मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २७ शुक्रबार ०९:१३:००
Read Time : > 1 मिनेट
अर्थ

 काबेली करिडोर प्रसारण लाइन निर्माणमा ‘नियोजित अवरोध’

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:१३:००

नेपाल विद्युत् प्राधिकरणले ९१ किलोमिटरको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ भएको जनाएको छ । आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एन्ड एस्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्ट्रक्सनले ५ दिनदेखि निर्माणमा अवरोध गरिरहेको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर, भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरूले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका हुन् । 

अहिले फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमिटर प्रसारण लाइनमा करिब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड सञ्चालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा छन् । तेस्रो खण्ड असारभित्रमा सञ्चालनमा ल्याउने लक्ष्य थियो । तर, कोबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाका प्रवद्र्धकले प्रसारण लाइनको आफैँ पेटी ठेक्का लिएर नियोजित रूपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने, तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना (पेनाल्टी) तिर्नुपर्ने अवस्था आएपछि उनीहरूले नियोजित रूपमा काममा अवरोध गरेको देखिन्छ,’ उनले भने, ‘बाहिरबाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाइदिँदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने, तर भित्र भने आफैँ पेटी ठेक्का लिने पेनाल्टीबाट बच्न नियोजित रूपमा काममा अवरोध गर्ने, योभन्दा ठूलो अराजकता अरू के हुन्छ ?’ 

पलाञ्चोक भगवती कन्स्ट्रक्सन रैराङ हाइड्रोपावर डेभलपमेन्टको आयोजना निर्देशक कुबेरमणि नेपालको कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् काबेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिनेछ । प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति १ साउनमा छ । 

यसैगरी, अमरपुर सबस्टेसनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजना जोडिनेछ । आयोजनाले ९ वैशाखभित्र विद्युत् उत्पादन गर्नुपर्नेछ । अरुण काबेलीको अध्यक्ष गुरुप्रसाद न्यौपाने रैराङको पनि कार्यकारी निर्देशक हुन् । 

दुवै आयोजना निर्माण तत्काल नसकिने भएपछि आफैँले काम लगाएका व्यक्तिलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।