मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असार २८ शनिबार ०७:०७:००
Read Time : < 1 मिनेट
प्रदेश

निर्माणाधीन मोटरेबल पुल भत्कियो

Read Time : < 1 मिनेट
२०७६ असार २८ शनिबार ०७:०७:००

मनाङको मनाङ–ङिस्याङ गाउँपालिकामा हुम्दे र ङावल जोड्ने निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । तीन वर्षअघि निर्माण सुरु भएको पुल बुधबार मर्स्याङ्दी नदीमा खसेको हो ।

चार करोड ५१ हजारको लागतमा निर्माणाधीन पुल भत्किएपछि ङिस्याङ–४ हुम्देबाट ङिस्याङ–३ ङावलसम्म मोटर पुर्‍याउने लक्ष्य प्रभावित बनेको छ । ‘मर्स्याङ्दीमा पानीको बहाव बढेको र हिउँदमा लगाएको टेको पानीले खोतलेपछि पुल झरेको हो,’ पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन इन्जिनियर राम पराजुलीले भने । उनका अनुसार दुई महिनाअघिदेखि नै पुलमा समस्या देखिएको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले एक महिनाअघि नै पुल बांगिएको बताए । मर्मतका लागि आग्रह गर्दा ठेकेदार कम्पनीले अटेर गरेको उनले बताए । 

सात महिनाअघि नै बन्नुपर्ने थियो 
पुल निर्माणको लागि काठमाडाैंस्थित निर्माण कम्पनी ग्याल्वा क्याराभान कन्स्ट्रक्सन जेभीले ०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो । संघीयता कार्यान्वयनसँगै ०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालयले लिएको थियो । इन्जिनियर पराजुलीका अनुसार सम्झौताबमोजिम १५ मंसिर ०७५ मै पुल निर्माण हुनुपर्ने थियोे । ३५ मिटर लम्बाइ र साढे चार मिटर चौडाइको पुल खस्दा ५० देखि ६० लाख रुपैयाँसम्म क्षति भएको पराजुलीले बताए । ठेकेदार कम्पनी क्याराभान कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर रामकृष्ण कोन्डाका अनुसार पुलको ७० प्रतिशत निर्माणकार्य सकिइसकेको थियो ।