१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार २७ शुक्रबार ११:०५:००
Read Time : > 2 मिनेट
प्रदेश

अधकल्चो निर्माणले विराटनगर अस्तव्यस्त

Read Time : > 2 मिनेट
२०७६ असार २७ शुक्रबार ११:०५:००

सहरको स्तरोन्नतिका लागि सञ्चालन भइरहेका विकास निर्माणका परियोजनाको काम समयमै पूरा नहुँदा प्रदेश १ को राजधानी विराटनगर कुरूप बनेको छ । निर्माणका क्रममा भत्काइएका सडक समयमै नबनाइँदा वर्षाका वेला विराटनगर हिलाम्मे हुन थालेको छ । हिउँदमा धुलो र खाल्डाखुल्डीले आक्रान्त बनेका महानगरवासी वर्षा सुरु भएसँगै  डुबान र हिलोले दिक्दार बनेका छन् ।

विराटनगरमा हाल क्षेत्रीय सहरी विकास (आरयुडिपी) परियोजनाअन्तर्गत मुख्य बजार क्षेत्रमा सडक र ढल निकासको काम भइरहेको छ । तर, विभिन्न कारणले निर्माणमा  ढिलाइ हुँदा पाँच वर्षदेखि विराटनगरवासीले धुलो, धुँवा, हिलो र डुबानको सास्ती भोग्दै आएका छन् ।

कोसी अञ्चल अस्पताल क्षेत्र जलमग्न
ढल निकासको व्यवस्था नहुँदा कोसी अञ्चल अस्पताल प्रांगण डुबानमा परेको छ । डुबानले बिरामी समस्यामा परेका छन् । अस्तव्यस्त निर्माण कार्यले धेरै सरकारी कार्यालय क्षेत्रसमेत हिलाम्ये छन् । हिलोले गर्दा मन्त्रालय जान÷आउन पनि सेवाग्राहीलाई सास्ती छ । किनमेल, घुमफिर, उपचारलगायत काममा विराटनगर आउने सर्वसाधारण समस्यामा परेका छन् । 

महानगरभित्रै नाकाबन्दीको अवस्था  
यत्रतत्र डुबान र हिलोको विराटनगर महानगरभित्र नाकाबन्दीको अवस्था सिर्जना भएको । एउटा सडकबाट हिँडेको सवारीसाधन अर्को सडकमा पुग्न सक्ने अवस्था नरहेको टोल समन्वय समिति विराटनगरका संयोजक राजेश मास्केले बताए । 

‘एकैपटकमा दोहोरो सवारी अवागमन हुने सडक भत्काइएकाले अहिले एकफर्ती यातायात चल्न सक्ने अवस्था पनि छैन,’ मास्केले भने, ‘सहरी वतावरण सुधार गर्न सञ्चालन गरिएको यो परियोजनाले झन् वतावरण बिगारेर सहरमा नाकाबन्दीको अवस्था सिर्जना गरेको छ ।’ वर्षौँ बित्दा पनि  सडक निर्माण सम्पन्न नहुनु दुःखद भएको
उनले बताए । 

हतारमा भत्काइए निजी संरचना
सडक फराकिलो बनाउने भन्दै व्यक्तिका निजी संरचना हतारमा भत्काइए । तर, सडक क्षेत्रका संरचना भत्काए पनि समयमै निर्माण काम नहुँदा सास्ती पाइएको गुनासो विराटनगरवासीको छ । स्थानीय पारुल क्षेत्रीले कमिसन र भ्रष्टाचारका कारण विकास निर्माणको काममा ढिलाइ भएको बताए । ‘निर्माणमा हुने कमिसनको खेल, भुक्तानी विवाद, विभिन्न निकायबीचको समन्वय अभावले निर्माणको काममा ढिलासुस्ती भइरहेको छ ।’ 

विराटनगरमा सञ्चालन भएका परियोजना
विराटनगर महानगरपालिकामा सन् २०१३ डिसेम्बरदेखि दुई अर्ब ३९ करोडबराबरको एकीकृत  मझौला सहर स्तरोन्नति तथा सहरी वतावरण सुधार परियोजना (एसटिआईयुइआइपी) सञ्चालनमा छन् । सन् २०१६ भित्र काम सम्पन्न गर्नुपर्ने परियोजनाको लक्ष्य थियो ।

समयमा काम नसकिएपछि म्याद थप गरेर सन् २०१८ जुनसम्म पुर्‍याइयो । ५८ करोड लागत थपेर परियोजना सम्पन्न भएको घोषण गरियो । तर, महानगरभित्रका सडकको हालत भने उस्तै छ । ६४ किमि सडकको स्तरोन्तिसहित कालोपत्रे गर्ने र नाला तथा ढल निर्माण गर्ने काम पूरा हुन सकेको छैन ।

दुई अर्ब ६१ करोडको परियोजना
एडिबीकै सहयोगमा २८ अगस्त २०१७ देखि  विराटनगरमा ३६ महिना अवधिका लागि दुई अर्ब ६१ करोड १० लाख ९२ हजार रुपैयाँ लागतको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) सञ्चालनमा छ । 

जसले ६ सय ५२ मिटर पानीको नाला, २० हजार ८२ मिटर फोहोर ढल, ६ सय ८५ थान ढलको मेन होल, एक हजार १० थान सेबर इनलेट, ३७ सय ८४ थान घरमा ढल जडान, २६ किमि सडक निर्माण र ७३ किमि सडकको स्तरोन्नती तथा सुधार गर्नुपर्ने सम्झौता छ । 

तर, भुत्तानी र कमिसन विवाद, सरोकारवाला निकायको समन्वय अभाव, ठेकेदारको लापारबाहीजस्ता कारणले परियोजन नोबेम्बर २०१९ भित्र सम्पन्न हुने अवस्स्था छैन । परियोजनाको एकाइ कार्यालयका इन्जिनियर भरत न्यौपाने भने हालसम्म ७० प्रतिशत काम सकिएको दाबी गर्छन् । धेरैजसो काम सकिएको छ । बाँकी काम पनि सयमभन्दा अघि नै सक्ने हाम्रो प्रयास रहन्छ ।’

सबै सडक क्षतविक्षत
सडक र ढल स्तरोन्नतिका लगि भन्दै  दोहोरो सवारी आवातजावत गर्ने महानगरका मुख्य बजार क्षेत्रका प्रायः सबै सडक यतिवेला भत्काइएका छन् । चिल्ला र फराकिला बनाउने भन्दै सबैजसो भित्री सडक पनि भत्काएर क्षतविक्षत अवस्थामा पुर्‍याइएको छ । 

स्तरोन्नतिका लागि भत्काइएका भित्री सडक केही मात्र निर्माण भएका छन् । तर, विराटनगरको मेन रोड, हिमालय रोड, अस्पताल रोड, रंगेली रोड, देवकोटा चोक, शनिहाट, तीन पैनीमार्गलगायत सहरका मुख्य क्षेत्र अस्तव्यस्त छन् । 

समयमै काम नहुँदा विराटनगरका सबैजसो सडक यतिवेला हिँड्नै नहुने अवस्थामा पुगेका छन् । आकाशबाट परेको पानी र ढल निकासको उचित व्यवस्था नहुँदा बजार जलमग्न हुन थालेको छ । २५ र २६ असारमा परेको वर्षाले गर्दा विराटनगरको रंगशालामा पानी जमेर पौडी पोखरीझैँ बनेको छ । जसले गर्दा असारमा हुने मुख्यमन्त्री कप फुटबल प्रतियोगितासमेत धरानमा सार्नुपरेको छ ।