मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ असार २७ शुक्रबार ०६:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

शिक्षकको कुटाइबाट विद्यार्थी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन

विद्यालयका अध्यक्ष, प्रिन्सिपलसहित पाँचजनाका नाममा जाहेरी

Read Time : > 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ असार २७ शुक्रबार ०६:४३:००

भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँचजनाका नाममा किटानी जाहेरी परेको छ । माधवका मामा पुष्पमणि जोशीले बिहीबार विद्यालयका अध्यक्ष निरञ्जनप्रसाद बोहरा, प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय लक्ष्मणप्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ज्यानसम्बन्धी कसुर मुद्दा दायर गरेका हुन् । 

भान्जालाई प्रिन्सिपलको कार्यकक्षमा अध्यक्ष बोहराकै सामु प्रिन्सिपलसहित शिक्षकले कुटपिट गरेको भन्दै ज्यान मुद्दा दर्ता गरेको जोशीले जानकारी दिए । ‘मेरो भान्जालाई शिक्षकले सामूहिक कुटपिट गरेका हुन्,’ उनले भने, ‘त्यसैले हेर्ने, आदेश दिने र कुट्नेविरुद्ध किटानी जाहेरी गरेको हुँ ।’ 

छानबिन सुरु
जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका पाँचैजनामाथि छानबिन सुरु गरेको छ । कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले किटानी जाहेरीका आधारमा पक्राउ परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा, प्रिन्सिपल जोशी, शिक्षकत्रय भट्ट, पाठक र जाग्रीको म्याद थप गरिएको बताए । ‘आदालतबाट सातदिने म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी प्रमुख पाण्डेयले भने, ‘घटनाको छानबिन भइरहेको छ ।’  विद्यालयबाहिर साथीभाइसँग झैँझगडाको विषयलाई लिएर माधवलाई प्रिन्सिपलकै कार्यकक्षमा कुटपिट गरिएको थियो ।

परिवारले शव बुझ्न मानेन

कुटपिट भएको १२औँ दिनमा १४ वर्षीय बालक माधवको उपचारका क्रममा भारतको राममूर्ति अस्पतालमा मृत्यु भएको थियो । उनी कक्षा ९ मा अध्ययनरत थिए । कलौनीको मृत्यु भएको तीन दिनसम्म पनि परिवारले शव बुझ्न मानेका छैनन् । न्याय नपाएको भन्दै पीडित परिवारले शव बुझ्न नमानेका हुन् ।

भारतीय सरकारी अस्पतालमा पोस्टमार्टम गरेर बुधबार महाकाली अञ्चल अस्पतालमा कलौनीको शव राखिएको छ । भारतमा गरिएको पोस्टमार्टमको रिपोर्ट भने आएको छैन ।  माधवका बाबु वृहस्पति कलौनीले न्याय नपाइन्जेलसम्म शव नबुझ्ने बताए । ‘जबसम्म न्याय पाइँदैन, तबसम्म शव बुझ्दैनौँ,’ उनले भने, ‘मैले मेरो छोरोलाई ठूलो बनाउने सपना बोकेको थिए, तर शिक्षकले चकनाचुर बनाइदिए ।’