१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख इ. ओम शर्माले तयार पारेकोे वैकल्पिक अवधारणासहितको नक्सा ।
२०७६ असार २७ शुक्रबार ०९:३३:००
Read Time : > 1 मिनेट
अर्थ

निजगढ विमानस्थलको वैकल्पिक मोडल : ३ लाख रूख मात्र काटिने, ५ वर्षमा सञ्चालन

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:३३:००
  • आयोजना सम्पन्न हुँदासम्म कुल ३ खर्ब ७० अर्ब लगानी हुने
  • आन्तरिक स्रोतबाटै बनाउन सकिने, ६ करोड यात्रु क्षमता

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयले निजगढ विमानस्थलको वैकल्पिक मोडलसहितको अवधारणा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको मोडलमा वन तथा वातावरणको कम क्षति र लगानीको वैकल्पिक व्यवस्था पेस गरिएको छ । वन तथा वातावरण र विमानस्थल निर्माण खर्चका कारण विवाद झेल्दै आएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले क्षति कम गरी न्यूनतम खर्चमा निर्माण सम्पन्न गर्न सकिने अवधारणा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विमानस्थलको उत्तम मोडल र खर्च व्यवस्थापनका विषयमा अल्झिएको सरकारलाई सघाउने उपायसहितको अवधारणा ल्याइएको आयोजना प्रमुख ओम शर्माले बताए । उनले भने, ‘निर्माण मोडालिटी, स्रोत व्यवस्थापन र वातावरणीय मुद्दा व्यवस्थापनका विकल्पहरू यस अवधारणामा समाविष्ट गरिएको छ ।’

पाँच वर्षमा सञ्चालनमा ल्याउन सकिने
अवधारणाअन्तर्गत पहिलो पाँच वर्षमा एउटा धावनमार्ग र टर्मिनल भवनलगायतका संरचना बनाएर विमानस्थल सञ्चालन गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताए । उनले भने, ‘कुल १ खर्ब १० अर्ब लगानीमा पहिलो चरणको काम सकिनेछ । यसका लागि वार्षिक ३० अर्ब स्रोत व्यवस्थापन गर्दा पुग्छ ।’ सार्वजनिक गरिएको अवधारणाअनुसार पहिलो चरणमा टाँगिया बस्ती स्थानान्तरण गरेर १० हजार रूख कटान गर्दा एउटा धावनमार्ग, पार्किङ, टर्मिनल भवन, जहाज पार्किङ, प्रवेश मार्ग, कार्गो भवन, फायर स्टेसन, राडारलगायतका संरचना निर्माण गर्न सकिन्छ ।

कुल लागत ३ खर्ब ७० अर्ब 
आयोजना सम्पन्न हुँदासम्म कुल ३ खर्ब ७० अर्ब लगानी हुने अनुमान छ । १२ वर्षमा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने अवधारणामा उल्लेख छ । वार्षिक ३० अर्ब रुपैयाँ छुट्याएर तीन चरणमा काम गर्दा आन्तरिक स्रोतबाट नै लागत व्यवस्थापन गर्न सकिने प्रमुख शर्माको भनाइ छ । तीनवटा धावनमार्ग रहने गरी प्रस्तुत गरिएको अवधारणामा चारवटा टर्मिनल भवन हुनेछन् । चौथो टर्मिनलबाट आन्तरिक उडान मात्र भर्ने योजना छ । 

वार्षिक ६ करोड यात्रु क्षमता
अन्तर्राष्ट्रिय विमानस्थलमा वार्षिक ६ करोड यात्रुले सेवा पाउने प्रक्षेपण गरिएको छ । यसका लागि ३ वटा धावनमार्ग आवश्यक पर्छ । हाल विमानस्थलको पश्चिमी सिमानामा २२ सय मिटर नदी नियन्त्रण कार्य भइसकेको छ । 

त्यस्तै, ६३ बिघा जग्गाको मुआब्जा दिइसकिएको आयोजनाले जनाएको छ । पहुँचमार्ग, पेरीफेरी सडक निर्माण, रूख कटानसम्बन्धी कार्य १९ भदौ २०७४ मा नेपाली सेनालाई जिम्मा दिइएको थियो । तर, सम्झौताको अवधि समाप्त भइसकेको छ तर हालसम्म त्यससम्बन्धी कुनै पनि काम भएको छैन । 

२४ लाख रूख काट्नु नपर्ने
टाँगिया बस्तीका १ हजार ४ सय ७६ परिवारलाई विमानस्थलको दक्षिण–पश्चिम भेगमा रहेको ऐलानी जग्गामा स्थानान्तरण गर्न सकिने विकल्प अघि सारिएको छ । हाल टाँगिया बस्ती रहेको क्षेत्रमा करिब एक हजार हेक्टर जमिन छ । सो क्षेत्रमा अहिले चर्चामा आएजस्तो २४ लाख रूख काट्नुनपर्ने अवधारणामा उल्लेख छ । तर, काटिने ३ लाख रूखमध्ये करिब ६० हजार सालका रहेको विमानस्थल आयोजना प्रमुख शर्माले बताए । प्रस्तावित विमानस्थल सञ्चालनमा आउँदा कुल ८ हजार हेक्टर क्षेत्रफल प्रयोग हुन्छ । ४ हजार हेक्टर वन क्षेत्र भने कायम नै रहने शर्माले बताए ।