१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
झाङ बेन्झोङ काठमाडाैं
२०७६ असार २७ शुक्रबार ०७:४२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

अमेरिकी राजनीतिमा युवा प्रभाव

राष्ट्रपतिको कार्यकाल सुरु गरेयता ट्रम्पले ल्याएका केही नीतिले अमेरिकी युवाको मागमा बाधा सिर्जना गरेको छ

Read Time : > 2 मिनेट
झाङ बेन्झोङ काठमाडाैं
२०७६ असार २७ शुक्रबार ०७:४२:००

अमेरिकी महिला फुटबल टोलीकी उपकप्तान मेगान रेपिनोई र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुनको अन्त्यतिर देखिएको विवादले यतिवेला धेरैको ध्यान खिचेको छ । रेपिनोईले विश्वकप फुटबलको उपाधि जितेमा ह्वाइटहाउसले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी नहुने बताएकी थिइन् । उनले तेस्रोलिंगी, आमनागरिक तथा आप्रवासीमाथि ट्रम्प प्रशासनको नीतिलाई आफूले समर्थन नगर्ने बताइन् ।

अमेरिकाले विश्वकप जितेपछि ट्रम्पले ट्विटरमार्फत बधाई दिए । त्यसयता, धेरै युवाले रेपिनोईको प्रसंग उठाएर ट्रम्पको विरोध गरेका छन् । सन् २०१८ को अमेरिकी मध्यावधि निर्वाचनमा १८ देखि २९ वर्षका युवाको ठूलो सहभागिता थियो । नतिजा, अमेरिकी कंग्रेसमा युवाको संख्या बढ्यो । यस्तो परिस्थितिमा के युवाले अमेरिकाको राजनीतिक प्रक्रिया र दिशा बदल्न सक्लान् ?अमेरिकी युवा सोच्न खप्पिस छन्, तर बोल्न डराउँछन् । आफ्नो शैक्षिक अनुसन्धान वा करिअर सुरु गरेसँगै राजनीतिक प्रक्रिया बदल्न सक्ने उनीहरूको क्षमता कमजोर भएर जान्छ । 

उनीहरू सन् २००८ को वित्तीय संकटबाट अति प्रभावित छन् । शैक्षिक ऋणको ठूलो दबाब, उच्च बेरोजगारी दर र घट्दो तलबको सिकार भएका युवाले पुँजीवादी प्रणालीको बेफाइदा र सामाजिक असमानतालाई दुःखद रूपमा नियालिरहेका छन् । राष्ट्रपतिको कार्यकाल सुरु गरेयता ट्रम्पले ल्याएका केही नीतिले अमेरिकी युवाको मागमा बाधा सिर्जना गरेको छ । कर कटौती र अनियमितताले ठूला व्यवसायी र धनाढ्यलाई फाइदा पुग्ने धेरैजसो युवाको विश्लेषण छ । ओबामा केयर हटाउने, गर्भपतनविरोधी अभियान र अवैध आप्रवासीमाथिको आक्रमण युवाको माग तथा उदार मूल्य–मान्यताविपरीत छ ।

त्यस्तै, ठूलो संख्यामा युवाहरू वातावरण संरक्षणमा लागेका छन् । उनीहरू पृथ्वी र मनुष्यको भविष्यका विषयमा चिन्तित छन् । पेरिस जलवायु सम्झौताबाट बाहिरिने ट्रम्पको योजना यसविपरीत छ । तसर्थ, ट्रम्पको व्यक्तित्वले राजनीतिमा युवाको माग सम्बोधन गर्न सकिरहेको छैन । अमेरिकी राजनीति र नीतिप्रति युवाको असन्तुष्टि भोटमार्फत झल्किएको छ । टेफ्टस् विश्वविद्यालयको नयाँ अनुसन्धान प्रतिवेदनअनुसार  सन् २०१८ को मध्यावधि चुनावमा (१८ देखि २९ ) वर्ष उमेर समूहका युवामध्ये ६७ प्रतिशतले डेमोक्र्याटिक उम्मेदवारलाई मतदान गरे भने ३२ प्रतिशतले मात्रै रिपब्लिकनलाई । ३५ प्रतिशतको यो मतभिन्नता ऐतिहासिक रहेको अनुसन्धानकर्ताको विश्लेषण छ । 

के युवाले अमेरिकाको राजनीतिक प्रक्रिया र दिशा बदल्न सक्लान् ? अमेरिकी राजनीतिप्रतिको युवा असन्तुष्टि भोटमार्फत झल्किएला त ?

अमेरिकी तल्लो सदन र सिनेटमा बढ्दो संख्यामा रहेका युवाले अमेरिकी युवाको मागलाई राजनीतिक वृत्तमा ल्याइरहेका छन् । उदाहरणका लागि युवाकै मतका बलमा अलेक्ज्यान्द्रिया ओकासियो कोर्टेज अमेरिकी कंग्रेसमा निर्वाचित हुने कान्छी महिला बनेकी छिन् । उनी सन् २०१६ को राष्ट्रपति चुनावमा बर्नी स्यान्डर्सकी सहयोगी थिइन् । उनले पुँजीवादी प्रणालीलाई आशारहित भनेकी छिन् । आप्रवासन तथा ‘कस्टुम्स इन्फोर्समेन्ट एजेन्सी’ खारेज गर्न चाहेकी छिन् । त्यस्तै, पेट्रोल, कोइला, प्राकृतिक ग्यासलगायत इन्धनको उत्पादन १० वर्षभित्र रोक्नुपर्ने वकालत गर्दै आएकी छिन् । यो ट्रम्पको नीतिविरुद्ध छ ।

सञ्चार माध्यममा छाएकी कोर्टेज डेमोक्र्याटिक पार्टीकी स्टार बनिसकेकी छिन् । युवा अमेरिकीको बढ्दो मत डेमोक्र्याटको सबल पक्ष हो । तर, यो लहर कायमै रहन्छ भन्ने अनिश्चित छ । सामाजिक अभियानमा युवा सुरुमा अभ्यस्त देखिन्छन्, तर बिस्तारै उनीहरूको जोस सेलाउँदै जान्छ । सर्वेक्षणअनुसार अल्पसंख्यक युवा अमेरिकी मात्रै आफ्नो मतले सामाजिक प्रणाली बदल्न सक्ने विश्वास गर्छन् । उनीहरूले सानैदेखि राजनीतिक विभाजन र दलहरूबीचको विभेद देख्दै आएका छन्, राजनीतिमा उनीहरूको आत्मविश्वास घटाउन यही पर्याप्त छ । युवाको मत खसाल्ने इच्छा घट्दै गयो र उनीहरू राजनीतिबाट टाढा भए भने अमेरिकी राजनीतिमा उनीहरूको प्रभाव पनि छिटै गुम्नेछ । यस्तो अवस्थामा उनीहरूले चिन्ता गरेका समस्याको समाधान अझै जटिल बनेर जानेछ । 

युवा सक्रिय छन् भन्दैमा उनीहरूको राजनीतिक प्रभावलाई अति आँक्न मिल्दैन ।  अमेरिकी निर्वाचनको कुल आँकडालाई आधार मान्ने हो भने आज पनि युवा मतदाताको संख्या धेरै ठूलो होइन । त्यसैले डेमोक्र्याटिक पार्टीले जित्न चाहन्छ भने अल्पसंख्यक आदिवासी, महिला र बहुसंख्यक श्वेत मतदातामा ध्यान दिन जरुरी छ । सारमा, युवाले हलचल ल्याउन सक्छन्, तर, सोचेजस्तो पकड जमाउन मुस्किल छ । 
(लेखक चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सअन्तर्गत अमेरिकन स्टडिजकी निर्देशक हुन्) (चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सबाट)