मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २७ शुक्रबार ०८:०५:००
Read Time : > 4 मिनेट
सेयर बजार

सामान्य अंक घट्यो नेप्से

Read Time : > 4 मिनेट
२०७६ असार २७ शुक्रबार ०८:०५:००

साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंक घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा पनि सेयर बजार उकालो लाग्न नसकेपछि लगानीकर्ता अन्योलमा परेका छन् । पछिल्ला वर्षहरूमा आर्थिक वर्षको अन्त्यतिर बजारले गति लिने गरेको थियो । जेठ महिनामा बजेटको प्रभावले सेयर बजारमा उतार–चढाव भए पनि असार मसान्ततिर बजार बढ्न गरेको थियो । तर, यस आवमा त्यसो नहुँदा लगानीकर्ता ‘पर्ख र हेर’को रणनीति अपनाउन बाध्य भएका छन् । यसका साथै मौद्रिक नीति आउन ढिलाइ भएका कारण पनि लगानीकर्ताले सो रणनीति अपनाउन बाध्य भएको एक लगानीकर्ताले बताए । बिग मर्जरको विषयमा राष्ट्र बैंकको नीति तथा निर्देशनको पर्खाइमा बैंक तथा वित्तीय क्षेत्र मात्र नभई सेयर बजारका लगानीकर्ता पनि पर्खाइमा रहेका छन् । नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्यता रहेका कारण बिग मर्जरले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्छ । असार मसान्तपछि प्रकाशित हुने कम्पनीहरूको वित्तीय विवरण र मौद्रिक नीतिले नै आगामी दिनमा पुँजी बजारको दिशानिर्देश गर्ने उनको भनाइ छ । 

बजार सारांश
नेप्से परिसूचक बिहीबार शून्य दशमलव ६२ अंक घटेर १ हजार २ सय ४८ दशमलव ५३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव शून्य १ अंक घटेर २ सय ६८ दशमलव ३२ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य १ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ५ अंक बढेर बन्द भएको छ । यस दिन १ सय ७२ कम्पनीको ८ हजार ६ सय ५५ पटकको कारोबारमा ४६ करोड ३६ हजार ५ सय ७१ रुपैयाँबराबरको १६ लाख ५४ हजार २ सय ५१ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४१ दशमलव १४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ५९ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७२ कम्पनीमध्ये ५० कम्पनीको सेयरमूल्य बढेको छ भने ८४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३८ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, आगामी कारोबार दिन नेप्से ओरालो लागेर १ हजार २ सय ४७ दशमलव शून्य ७ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ४५ दशमलव ६२ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, आगामी कारोबार दिन बजार उकालो लागे नेप्सेले १ हजार २ सय ५० दशमलव ५३ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ५२ दशमलव ५४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

सेयरमूल्य घटबढ दर न्यून
यस दिन नेप्से सामान्य ओरालो लागेसँगै कम्पनीहरूको सेयरमूल्यमा पनि खासै धेरै फरक देखिएको छैन । यस दिन कारोबारमा आएको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ४ दशमलव ७३ प्रतिशत बढेको छ भने श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीको सेयरमूल्य ३ दशमलव २५ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । यस दिन मल्टिपर्पोज फाइनान्स कम्पनी र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । सूचीकृत भएदेखि सकारात्मक सर्किट लागेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४ दशमलव ३४ प्रतिशत घटेको छ । 

९ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये २ समूहको मात्र परिसूचक बढेको छ भने ९ समूहको परिसूचक घटेको छ । वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव ११ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ प्रतिशत घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ७३ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव ६८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३९ प्रतिशत र अन्य समूहको शून्य दशमलव ३ प्रतिशत घटेको छ । कारोबारमा आएको विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव २२ प्रतिशत, वित्त समूहको शून्य दशमलव १ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ ।

सर्वाधिक कारोबार हुनेमा नेपाल बैंक
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ सय १५ पटकको कारोबारमा ५ करोड २९ लाख ६२ हजार २ सय ७६ रुपैयाँबराबरको १ लाख ५७ हजार १ सय ५० कित्ता सेयर खरिद–बिक्री भएको छ । 

कारोबार संख्याका आधारमा भने यस दन इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो लघुवित्त कम्पनीको यस दिन २ हजार ५ सय ४६ पटकको कारोबारमा १ करोड ३८ लाख ९४ हजार रुपैयाँबराबरको ३३ हजार ९ सय ७८ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएको शिवम् सिमेन्टको कारोबार रकम यस दिन ३ करोड नाघेको छ । 

 हिमालयन बैंकको ऋणपत्र
हिमालयन बैंक लिमिटेडले साउन २ गतेदेखि ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ । निष्कासन बन्द छिटोमा साउन ६ गते हुनेछ भने ढिलोमा साउन ३१ गते हुनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव ५ प्रतिशत हुनेछ । ऋणपत्रमा आर्जित ब्याज रकममा आयकर ऐनअनुसार कर लाग्नेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ । सो ऋणपत्रलाई केयर रेटिङ्स नेपालले केयरएनपी ए रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम न्यून रहेको संकेत गर्छ । 

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख रहेको छ । ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले असार ९ गते अनुमति दिएको थियो । 

 एलआइसिएनको साधारणसभा
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसिएन) लिमिटेडले साउन २४ गते नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डममा सत्रौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा हाल कायम चुक्ता पुँजीको ३४ दशमलव ४६ प्रतिशत बोनस सेयर, ३५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीको सेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

 प्रभु इन्स्योरेन्सको साधारणसभा
प्रभु इन्स्योरेन्स लिमिटेडले साउन १७ गते प्रभु कम्प्लेक्स, तिनकुनेमा तेइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा लेखापरीक्षक नियुक्त गर्ने र वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन ३ गतेदेखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

 स्वावलम्बनको संस्थापक सेयर लिलाम
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ७७ हजार ४ सय ५७ दशमलव ५ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सो सेयर खरिदका लागि असार ३१ गतेदेखि साउन २९ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य ३ सय तोकिएको छ । खरिदकर्ताले न्यूनतम १ सय कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।