१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हेलिप्याड नहुँदा रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकाको जाङमा बारीमा अवतरण गरेको हेलिकोप्टर ।
२०७६ असार २७ शुक्रबार ०७:१५:००
Read Time : > 1 मिनेट
समाचार

सडक नपुगेका ठाउँमा  बिरामी उद्धार गर्न हेलिप्याड

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०७:१५:००

रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकाले सडकको पहुँच नपुगेका स्थानमा हेलिप्याड निर्माण गर्ने भएको छ । आगामी वर्षका लागि गाउँसभामा पेस गरेकोे नीति तथा कार्यक्रममा सडक नपुगेका ठाउँमा हेलिप्याड निर्माणलाई प्राथमिकता दिने प्रस्ताव छ । १४ वडा रहेकामा गाउँपालिकाका ९ वटा वडामा अझै पनि यातायातको पहुँच पुग्न सकेको छैन ।

गाउँपालिकाका वडा नम्बर १०, ११, १२, १३ र १४ मा मात्र सडक पुगेको छ । भौगोलिक रूपमा विकट सबै वडामा सडक पु-याउन समय लाग्ने भएकाले गाउँपालिकाले हेलिप्याडलाई प्राथमिकता दिएको जनाएको छ । गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले तत्कालै सबै वडामा सडक पु-याउन सम्भव नभएकाले हेलिप्याड निर्माण गर्ने योजना बनाएको बताए । 

उनका अनुसार चालू आर्थिक वर्षमा वडा नम्बर ५ को हुकाममा हेलिप्याड निर्माण गरिएको छ । पाँच लाख ५० हजारमा हेलिप्याड निर्माणको जिम्मा दिइएको उनले बताए । अब आगामी आर्थिक वर्षमा गाउँपालिकाका थप ठाउँमा हेलिप्याड निर्माण हुने गाउँपालिका अध्यक्ष घर्तीको भनाइ छ । क्रमशः सडक नपुगेका वडाका नागरिकहरूलाई समेट्ने गरी हेलिप्याड निर्माण गर्ने योजना रहेको उनले बताए । 

जोखिममा रहेका गर्भवती, सुत्केरी र बिरामीको उद्धार गर्ने लक्ष्य
सडक सञ्जालमा नजोडिएका कारण बर्सेनि जोखिममा रहेका गर्भवती, सुत्केरी महिला र अन्य बिरामीहरूले ज्यान गुमाउने गरेका छन् । जोखिममा रहेका बिरामी तथा गर्भवती र सुत्केरी महिलाको उद्धार गर्ने उद्देश्यका साथ सडकको पहुँच नपुगेका ठाउँमा हेलिप्याड निर्माण गर्न लागिएको हो । अहिले पनि हेलिकोप्टरबाट उद्धार गर्ने गरेको छ । 

तर, सबै ठाउँमा हेलिकोप्टर अवतरणका लागि पर्याप्त ठाउँ नहुँदा समस्या हुँदै आएको छ । जसका कारण ढिलाइ हुँदा बिरामीको ज्यानसमेत जाने गरेको छ । हेलिप्याड निर्माण गरिएपछि बिरामीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्न सहज हुने देखिएको छ । सरकारले जोखिममा रहेका सुत्केरी र गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धारको नीति लिएको छ । जुन कार्यक्रमअन्तर्गत जिल्लाका गर्भवती र सुत्केरी महिलाहरूले पनि सेवा पाएका छन् । 

सडक गुरुयोजना बन्ने 
गाउँपालिकाले सबै वडामा सडक पु-याउनका लागि यातायात तथा सडक गुरुयोजना बनाउने भएको छ । यसका साथै गाउँपालिकामा हुने सम्पूर्ण विकास निर्माणमा जनसहभागितालाई पहिलो प्राथमिकता दिने गरी नीति, कार्यक्रममा प्रस्ताव छ ।

गाउँपालिकाले आगामी वर्ष कृषि सडक, ग्रामीण सडक, घोरेटो बाटो तथा झोलुंगे पुल, गाउँस्तरीय खेलकुद मैदान निर्माण, व्यावसायिक तालिम सञ्चालन गरी युवालाई स्वरोजगार बनाउने, स्वास्थ्य संस्थाका भवन, उपचारमा प्रयोग हुने सामग्री र जनशक्तिको थप व्यवस्थापन गर्ने, दुर्गममा रहेका वडा कार्यालयको भवन निर्माणका साथै उत्तरगंगा नदीमा ९ सय ९७ किलोवाट क्षमताको जलविद्युत् आयोजना पनि सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाले भौतिक संरचना निर्माणलाई नै प्रमुख प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए । दुर्गममा रहेका कारण आधारभूत संरचनाहरूसमेत बन्न नसकेको अवस्थामा विद्यालय भवन, स्वास्थ्य चौकी भवन, वडा कार्यालय भवन, टेलिफोन टावर विस्तारलगायतका संरचनालाई प्राथमिकता दिएको उनको भनाइ छ । यसका साथै गाउँपालिकाले सडक निर्माणलाई पनि प्राथमिकता दिने भएको छ । 

धेरै नागरिकहरू अझै पनि यातायातको पहुँचबाट टाढा रहेका कारण सडक निर्माणलाई पनि आगामी वर्षका लागि प्राथमिकतामा राखिएको अध्यक्ष घर्तीले जानकारी दिए । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि झन्डै ३७ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष ०७६/७७ का लागि गाउँपालिकाले ३६ करोड ८० लाख ५१ हजारको बजेट ल्याएको हो ।