मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २७ शुक्रबार ११:०१:००
Read Time : < 1 मिनेट
समाचार

याङवरक गाउँपालिकालाई जिल्लाकै नमुना बनाइने

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ११:०१:००

याङवरक गाउँपालिकाले जिल्लामै पहिलोपटक प्रथम पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले समृद्ध याङवरक बनाउने उद्देश्यसहितको पहिलो पञ्चवर्षीय योजना सार्वजनिक गरेका हुन् । उनले योजना फलदायी हुने विश्वाससमेत व्यक्त गरे ।

गाउँपालिकाले ०८१ सम्मको पञ्चवर्षीय योजना सार्वजनिक गरेको हो । ‘गाउँपालिकामा उपलब्ध स्रोत, साधन एवं प्रविधिको सदुपयोग तथा विकास साझेदारसँगको सहकार्यमा पञ्चवर्षीय योजना सञ्चालन हुनेछ,’ अध्यक्ष घिमिरेले भने, ‘विकास निर्माण अघि बढाउँदा सामाजिक न्याय, सुशासन, गरिबी निवारण एवं समावेसी विकासलाई प्राथमिकतामा राख्नेछौँ ।’ पहिलो पञ्चवर्षीया योजनाको कार्यान्वयनबाट गाउँपालिका विकास, निर्माणको दृष्टिले जिल्लामै नमुना बन्ने अध्यक्ष घिमिरेको दाबी छ ।

प्रत्येक टोलमा पुगेर योजना छनोट
एनएलआर नेपालसँगको सहकार्यमा गाउँपालिकाका प्रत्येक टोलमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएपछि विकासको पञ्चवर्षीय योजना निर्माण गरिएको हो । योजना समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङका अनुसार कृषि, स्वास्थ्य, आन्तरिक पर्यटन, जलस्रोत, भूमि व्यवस्थापनसहितका आधारमा योजना तयार पारिएको छ । 

नागरिकको सकारात्मक सहयोग भए प्रथम पञ्चवर्षीय योजना सफल हुने योजना निर्माणमा प्राविधिक सहयोग गरेको एनएलआरका सह–निर्देशक नन्द बाँस्तोलाले बताए । 

आम्दानी दुई अर्ब ३१ करोड पुर्‍याइने
याङवरक गाउँपालिकाले आर्थिक विकासलाई १० देखि १४ प्रतिशतको दरमा कायम गरी निरपेक्ष गरिबीलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । ०८१ सम्म गाउँपालिकाको आम्दानी दुइ अर्ब ३१ करोड पुर्‍याउने लक्ष्य छ । सबै प्रकारका सामाजिक विकृति, विसंगति, कुरीति र विभेदको अन्त्य र सामाजिक न्यायमा आधारित गुणस्तरीय जीवनसहितको समृद्ध र समावेशी समाजको निर्माण गर्ने लक्ष्य गाउँपालिकाको छ ।