Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल फाेटाे
२०७६ असार २८ शनिबार ०६:४१:००
Read Time : > 1 मिनेट
समाचार

पाँच वर्ष बित्दा पनि बनेनन् पुल

Read Time : > 1 मिनेट
२०७६ असार २८ शनिबार ०६:४१:००

लमही—तुलसीपुर सडकखण्डमा पर्ने खोलामा पाँच वर्षदेखि निर्माण भइरहेको पुल अझै अलपत्र छ । मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले बर्खाअगावै बबई, कटुवा, गुज्रे र संक्राम खोलामा पुल निर्माण भइसक्ने बताइएको थियो । बिहीबारको बाढीले माटो फिलिङ गरेको ग्याबिङ भत्काएपछि दुई दिन मात्र सञ्चालनमा आएको कटुवा खोलाको पुलमा सवारी आवागमन अवरुद्ध भएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ठेकेदारले राम्ररी काम नगर्दा सञ्चालनमा आएको कटुवा खोलाको पुलमा यातायात अवरुद्ध भएको बताए । ‘ठेकेदारको अपरिपक्व कामले पुलमा यातायात अवरुद्ध भएको छ,’ उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर सक्दो चाँडो पुल सञ्चालनमा ल्याउने प्रयासमा छौँ ।’ लमही–तुलसीपुर सडकखण्ड अन्तर्गत तीन किलोमिटरको दूरीमा १० वटा सानाठूला खोला पार गर्नुपर्दछ ।

सडकखण्डको चौपट्टादेखि तुलसीपुरसम्म बबई, सिस्ने, कटुवा, सेवार, पत्रे, गुज्रे, हापुर, संक्राम, ग्वार र कालाखोला छन् । उच्च जोखिमयुक्त पाँचवटा खोलामा पाँच वर्षअघिदेखि पुल निर्माण कार्य सुरु भएको थियो । बबई, कटुवा, गुज्रे र सक्राम खोलामा यसै वर्षदेखि पुल सञ्चालनमा आउने बताइएको थियो । अन्य खोलामा कहिलेबाट पुल सञ्चालनमा आउने भन्ने कुनै टुंगो छैन । 

बबई र गुज्रे खोला पुल निर्माणको जिम्मा बज्रगुरु निर्माण सेवा र संक्राम खोला पुल निर्माणको ठेक्का रौताहा कन्सट्रक्सनले लिएका छन् । कटुवा र पत्रे खोलामा बन्न लागेका पक्की पुलको जिम्मा शंकर माली निर्माण सेवाले लिएको छ । यी खोलामा ०७१ र ०७२ सालबाट पुल निर्माणको काम सुरु भएको थियो ।

त्रासमा यात्रा
वर्षात् सुरु भएसँगै लमही—तुलसीपुर सडकखण्डमा यात्रुहरूको गन्तव्य अनिश्चित हुने क्रम यस वर्ष पनि दोहोरिएको छ । पानी पर्नेबित्तिकै उर्लिने खोलाका कारण यात्रुले घन्टाैँ सास्ती व्यहोर्नुपर्ने अवस्था छ । कुन खोलामा कतिवेला बाढी आउने हो ? निश्चित हुँदैन । कहिलेकाहीँ त बाढीले गाडीसमेत बगाउने गरेको छ । ठूलो पानी पर्नेबित्तिकै खोला आसपासमा सवारीसाधन, यात्रु, विद्यालय जान हिँडेका विद्यार्थी घन्टौँ खोलाको पानी कति वेला कम होला र गन्तव्य पुगिएला भनेर पर्खनुपर्ने अवस्था छ । ‘बर्खा लागेपछि त्रासमा यात्रा गर्न बाध्य छौँ । काममा पनि हिँड्नै प¥यो । गन्तव्यमा पुगिने हो कि हैन टुंगो हुँदैन,’ घोराही–१५ का शिवराम कार्की भने ।