मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असार २७ शुक्रबार ०९:५८:००
Read Time : < 1 मिनेट
खेलकुद

बिमा नभएको प्रतियोगिता परिषद्लाई मान्य नहुने

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:५८:००

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगितामा अनिवार्य रूपमा बिमा हुनुपर्ने बताएका छन् । बिमा नभएको प्रतियोगिता परिषद्लाई मान्य नहुने र त्यसले मान्यता नपाउने सिलवालले स्पष्ट पारेका छन् । राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको स्वागत तथा बिदाइ कार्यक्रममा नवनियुक्त सदस्य–सचिव सिलवालले बिमामा जोड दिएका हुन् । ‘खेलाडी, प्रशिक्षक, अफिसियलको बिमा नगरिएको प्रतियोगिता मान्य हुँदैन,’ सदस्य–सचिव सिलवालले भने, ‘चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य, बिमा गर्नैपर्छ ।’

सिलवालले परिषद्भित्रकै कर्मचारीले आफ्नो संस्थालाई मजबुत बनाउन सक्ने बताए । सदस्य–सचिवकोे चारवर्षे कार्यकाल पारदर्शी, परिणाममुखी तथा अनुशासित रूपमा रहने उनले विश्वास दिलाएका छन् । ‘यहाँ धेरै कर्मचारीसंँग लामो समय काम गरेको अनुभव छ, हायर गरेको व्यक्तिले होइन, तपाईंहरूले नै परिषद्लाई मजबुत बनाउने हो,’ सदस्य–सचिव सिलवालले भने, ‘मेरो कार्यकाल यस्तो हुन्छ भनेर भन्दिनँ, तर मेरो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ र अनुशासित हुनेछ ।’

यता निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टले १३औँ दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रकै प्रतिष्ठासँग जोडिएको विषय भएकाले समयमै हुनुपर्नेमा जोड दिए । उनले सागका विषयमा सदस्य–सचिव सिलवाललाई पनि सचेत रहन सुझाब दिएका छन् । परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले आफ्नो सिंगो अनुभव खेलकुदको विकासमा प्रयोग गर्ने बताए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई सदस्य–सचिव बनाएर पठाएकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।