मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २७ शुक्रबार ०७:०२:००
Read Time : > 1 मिनेट
प्रदेश

मुडे–शैलुङ सडक दुई वर्षमा कालोपत्रे हुने

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०७:०२:००

दोलखाको पर्यटकीय क्षेत्र शैलुङ प्रवेश गर्ने मुख्य मार्ग मुडे– बाघखोर–शैलुङ सडक दुई वर्षमा सम्पन्न हुने गरी सम्झौता भएको छ । ३ नम्बर प्रदेश सरकारको सहयोगमा सिन्धुपाल्चोकको मुडे बजारदेखि दोलखाको शैलुङ गाउँपालिका ३ स्थित कालापानीसम्मको सडक दुई वर्षभित्र कालोपत्रे हुने भएको हो । 

प्रदेश सरकारअन्तर्गतको सिन्धुपाल्चोकस्थित पूर्वाधार विकास कार्यालयले आह्वान गरेको ठेक्काअनुसार दुई वर्षभित्र कालोपत्रे हुनेछ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर रबिन खातीका अनुसार  मुडेदेखि ढुंगेसम्मको साढे १६ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता भएको छ । इन्जिनियर खातिले उक्त आयोजनाको डिपिआर तयार गरी टेन्डर प्रक्रियासमेत पूरा भई निर्माण व्यवसायी छनोट भइसकेको जानकारी दिए । 

इन्जिनियर खातीका अनुसार उक्त सडक निर्माणको जिम्मा महालक्ष्मी, कञ्चनजंगा शुभकामना जेभिले पाएको छ । झन्डै ८ मिटर फराकिलो हुने सडकमा पाँच मिटर कालोपत्रे हुनेछ । मुडे–मेलुङ सडकखण्डअन्तर्गत मुडेदेखि देउरालीसम्म १० किलोमिटर र देउरालीबाट शैलुङको ढुंगेसम्म ६ दशमलव पाँच किलोमिटर गरी साढे १६ किलोमिटर बाटो कालोपत्रे हुने भएपछि स्थानीय खुसी भएका छन् । शैलुङ गाउँपालिका–३ का वडाध्यक्ष रामेश्वर उप्रेतीले यसअघि पटकपटक उपेक्षामा परेको शैलुङ क्षेत्रमा प्रदेश सरकारले महत्वपूर्ण  पर्यटकीय सडक योजना निर्माण कार्य अघि बढाउँदा शैलुङ क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । 

बहुवर्षीय आयोजनाको रूपमा ठेक्का सम्झौता
मुडे–बाघखोर कालापानी सडकलाई बहुवर्षीय सडक आयोजनाको रूपमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका इन्जिनियर खातीले बहुवर्षीय आयोजनाको रूपमा ठेक्का सम्झौता भएको जानकारी दिए । उनले पर्यटकीय सडक भएकाले बहुवर्षीय आयोजनाको रूपमा विकास गरिएकोे प्रतिक्रिया दिए । प्रदेश सरकारअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयबाट बहुवर्षीय सडक आयोजनाको रूपमा विकास गर्न सहमति भएअनुरूप ठेक्का सम्झौता भएको जानकारी दिए ।

सिन्धुपाल्चोक र दोलखा कार्यक्षेत्र भएको पूर्वाधार विकास कार्यालयले दुवै जिल्लाका लागि उक्त आयोजना निकै महत्वपूर्ण हुने जनाएको छ । डिपिआर गरिएको झन्डै २० किलोमिटर सडकमध्ये शैलुङको ढुंगे क्षेत्रको झन्डै तीन किलोमिटर सडकमा भौगोलिक समस्या देखिएकाले तत्काललाई उक्त खण्डबाहेकको साढे १६ किलोमिटर खण्डमा कालोपत्रे हुने जनाइएको छ ।  
अस्फाल्ट प्रविधिको कालोपत्रे हुने
पूर्वाधार विकास कार्यालयका अनुसार उक्त सडकमा अस्फाल्ट प्रविधिका कालोपत्रे हुनेछ । उक्त प्रविधि निकै खर्चिलो तर टिकाउ हुने सडक विभागका अधिकारीहरूले जनाएका छन् । इन्जिनियर खातीका अनुसार उच्च हिमाली क्षेत्र भएकाले पनि उक्त प्रविधि जरुरी भएको हो । सडकको डिजाइन त्यसैअनुसार बनाइएको छ । उक्त प्रविधि राजधानी काठमाडौंका सडकहरूमा धेरै प्रयोग भए पनि बाहिरी जिल्लामा कम प्रयोग हुने गरेको छ । 

३१ करोड ७५ लाखमा ठेक्का सम्झौता
कार्यालयले उक्त सडक निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीसँग ३१ करोड ७५ लाख रुपैयाँमा सम्झौता गरेको छ । उक्त रकम बहुवर्षीय आयोजनाका रूपमा खर्च हुने गरी निकासा हुने कार्यालयले जनाएको छ । इन्जिनियर खातीका अनुसार उक्त सडकमा प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि १० करोड विनियोजन गरिसकेको छ ।  उनका अनुसार सम्झौतामा उल्लेख भएजति रकम वार्षिक रूपमा प्रदेश सरकारअन्तर्गतको भौतिक योजना मन्त्रालय निकासा गर्नेछ ।