मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २७ शुक्रबार ०९:४१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

नेपाली सर्टिफिकेट अफ्रिकामा पनि बिक्री

नेपाली विश्वविद्यालयको विदेशमा समेत बदनामी

Read Time : > 3 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:४१:००

नयाँ पत्रिका फलोअप : 

पूर्वाञ्चल विश्वविद्यालयबाट इन्जिनियरिङको सर्टिफिकेट किनेर दक्षिण अफ्रिकी नागरिकले खाए आफ्नो देशमा सरकारी जागिर

छानबिनपछि पत्ता लाग्यो– रजिस्ट्रारकै इमेलबाट गएको थियो प्रमाणीकरण पत्र

एक अफ्रिकी नागरिकले पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र लिएको भेटिएको छ । दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई–सिई (ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ)को नक्कली सर्टिफिकेट लिएको फेला परेको हो । 

मुलुसेवाको सर्टिफिकेटमा उनले काठमाडौंको सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेजमा अध्ययन गरेको उल्लेख छ । एक्मी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज हो । सर्टिफिकेटमा विश्वविद्यालयको रजिस्टर नम्बर ०१८–३–२–०११०१–२००४ उल्लेख छ भने विश्वविद्यालयका चान्सलरको हस्ताक्षर छ । तर, नाम भने उल्लेख छैन । उनी सन् २००४ मा कलेज भर्ना भएको सर्टिफिकेटमा उल्लेख छ । बिईको आठ सेमेस्टर अध्ययन गरेका उनी ३ अक्टोबर ००८ मा बिई उत्तीर्ण भएको सर्टिफिकेटमा देखिन्छ । 

प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी केदार ढकालले शैक्षिक प्रमाणपत्रको सम्बन्धमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताए । उनले भने, ‘प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धान जटिल भएकाले यस सम्बन्धमा थप नबोलौँ ।’ एक्मी इन्जिनियरिङ कलेजका प्रधानाध्यापक प्रदीप पौडेलले भने तिलाहुन गन मुलुसेवा नाम गरेको विद्यार्थीले आफ्नो कलेजमा अध्ययन नगरेको बताए । उनले भने, ‘अध्ययन गरेको भन्दै एक विद्यार्थीले लिएको शैक्षिक प्रमाणपत्रमा एक्मी इन्जिनियरिङ कलेजको नाम उल्लेख भएको विषयबारे सोधपुछ भएको हो । उक्त नाम गरेको विद्यार्थी कलेजमा कहिल्यै अध्ययन नगरेको भन्दै हामीले पत्र लेखेका छौँ । पछि विश्वविद्यालयकै रजिस्ट्रारको इमेल नक्कली बनाएर संवाद भएकोसम्म थाहा पाएँ । यसबाहेक अरू थाहा भएन ।’

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले विश्वविद्यालयको नामबाट जारी शैक्षिक प्रमाणपत्रमा उल्लेखित विद्यार्थीको रेकर्ड विश्वविद्यालयको नभएको बताए । उनले भने, ‘तिलाहुन गन मुलुसेवाले पियूबाट बिईको शैक्षिक प्रमाणपत्र लिए–नलिएको सम्बन्धमा भेरिफाई गर्न मकहाँ पत्र आएको हो । सोही पत्रअनुसार हामीले प्रमाणपत्रमा उल्लेखित विद्यार्थीको रेकर्ड अध्ययन गर्‍यौँ, तर कतै फेला परेन । त्यसपछि सर्टिफिकेट नक्कली रहेको प्रमाणित भयो । यसमा विश्वविद्यालयकै रजिस्ट्रार प्रमिला थापाको इमेल प्रयोग भएको पाइयो ।’

अनुसन्धानमा संलग्न महाशाखाका एक अनुसन्धान अधिकृतले भने, ‘सुरुमा एउटा मात्रै केस थियो । त्यसैमा केन्द्रित भएर अनुसन्धान गर्दै थियौँ । अहिले अन्य पनि रहस्य खुले । केस निकै जटिल देखिन्छ । यस सम्बन्धमा विश्वविद्यालयलाई समेत पत्राचार गरेका छौँ । जवाफ आएको छैन ।’

रजिस्ट्रार प्रमिला थापा भन्छिन्– मेरो ‘फेक आइडी’ बनाएर मेल पठाएछन्

रजिस्ट्रार प्रमिला थापा

प्रहरीका अनुसार तिलाहुन गन मुलुसेवाले बिई पास गरेको नक्कली सर्टिफिकेट नेपालबाटै लगे । सोही सर्टिफिकेटकै आधारमा उनले दक्षिण अफ्रिकामा आकर्षक जागिर खाए । पछि उनको सर्टिफिकेटविरुद्ध उजुरी पर्‍यो र छानबिन थालियो । सर्टिफिकेट ‘भेरिफिकेसन’ गर्न दक्षिण अफ्रिकी सरकारले भारतस्थित आफ्नो दूतावासलाई पत्र लेख्यो । दूतावासले अध्ययन गर्न भारतकै प्रतिष्ठित अध्ययन केन्द्र ‘एएमएस इन्फर्म’लाई भन्यो । एएमएसले पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयलाई सर्टिफिकेट प्रमाणित गर्न चिठी लेख्यो । त्यसपछि विश्वविद्यालयले अध्ययन थाल्यो । प्रमाणपत्रमा उल्लेखित विद्यार्थी विश्वविद्यालयको रेकर्डमा नभेटिएपछि परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले सोही व्यहोराको पत्र एएमएसलाई लेखे ।

तर, [email protected]  को इमेल आइडीबाट सर्टिफिकेटमा उल्लेखित नाम गरेको विद्यार्थी एक्मी इन्जिनियरिङ कलेजमै अध्ययन गरेको व्यहोराको इमेल एएमएसका प्रतिनिधि बे्रन्डा फ्रोस्टको नाममा गएको अनुसन्धानमा भेटिएको छ । इमेलमा तत्कालीन माओवादीले एक्मी कलेजमा आगो लगाएको र प्रमाणपत्रमा उल्लेखित विद्यार्थीको सम्पूर्ण विवरण आगलागीमा नष्ट भएको उल्लेख छ । मुलुसेवा सन् २००४ मा भर्ना भई २००८ मा पास भएको भन्दै अध्ययन अवधिभर उक्त विद्यार्थी अत्यन्तै मेधावी रहेको इमेलमा उल्लेख छ । 

तर, विश्वविद्यालयका रजिस्ट्रार थापाले भने उक्त इमेल आफ्नो आधिकारिक नभएको दाबी गरिन् । ‘मेरो नाममा कसैले फेक आइडी बनाएर मेल पठाएछन् । त्यो सरासर गलत हो, साइबर अपराध लाग्छ । प्रहरीले पनि यसको अध्ययन गरिरहेको छ । अर्कोतर्फ विश्वविद्यालयको रकेर्डमै सो विद्यार्थी छैन । त्यो जान्दाजान्दै मैले त्यस्तो मेल पठाउने कुरै भएन,’ उनले भनिन् ।

उपकुलपति घनश्यामलाल दास भन्छन्–छानबिन भइरहेको छ, कर्मचारीको मिलेमतो भए कारबाही हुन्छ

दक्षिण अफ्रिकन तिलाहुन गन मुलुसेवाको नाममा विश्वविद्यालयबाट बिई–सिई (ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ)को शैक्षिक प्रमाणपत्र जारी भएको पाइयो । हामीकहाँ उजुरी परे । अनुसन्धानका लागि अन्तरिक रूपमै समिति बन्यो । समितिले अध्ययन गर्‍यो । प्रमाणपत्र नक्कली रहेको पुष्टि भयो । प्रमाणपत्र विश्वविद्यालयबाटै वितरण भएको हो या अन्य निकायबाट हो, त्यस सम्बन्धमा अनुसन्धान गर्ने अधिकार क्षेत्र हाम्रो होइन । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको छ । अनुसन्धान कहाँ पुग्यो थाहा भएन । हामी अनुसन्धान प्रतिवेदन कुरिरहेका छौँ । घटनामा विश्वविद्यालयकै कर्मचारी संलग्न रहेको पाइए कानुनी कारबाही गर्छौँ ।

उपकुलपति प्रा.डा. रौनियार आठ लाख घुससहित पक्राउ

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै अख्तियारले समात्यो

उपकुलपति प्रा.डा. राजकुमार (आरके) रौनियार

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार (आरके) रौनियार आठ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई कार्यकक्षबाटै बिहीबार पक्राउ गरेको हो । प्रतिष्ठानको भवन निर्माणको भुक्तानीका लागि उनले ठेकेदारसँग घुस लिएका हुन् । घुस लिएर रौनियारले भतिज डा. रामहरि रौनियारलाई राख्न दिएका थिए । प्रतिष्ठानमै पढ्ने रामहरिको कोठाबाट घुस रकम बरामद भएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले बताए । 

डा. रौनियार तीन वर्षअघि प्रतिष्ठानमा नियुक्त भएका हुन् । नियुक्तिपछि विभिन्न खरिदमा करोडौँ भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले अनुसन्धान गरिरहेकै वेला उनी रंगेहात पक्राउ परेका हुन् । पैसा खर्च गरेर उपकुलपति नियुक्ति हुने नेतृत्वका कारण प्रतिष्ठानभित्र सधैँ चलखेल हुने गरेको प्रतिष्ठानकै कर्मचारीहरू बताउँछन् । 

अख्तियारले यति उच्च तहको कर्मचारीलाई पक्राउ गरेको पहिलोपटक हो । केही दिनअघि त्रिविका सहायक डिन शम्भु प्रसादलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरी मुद्दा दायर गरेको थियो ।