मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार २७ शुक्रबार १०:११:००
Read Time : > 1 मिनेट
खेलकुद

रनिङसिल्डमा फितलो व्यवस्थापन

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार १०:११:००

पोखरामा बिहीबारदेखि सुरु भएको ११औँ राष्ट्रपति रनिङसिल्डमा कमजोर व्यवस्थापनका कारण घाइते खेलाडीले प्रारम्भिक उपचारसमेत पाएनन्

फितलो व्यवस्थापनका साथ बिहीबारदेखि गण्डकी प्रदेशमा ११औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु भएको छ । व्यवस्थापन कमजोर भए पनि आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले तामझामका साथ मुख्यमन्त्रीलाई सलामी दिएर प्रतियोगिताको उद्घाटन गराएको छ । तर, प्रतियोगितामा सहभागी खेलाडीले मैदानमा लडेर घाइते हुँदा सामान्य उपचारसमेत पाएनन् । 

चार खेलाडी घाइते
प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा एथलेटिक्सतर्फ १५ सय मिटर दौडमा सहभागी चार महिला खेलाडी क्रमशः मैदानमा लड्न पुगे । कसैको हात त कसैको खुट्टामा चोट लागेको थियो । तर, चोट लाग्दा सामान्य उपचारसमेत नपाउँदा उनीहरूले निकै बेरसम्म पीडा सहनुपर्‍यो । यति मात्र होइन, खेलाडी लड्दासमेत आयोजकका स्वयंसेवकले आफ्नो ड्युटी निर्वाह गर्न सकेनन् । लडेका खेलाडीलाई उठाउन मञ्चमा बसेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, अतिथि र अफिसियल कुदेर मैदानमा पुगेका थिए । उनीहरूले नै घाइते खेलाडीलाई समातेर मैदानबाहिर ल्याएका थिए । ६ स्थानमा ६ खेल सञ्चालन भइरहेको र दुई मात्र मेडिकल टिम रहेकाले खेलाडीको प्रारम्भिक उपचार गराउन नपाएको आयोजकले बताएको छ । 

खेलाडीले खानेपानी समेत पाएनन्
मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङले सलामी लिएर प्रतियोगिताको उद्घाटन गरे । मुख्यमन्त्रीलाई तामझामसहित सलामी दिलाएको आयोजकले खेलाडीका लागि पर्याप्त खानेपानीको समेत व्यवस्थापन गर्न सकेन । चर्को घाममा आफ्नो इभेन्ट सकाएर मैदानमा आउँदा खेलाडीले पानी पिउन पाएनन् । यता रंगशालाको फुटबल प्याराफिट निर्माणको काम भइरहेका कारण खेलाडीलाई आउजाउ गर्नसमेत कठिन भएको थियो । 

करातेमा गोर्खा पहिलो
प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, कबड्डी, भलिबल र एथलेटिक्समा ११ जिल्लाका नौ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको पहिलो दिन तीन स्वर्णपदक जित्दै करातेतर्फ गोरखा च्याम्पियन बनेको छ । 

चिकित्सक शौचालयमाजाँदा उपचारमा ढिलाई : सम्पन्न श्रेष्ठ, अध्यक्ष, आयोजक
सुनेजस्तो प्रतियोगिताको व्यवस्थापन खासै फितलो भएको हैन । हामीले कुनै कमी–कमजोरी नहुने किसिमको व्यवस्थापन गरेका थियौँ । तर, हुलमुलमा काम गर्दा केही ढिलो भएको पक्कै हो । हामीसँग ६ मेडिकल टोली छन् । ६ जनालाई ६ स्थानमा खटाएका छौँ । मैदानमा खेलाडी लड्दा मेडिकलका मान्छे शौचालय गएका थिए । यसैकारण उनीहरूको उपचार हुन ढिलो भएको हो । नभए उनीहरूको उपचार तत्कालै हुन्थ्यो । हामीले सुरुमा १५ वटा पानीका जार मगायौँ । र, सकिएपछि पुनः पाँचवटा जार आएजस्तो लाग्छ । ६ स्थानमा खेल भएकाले आयोजकले सबैतिर ध्यान दिनुपर्दा र दौडधुप गर्नुपर्दा केही ढिलो मात्र भएको हो । व्यवस्थानमा केही चुक भएको छैन ।