हिलोमाथि रातो कार्पेट

२०७६ असार २७ शुक्रबार ०७:१६:००

नेपालको सबैभन्दा जेठो विश्वविद्यालय यतिवेला चौतर्फी अप्ठ्यारोमा छ । देशभरि एक हजारभन्दा बढी आंगिक तथा सम्बन्धन प्राप्त कलेजको सञ्जाल, पाँच लाखभन्दा बढी विद्यार्थी र आठ हजारभन्दा बढी प्राध्यापनमा संलग्न जनशक्ति । देशभर हजारौँ एकड जमिनसहितका पूर्वाधार । विक्रमको ०२० को दशकपछि लगभग सबैजसो सरकार प्रमुख या नीति निर्माता यहीँबाट उत्पादन भएर गएका छन् ।

सरकार चलाउने मात्र होइन, विश्वविद्यालय चलाउने, संस्थान चलाउने, पार्टी चलाउने, समग्रमा देशै चलाउने सबैजसो यसैका उत्पादन हुन् । अहिले पनि यसलाई विश्वका एक हजार विश्वविद्यालयमध्ये आठसयौँ नम्बरमा परेको साख प्राप्त छ । र, पनि यसको चर्चा एउटा समस्याग्रस्त घोषित हुन लागेको निजी बैंक या व्यापारिक कम्पनीको जस्तो हुन लागेको छ, जसको सेयर रातारात ढुन्मुनिएर झर्छ ।

समाचार माध्यमहरू, चिया पसलका कुराकानी र सामाजिक सञ्जालमा विश्वविद्यालयको दुर्गतिबारे चर्चा हुन्छन् । विश्वविद्यालयका पदाधिकारी छाती खोलेर यसको प्रतिरक्षा र गर्व गर्न सक्दैनन् । यहीँ अध्यापन गर्ने, यसैको तलब खाने, यसैले दिएको प्रमाणपत्रका आधारमा आफ्नो योग्यताको विज्ञापन गरेर बजारमा भाउ खोज्नेहरूसमेत यसको निर्धक्क प्रशंसा गर्दैनन् । यस्तो वातावरण दिएका छन्, विश्वविद्यालयका सम्बन्धमा पछिल्ला वर्षमा आउने अनेक समाचारले ।

अनेक काण्ड र उदेक लाग्दा घटनाका शृंखलाले । यसका अनुसन्धान केन्द्रहरू बूढो भएर हाँगा नै सुक्न थालेको बूढो सिमलको रूखजस्ता जीर्ण छन् । त्यहाँ पदाधिकारी नियुक्त हुन्छन् (त्यो पनि त्यसप्रतिको लगावले होइन, राजनीतिक भागबन्डामा परेर), तलब नियमित खान्छन् र अनुसन्धानका लागि बजेट नभएको भन्दै झिँगा धपाएर बस्छन् । अचम्म के छ भने तलब दिएको जागिर र पदका लागि हो, काम गर्ने हो भने थप सुविधा चाहिन्छ भन्ने लाजमर्दो अवधारणा यहाँ वर्षौैंदेखि जीवित छ ।

रातो कार्पेटले हिलो छोपेर प्रधानमन्त्रीलाई कार्यक्रमस्थलमा जान–आउन सुविधा बनाउँदैमा त्रिभुवन विश्वविद्यालयको कणकणमा फैलिएको धुलो सफा हुँदैन

पछिल्लो समय सरकारले विनाअध्ययन धमाधम विश्वविद्यालय थप्दै छ । त्यस्ता विश्वविद्यालय त्रिविबाटै अंश लिन पाउने गरी जन्मेका हुन् कि झैँ गरी यसैको सम्पत्तिमा लुछाचुँडी गर्छन् । प्राज्ञिक पठनपाठनको अवस्था र स्तर कतिसम्म निर्लज्ज ढंगले चलाइन्छ भन्ने त नेपाल ल क्याम्पसमा मुस्किलले तीन सय विद्यार्थीलाई पठनपाठन गराउन सक्ने पूर्वाधार छ, जहाँ एकै वर्षमा १२ हजार विद्यार्थीलाई भर्ना लिइन्छ । मुस्किलले हजार विद्यार्थीलाई पढाउन सक्ने त्रिचन्द्र क्याम्पसको नेतृत्व तीन हजार विद्यार्थीलाई भर्ना गर्न तयार हुन्छ । ४० वटाजति विज्ञान विषयको पढाइ हुने कलेज छन् । तर, प्रयोगशालाको अवस्था दयनीय छ ।

एउटा फिजिक्स या केमेस्ट्री अथवा जीवविज्ञान पढ्ने विद्यार्थी राम्रोसँग प्रयोगशाला र त्यहाँका सामान नदेखीकनै उत्तीर्ण भएर जान्छ र ऊ नै मावि या उच्च माविमा विज्ञान पढ्ने नयाँ पुस्ता हुर्काउन पुग्छ । विश्वविद्यालयलाई आफन्त भर्नाको थलो बनाउनेहरू मात्र होइन, विश्वविद्यालयलाई वनको चरो ठानेर ढुंगा टिपेर हान्दै हिँड्नेहरू यतिखेर सबैभन्दा बढी बलशाली छन् । ती प्राध्यापक संगठनका नाममा, विद्यार्थी संगठनका नाममा, कर्मचारी संगठनका नाममा र राजनीतिक दलका कार्यकर्ताका नाममा विश्वविद्यालयको अस्मिता लुट्न जन्मेका जस्ता देखिन्छन् ।

विश्वविद्यालय आफैँमा जेजति समस्याग्रस्त छ, त्यसलाई सपार्न नसकिने होइन । बनाउन नसकिने गरी विघटनउन्मुख पनि होइन । तर, त्यसका लागि कमसेकम नेतृत्व लिनेहरूमा साहस र इमानदारी चाहिन्छ । तिनले बुझे हुन्थ्यो, रातो कार्पेटले हिलो छोपेर प्रधानमन्त्रीलाई कार्यक्रमस्थलमा जान–आउन सुविधा बनाउँदैमा विश्वविद्यालयको कणकणमा फैलिएको धुलो सफा हुँदैन । 

 

सम्बन्धित समाचार