको आम निर्वाचन झापा ३ बाट सांसदमा जिते । ०५७ मा पोखरामा भएको १०औँ महाधिवेशनबाट गिरिजा सभापति हुँदा सिटौला केन्द्रीय सदस्यमा निर्वाचित भए ।  गिरिजाले समन्वय विभाग प्रमुख बनाएछि सिटौलाले झापा जिल्ला सभापतिबाट राजीनामा दिए । 

सिटौलाबारे सिंह : पहिलेको भन्दा राम्रो सम्बन्ध छ
सिटौलाजीसँग कलबलगुडीमा चिनजान भएको हो । उहाँसँग पहिलेको भन्दा राम्रो सम्बन्ध छ । व्यक्तिगत रूपमा धेरै भेटघाट नभए पनि सामूहिक बैठक हुँदा भेटघाट हुन्छ । उहाँ र म सुशील कोइरालको नेतृत्वमा सँगै महामन्त्रीका रूपमा काम गर्‍यौँ । म सरकारमा हुँदा उहाँ संविधान मस्यौदा समितिमा रहनुभयो । हाम्रा कारणले सभापति सुशील कोइरालालाई अप्ठ्यारो भएजस्तो लाग्दैन । संविधान निर्माणको मस्यौदा समितिको सभापति भएर काम गर्नुभयो । सिटौलाजीसहित कुनै नेतासँग पनि मेरो नमिठो सम्बन्ध छैन ।   

सिंहबारे सिटौला  : हामीबीच टाढाको सम्बन्ध छैन 
पञ्चायतकालदेखि नै उहाँलाई चिनेको हुँ । गणेशमान सिंहको छोरा भएकाले उहाँको विशेष पोजिसन हुने नै भयो । यो शक्तिका हिसाबले स्वाभाविक पनि हो । व्यक्तिगत रूपमा प्रकाशमानजीसँग मेरो सम्बन्ध राम्रै छ ।  सम्झनालायक डिबेट छैन । हाम्रा कारणले सभापति सुशील कोइरालालाई अप्ठ्यारो भएन । सुशील प्रधानमन्त्री भएपछि सहमतिअनुसार नै उहाँ उपप्रधानमन्त्री भएर जानुभयो ।  म संविधान निर्माणको मस्यौदा समितिको सभापति भएर काम गरेँ । प्रकाशमान सिंहसहितका अरू नेतासँग पनि मेरो टाढाको सम्बन्ध छैन । 

टिप्पणी
 

 पुरञ्जन आचार्य
विश्लेषक

प्रकाशमान, गणेशमानका छोरा भएकै नाताले  कांग्रेसको राजनीतिमा छिटो स्थापित भए । तर, सिटौला आफ्नै मिहिनेतले राजनीतिमा उदाएका हुन् । दुवै जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा आफूलाई स्थापित गर्दै लाने नेतामा पर्छन् । यी दुवै १२औँ महाधिवेशनपछि महामन्त्री भए । तर, यिनीहरूबीच नजिकको सम्बन्ध छ जस्तो लाग्दैन ।  जिल्लाको संगठनमा यी दुवैको पकड छ । दुवै पार्टीका लागि खट्ने नेता हुन् । 

दुवै नेता मिहिनेती छन् । यिनीहरू दुवै पदले दिएको जिम्मेवारी पूरा गर्न खट्छन् । सिटौलाले शान्ति प्रक्रियामा आफूलाई खट्न सक्ने नेताको रूपमा उभ्याए । तर, राष्ट्रिय राजनीतिमा भूमिका खेल्दै कांग्रेस र देशकै लागि यी भोलिका नेता हुन् भनेर दुवैले आफूलाई स्थापित गराउन सकेका छैनन् । जिम्मेवारी दिँदा खटेर काम गर्न सक्छन् । तर, जिल्लाको संगठनभन्दा माथि उठेर राष्ट्रिय राजनीतिमा ‘क्यारिसमेटिक’ नेतृत्वको खुबी दुवैमा देख्दिनँ । व्यक्तित्व निर्माणका लागि सिटौला गुट निर्माणमा लागेको देखिन्छ । उनीसँग गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईंजस्ता केन्द्रीय सदस्य छन् । १३औँ महाधिवेशनमा पनि सिटौलालाई देउवा र कोइरालासँग बस्न नसक्नेले साथ दिएका हुन् । चार सय भोट ल्याएर उनले केही प्रभाव जमाउन सकेनन् । 

तर, सिंह गुट बनाउन लागेका छैनन् । सिंह तत्कालीन पौडेल ग्रुपबाट उठे । तर, उनी सिटौलाले जस्तो स्वतन्त्र गुटमा लागेका छैनन् । यी दुवै कतै न कतै लाग्ने, च्याँखे दाउमा लाग्ने  हुँदा कहिल्यै नेता बन्न सक्दैनन् । १४औँ महाधिवशेनमा यी दुवै नेताले ठूलो प्रभाव पार्दैनन् । आफैँ उठेर सभापति र उपसभापति महामन्त्री जित्न सक्दैनन् । तर, कतै न कतै लागेर प्रभाव देखाउन सक्छन् ।