Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असार २७ शुक्रबार १०:३६:००
Read Time : > 2 मिनेट
नयाँCity

फेरियो जनकपुर हराए पोखरी : रमेशरञ्जन झा

सहर संवाद

Read Time : > 2 मिनेट
२०७६ असार २७ शुक्रबार १०:३६:००

पहिलेको जनकपुरका तीन आकर्षण थिए । जानकी मन्दिर, जनकपुर चुरोट कारखाना र रेलवे स्टेसन । यी तीन स्थानले जनकपुर पूर्ण सहरजस्तो लाग्थ्यो । बिस्तारै जनकपुर आधुनिक सहरको रूपमा विकास हुँदै गइरहेको थियो । यी तीन स्थान जोगाउन पनि संघर्ष भइरहेको थियो । त्यो जनकपुरमा मन्दिर मात्र होइन खाली जग्गा पनि थियो । त्यहाँ पूजापाठ हुन्थ्यो । विवाह पञ्चमी, रामनवमी, झुलाजस्ता ठूला चाड भव्य रूपमा मनाइन्थ्यो । ‘झुला’ पर्व साउनमा पन्ध्र दिनसम्म मनाइने मेला हो । त्यो वेला विभिन्न कुटी र मन्दिरमा सांगीतिक कार्यक्रम पनि गरिन्थ्यो । ठूला गायक आउँथे । त्यसमा लाखौँ मान्छे रातभरि, दिनभरि घुमेर रमाइलो गर्थे । 

जनकपुरमा मनाइने अर्को ठूलो चाड मिथिला परिक्रमा हो । त्यो होली पूर्णिमाको दिन मनाइन्थ्यो । प्रत्येक महिना पूर्णिमाको दिनमा गाउँगाउँबाट मान्छे आउँथे । रामजानकी, जनकलगायत मन्दिरमा पूजा गर्थे । कसैले त्यो दिन आफ्नो बच्चाको मुण्डन पनि गर्थे । जनकपुरमा प्रत्येक एक मिनेट हिँडेपछि एउटा नयाँ पोखरी भेटिन्थ्यो । पानीको स्रोत त्यहीँ पोखरी थियो । पोखरीले गर्दा जनकपुर स्वच्छ र सुरक्षित थियो । त्यो वेला बस्ती पनि खासै बाक्लो थिएन । पोखरी जनकपुरको सौन्दर्य थिए । पछि आधुनिक सहर बन्ने क्रममा ठूला पक्की संरचना बने । यातायातका साधन धेरै भए । सहर बदलिन थाल्यो । बाहिरबाट साधु सन्त र कलाकार आउन थाले । व्यापार बढ्यो । सहर एकदमै चलायमान भयो ।

पहिला यो सहर एक जातीय र एक भाषिक थियो । जनकपुर चुरोट कारखानाले यसलाई विविध भाषिक र जातीय बनायो । चुरोट कारखानाको फ्याक्ट्री निर्माणदेखि त्यसको सञ्चालनसम्मका लागि हिमाल, पहाड, तराई सबैतिरका मान्छे आए । सबै क्षेत्र, जात, सम्प्रदाय र वर्गका मान्छे समेटिए । यो जनकपुरको सुन्दर कुरा हो ।  जनकपुर धेरै परिवर्तन भयो । अंग्रेजकालीन रेलवे थियो, त्यो भत्कियो । अहिले नयाँ रेलवे बन्दै छ । त्यो अहिले सञ्चालन भएको छैन । जनकपुर चुरोट कारखानाको भौतिक संरचना छँदै छ । जनकपुर चुरोट कारखाना भने छैन । उत्पादन बन्द भएपछि त्यसले गर्दा रोजगार पाउने थुप्रै कर्मचारीको रोजीरोटी पनि खोसिएको छ । जनकपुर परिवर्तन भए पनि जानकी मन्दिर भने छँदै छ ।

जनकपुरको परिवर्तनसँगै संस्कृति पनि फेरियो । तर, केही सांस्कृतिक चाड भने अझै बलिया छन् । जस्तै, विवाह पञ्चमी र मिथिला परिक्रमा अहिले पनि त्यही रूपमा छ । तर, अन्य फेस्टिबल खत्तम हुँदै गएका छन् । प्रत्येक महिना हुने ‘पूर्णिमा पर्व’ भने अत्यन्त औपचारिक भएको छ । राजनीतिक घटनाक्रम चाँडो बदलिँदा यहाँका मान्छेले सहज अनुभव गरेनन् । जसले गर्दा जनकपुर नराम्ररी प्रभावित भयो । 

पहिला जनकपुर एक जातीय र एक भाषिक सहर थियो । जनकपुर चुरोट कारखानाले यसलाई विविध भाषिक र जातीय बनायो । चुरोट कारखाना निर्माणदेखि त्यसको सञ्चालनसम्मका लागि हिमाल, पहाड, तराई सबैतिरका मान्छे आए ।

तर, जनकपुरका पोखरी जोगिएनन् । कुल पोखरीको आधा हिस्सा त मासिइसक्यो । जुन खुला र फराकिलो जनकपुर थियो त्यहाँ घर निर्माण हुन थाले । सबै जातिको कुटी जुन थियो, त्यहाँ ठूलो ठाउँ थियो । एउटा सानो मन्दिर, आँप, लिची, कटहर आदिको बगैँचा थियो । त्यो सबै मासेर पछि जग्गा बेच्न थालियो । त्यहाँ ठूला भवन बने । सहरको पारम्परिक स्वरूप भत्कियो । वातावरणीय रूपमा पनि कंक्रिटको सहर हुँदै गयो । अहले प्रदूषण, लामखुट्टे आतंक, फोहोरलगायत समस्या बढ्दै गएको छ । 

मिथिलाको खाना विशेष थियो । मिथिला भारत र नेपाल दुई भागमा विभाजित छ । अहिले पनि भारतीय मिथिलावासी जनकपुरलाई आफ्नो राजधानी मान्छन् । यो जनकको राजधानी हो । जनकपुरको माछा प्रख्यात छ । दही र लस्सीका लागि पनि जनकपुर प्रख्यात छ । पानका लागि पनि जनकपुर प्रसिद्ध छ ।मिथिलाका सयौँ परिकार छन् । ती परिकार होटेलमा पाइँदैनन् । मार्केटिङ नै भएको छैन । रैथाने खानालाई व्यावसायिक रूप दिन सके पर्यटकलाई सजिलै तान्न सकिन्छ । जनकपुरमा जस्तो मिठो खाना अन्त पाउन गाह्रै छ । 

यो सहर पहिलेकै रूपमा फर्काउन त सकिन्छ । त्यसका लागि ती पुराना पोखरी संरक्षण र पुनः सञ्चालन गर्नुपर्छ । काठमाडांैमा जस्तो मल्लकालीन संरचना थियो यहाँ, त्यसलाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ । हुन सक्छ भोलिका दिनमा यहीँबाट एउटा नयाँ सुन्दरतातिर पनि जनकपुर सहर अगाडि बढ्छ । तर, अहिले कुरूपता बढी छ । सुन्दरता कम छ ।