मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ असार २७ शुक्रबार ११:२३:००
Read Time : > 1 मिनेट
समाचार

आमा सुरक्षा कार्यक्रमको बजेट अझै निकासा भएन

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ११:२३:००

प्रदेश २ कोष तथा लेखा नियन्त्रण कार्यालयले आमा सुरक्षा कार्यक्रमअन्तर्गतको रकम निकासा नगर्दा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा समस्या सिर्जना भएको छ । अस्पतालका अनुसार चालू आर्थिक वर्षको १३ असारसम्म सामान्य प्रसूति तथा शल्यक्रियामार्फत प्रसूति गराएका तीन हजार ६ सय १७ जनाको रकम रोकिएको छ । त्यस्तै, गर्भवती अवस्थामा प्रोटोकलअनुसार सरकारी स्वास्थ्य संस्थामा जाँच गराएका तीन सय ६१ जनाले पाउनुपर्ने रकम  पनि निकासा भएको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाले आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्यसंस्थामा नियमित स्वास्थ्यजाँच गराउने तथा प्रसूति गराउनेलाई प्रदेश सरकारमार्फत रकम उपलब्ध गराउने गरेको छ । सिरहामा रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मात्रै यो कार्यक्रम लागू छ ।  ‘पछिल्लो आर्थिक वर्ष ०७४/७५ को वैशाखदेखि असारसम्म र चालू आवको ०७५/७६ को असार तेस्रो हप्तासम्मको आमा सुरक्षा कार्यक्रमकोे ९० लाख रुपैयाँ प्रदेशको सामाजिक विकास मन्त्रालयको नाममा आएको थियो ।

मन्त्रालयले २३ असारमा अस्पताललाई रकम खर्चको अख्तियारीसमेत दिएको थियो,’ अस्पतालका प्रशासन प्रमुख लोकेन्द्र शाहीले भने, ‘तर प्रदेश कोष तथा लेखाले आर्थिक वर्षको अन्तिममा बजेट शीर्षक नमिलेको भन्दै रकम निकासा गर्न नमानेपछि हामी समस्यामा छौँ । हामीले परिवार स्वास्थ्य महाशाखामा जानकारी गराउँदा अन्य प्रदेशमा यही शीर्षकमा बजेट निकासा भएको छ, प्रदेश २ मा किन हुँदैन भनेर जवाफ दिनुभएको छ ।’

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख विनोद गेलालले प्रदेश २ सामाजिक विकास मन्त्रालयबाट प्राविधिक त्रुटि भएकाले निकासामा समस्या देखिएको बताए । ‘प्राविधिक त्रुटि देखिएकाले समस्या सिर्जना भएको हो । मन्त्रालयले बजेट शीर्षक मिलान गरेर पठाइदिए निकासामा कुनै समस्या हुने छैन,’ उनले भने ।

सबै स्वास्थ्य संस्था समस्यामा
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनीलप्रसाद कुशावाहाले प्रदेश कोष तथा लेखाका कारण प्रदेश २ का सबै स्वास्थ्य संस्था अप्ठेरोमा परेको बताए । अस्पतालको प्रशासन शाखाका अनुसार पछिल्लो आवको वैशाखदेखि असार मसान्तसम्म सामान्य पाँच सय २८, जटिल १९ र शल्यक्रियाबाट प्रसूति गराएका ६१ जना गरी ६ सय आठ जना सुत्केरी महिलाको खर्च आन्तरिक स्रोतबाट व्यहोरिएको छ । ‘अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरेर काम चलायौँ, अन्तिम समयमा समस्यामा पर्‍यौँ’ प्रशासन प्रमुख शाहीले भने । अस्पतालको प्रसूति वार्डमा कार्यरत अनमि रामपियारी साहका अनुसार दैनिकजसो अस्पतालबाट प्रसूति सेवा लिएर घर फर्किएका महिलाले पाउनुपर्ने रकम आए–नआएको विषयमा गुनासो गर्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि यातायात खर्चबापत तराईका जिल्लामा एक हजार र गर्भवती अवस्थामा प्रोटोकलअनुसार चारपल्ट जँचाएको कार्ड ल्याए आठ सय गरी एक हजार आठ सय रुपैयाँ दिने व्यवस्था रहेको अनमी साहले बताइन् ।