मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ असार २७ शुक्रबार ०७:१५:००
Read Time : > 4 मिनेट
राजनीति

सरकारको वार्षिक समीक्षामा मन्त्रालयगत ब्रिफिङ

सचिवहरूले प्रधानमन्त्रीलाई सुनाए उपलब्धिको फेहरिस्त

Read Time : > 4 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ असार २७ शुक्रबार ०७:१५:००

गृहको प्रगति– सबै स्थानीय तहमा प्रहरी चौकी र सबै जिल्लामा सशस्त्रको गण, भौतिकको उपलब्धि – जयनगर–जनकपुर–कुर्था ३५ किमि रेललाइन, असोजसम्ममा रेल चल्छ

सरकारले चालू आर्थिक वर्षको नीति तथा बजेट कार्यान्वयनको समीक्षा सुरु गरेको छ । समीक्षामा सबै मन्त्रालयले वर्षभरि भएका उपलब्धि प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । उनीहरूले ६ घन्टा लगातार चालू वर्षको प्रगति विवरणबारे ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बिहीबारबाट सुरु समीक्षामा १९ मन्त्रालयले चालू आर्थिक वर्षका उपलब्धि सुनाए । शुक्रबार ब्रिफिङ सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनात्मक मन्तव्य प्रस्तुत गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

सचिवहरूले सुनाएका अधिकांश उपलब्धिहरू मन्त्रालयका नियमित कामहरू छन् । शिक्षा मन्त्रालयले विद्यालयमा निःशुल्क किताब वितरण गरेको र केही जिल्लालाई साक्षरता उन्मूलनको घोषणालाई उपलब्धिका रूपमा लिएको छ । त्यस्तै, गृह मन्त्रालयले प्रगति विवरणका रूपमा सबै स्थानीय तहमा प्रहरी चौकी पुर्‍याएको र सबै जिल्लामा सशस्त्रको गण पुर्‍याएको विषय उल्लेख गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयले ९ सय १५ किमि सडक कालोपत्रे भएको प्रगति विवरण पेस गरेको छ । जयनगर–जनकपुर–कुर्थामा ३५ किमि रेललाइन तथा रेल्वे स्टेसन तयार भएको र आगामी असोजसम्ममा रेल सञ्चालन हुने पनि जनाएको छ ।

कुन मन्त्रालयले के उपलब्धि सुनाए ?
ऊर्जा,जलस्रोत तथा सिँचाइ

  •  चालू आर्थिक वर्षमा १ सय ९५ मेगावाट विद्युत् थप उत्पादन भई नेपालको विद्युत् उत्पादन १ हजार ३ सय २५ मेगावाट पुगेको ।
  •  थप ४ लाख २० हजार घरधुरीमा विद्युतीकरण 
  •  जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत तीन जलविद्युत् आयोजनामा जनताको सेयर सुनिश्चित 
  •  नेपाल भारतको प्रतिस्पर्धात्मक विद्युत् बजारमा सहभागी हुन पाउने समझदारी सम्पन्न । बंगलादेशमा बिजुली निर्यात गर्न सकिने गरी दुई देशबीच सीधा प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी अध्ययनको सहमति ।

भौतिक पूर्वाधार तथा यातायात

  •  चालू वर्षमा ९ सय १५ किमि सडक कालोपत्रे, १ हजार ५० किमि ग्राभेलस्तरको सडक, ३ सय १५ किमि पुल निर्माण ।
  •  जयनगर–जनकपुर–कुर्था (३५ किमि) रेललाइन तथा रेल्वे स्टेसन तयार भई आगामी असोजसम्ममा सञ्चालन हुने । 
  •  रक्सौल–काठमाडौं (१३५ किमि) र काठमाडौं – रसुवागढी (७२ किमि) रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार 

कृषि तथा पशुपन्छी

  •  अघिल्लो वर्षको तुलनामा चालू वर्षमा खसीबोका आयात ४६.९ प्रतिशतले घटेको

खानेपानी 

  •  ५ सय २६ वटा खानेपानी आयाजनाहरू सम्पन्न भई २ लाख ८० हजार ८३९ जनसंख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित । 
  •  मन्त्रालयमातहतका विभिन्न निकायबाट १८ वटा ठूला खानेपानी आयोजना सम्पन्न भई २ लाख २३ हजार ९९१ जनसंख्या उच्च र मध्यमस्तरका खानेपानी सेवाबाट लाभान्वित भएको ।

सञ्चार तथा सूचना प्रविधि

  •  सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने कार्य अन्तिम चरणमा  । 
  •  ६ करोड ३२ लाखको पत्रकार वृत्ति कोष स्थापना, राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना भई सञ्चालनमा आएको ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 

  •  विभिन्न क्षेत्रमा गुरिल्ला ट्रेल र यार्सा ट्रेल  ६८ किमि  निर्माण सम्पन्न 
  •  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नतिअन्तर्गत धावनमार्गको विस्तार गर्ने कार्य ६० प्रतिशत सम्पन्न, २१ घन्टा विमानस्थल सञ्चालनमा 
  •  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ७३, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा ४२ प्रतिशत प्रगति ।

उद्योग, वाणिज्य तथा आपूर्ति

  •  पेट्रोलियम पदार्थ  ढुवानी गर्ने ट्यांकर ट्रकमा इन्धनको परिमाण मापन गर्न हेटौँडामा दैनिक १५ वटा ट्यांकर ट्रक क्यलिब्रेसन क्षमताको पूर्वाधार निर्माण गरी सञ्चालन गरिएको ।
  •  टिमुरेमा चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु, सिन्धुपाल्चोकको लार्चामा सुख्खा बन्दरगाह निर्माण सम्पन्न भई तातोपानी नाका खुलेको ।
  •  मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण कार्य सम्पन्न । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

  •  भू–उपयोग क्षेत्र वर्गीकरण, नक्सांकन र सोसम्बन्धी ऐन तर्जुमा, नापनक्सा र भू–सूचना प्रविधिमा अत्याधुनिक प्रविधिको सुरुवात
  •  सगरमाथा आरोहण, उचाइ मापनको फिल्ड कार्य सम्पन्न ।

वन तथा वातावरण

  •  २ हजार ४४ हेक्टर अतिक्रमण हटाई वनको पुनस्र्थापना ।
  •  ४ हजार हेक्टर क्षेत्रफल वृक्षारोपण गर्ने लक्ष्य लिइएकामा ४ हजार १ सय हेक्टर  वृक्षारोपण भएको ।
  •  राजस्व संकलन १ अर्ब १८ करोड तथा कोष, समिति, संस्थानले गरेको आम्दानी १ अर्ब ३८ करोड रहेको ।

शिक्षा, विज्ञान तथा प्रविधि

  •  ५६ लाख ३८ हजार २ सय ७० विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण, ५१ जिल्लालाई साक्षर घोषणा तथा थप ८ जिल्ला साक्षर घोषणाको तयारीमा ।

स्वास्थ्य तथा जनसंख्या

  •  स्वास्थ्य बिमा गर्नेको संख्या १८ लाख नाघेको,
  •  हरेक प्रदेशमा कम्तीमा एक विशिष्टीकृत सेवासहितको अस्पताल रहने नीतिअनुरूप ५ अस्पतालहरू (कोसी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रीय अस्पताल संघीय सरकारअन्तर्गत रहने गरी विशिष्टीकृत सेवासहितको सेवा सञ्चालन गर्ने गरी तृतीय तहको अस्पतालमा स्तरोन्नति । 
  •  खोप सेवा प्राप्त गर्ने जम्मा बालबालिकाको संख्या (३ लाख ३९ हजार ७ सय ९७) । 

महिला, बालबालिका तथा  ज्येष्ठ नागरिक

  •  राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम १४ जिल्लाबाट २९ जिल्लामा विस्तार । 
  •  मानव बेचविखन तथा ओसारपसारमा परेका ३११ नेपालीलाई भारत र म्यानमारबाट उद्धार तथा स्वदेश फिर्ता गरिएको ।

युवा तथा खेलकुद

  •  १ अर्ब ४६ करोड ८० लाख ५० हजार कर्जा लगानी गरी ११ हजार ८ सय ७९ जना स्वरोजगार भएका । 
  •  ३ हजार ६ सय ७२ जना व्यवसायीहरूलाई ४ करोड २ लाख ७९ हजार ब्याज अनुदान । 
  •  मूलपानी क्रिकेट रंगशालामा १२ सय ६५ मिटर लामो बाउन्ड्री वाल निर्माण कार्य सम्पन्न भएको

संघीय मामिला तथा सामान्य प्रशासन

  •  संघमा ३९ हजार ५ सय ३३,  प्रदेशमा १३ हजार ७ सय ९० तथा स्थानीय तहमा ३१ हजार ७ सय ८ सहित ९९ हजार ५ सय ७२ जना कर्मचारीहरू समायोजन भैसकेको 

परराष्ट्र

  •  दोस्रो बिआरआई फोरमबाट नेपाल–चीन क्रस बोर्डर रेलवे लाइनमा समावेश 
  •  तातोपानी नाका कार्गो ढुवानीका लागि सञ्चालनमा आएको
  •  नेपाल–चीन ट्रान्जिट ट्रान्सपोर्ट प्रोटोकलमा हस्ताक्षर, बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता, 
  •  बहुपक्षीय बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न, कन्सुलर प्रमाणीकरण सेवा आधा घन्टामा उपलब्ध गराइएको

रक्षा

  •  काठमाडौं–तराई र मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य आयोजनाको डिपिआर तयार गर्ने कार्य स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको । 
  •  राष्ट्रिय सुरक्षा नीति, २०७५ स्वीकृत भई कार्यान्वयनमा आएको ।
  •  शान्ति सेनामा भाग लिन जाने सकल दर्जाका सैनिकहरूको छनोट प्रक्रियालाई थप निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन मिति नयाँ ‘शान्ति सेना छनोट कार्यविधि, २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ।

गृह

  •  राष्ट्रिय परिचय पत्र व्यवस्थापनसम्बन्धी रणनीतिक योजना तर्जुमा गरी लागू गरिएको । राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली स्थापना गर्ने प्रथम चरणको कार्य सम्पन्न गरी ८० हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको ।
  •  ७२३ स्थानीय तहको केन्द्रमा नेपाल प्रहरीका एकाइहरू रहेकामा यस वर्ष ३० स्थान थप गरी ७५३ स्थानीय तहमा नै विस्तार गरी शान्तिसुरक्षाको व्यवस्था मिलाइएको ।
  •  सशस्त्र प्रहरी बल नेपालका गण एवं गुल्महरू ५६ स्थानमा थप गरी हाल ७७ जिल्लामा विस्तार गरी मुलुकको शान्ति सुव्यवस्थालाई थप सुदृढ र प्रभावकारी तुल्याइएको ।
  •  १ सय ७ स्थानमा बोर्डर आउटपोस्ट स्थापना गरी सञ्चालनमा ल्याइएको ।  
  •  केन्द्रीय कारागार अस्पताल १५ शय्याबाट ३० शय्यामा स्तरोन्नति गरिएको । नख्खुमा १५  शय्याको मानसिक अस्पताल निर्माण कार्य अन्तिम चरणमा रहेको ।