मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
घोराही उपमहानगरपालिका–१८ मा अल्लो व्यवसाय गर्दै आएका महिला
२०७६ असार २६ बिहीबार ११:५३:००
Read Time : > 1 मिनेट
प्रदेश

अल्लो व्यवसाय संकटमा

Read Time : > 1 मिनेट
२०७६ असार २६ बिहीबार ११:५३:००

जिल्लामा अल्लो व्यवसाय संकटमा पर्दै गएको छ । महिलाले दाङका विभिन्न स्थानमा अल्लोको धागोबाट उत्पादन गरेका सामग्रीका लागि बजार अभाव भएको र विदेशी सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा अल्लो व्यवसायको बिक्री–वितरण घटेको हो । दंगाली अल्लो उत्पादन समूहकी सचिव घोराही उपमहानगरपालिका–१८ की प्रभा ओलीले अपेक्षा गरेअनुसार अल्लो व्यवसायमा सफलता हासिल गर्न नसकेको बताइन् ।

‘एक समय अल्लो व्यवसायतर्फ आकर्षण बढ्दै गएको थियो । खासगरी घरायसी कामकाजमा व्यस्त रहने महिला यो व्यवसाय घरमै बसेर पनि गर्न सकिने भएकाले आत्मनिर्भर बन्दै गएका पनि थिए,’ सचिव ओलीले भनिन्, ‘तर, अहिले व्यवसाय संकटमा पर्दै गएको छ । लगानीअनुसारको प्रतिफल प्राप्त नहुँदा व्यवसायी तथा पेसामा संलग्न अन्य व्यक्ति निराश बन्न थालेका छन् ।’

घोराहीमा मात्र ६ समूह 
दाङमा ०६५/६६ देखि नै अल्लोको व्यावसायिक उत्पादन तथा पर्वद्धन  सुरु भएको हो । सचिव ओलीका अनुसार रुकुम–रोल्पाबाट दाङ झरेका मगर समुदायका महिला तथा पुरुषले सुरुवाती समयमा अल्लो व्यवसाय गरेका थिए । पछिल्लो समयमा दाङका विभिन्न स्थानमा बसोवास गर्दै आएका अन्य समुदायका स्थानीयले पनि यो व्यवसायप्रति चासो र रुचि बढाउँदै गएका थिए । घोराही उपमहानगरपालिकामा मात्र अल्लोका विभिन्न सामग्री निर्माणसँग सम्बन्धित ६ वटा समूह क्रियाशील छन् । समूहमा एक सय १६ महिला आबद्ध छन् । समूहभन्दा बाहिर र जिल्लाका अन्य स्थानमा पनि अल्लोको व्यवसाय गर्नेको संख्या उल्लेख्य रहेको सचिव ओलीको भनाइ छ ।
अल्लोका आधुनिक सामग्री 
जिल्लाका अल्लोसम्बन्धी व्यवसायीले परम्परागत राडीपाखी मात्र नभएर आधुनिक सामान पनि उत्पादन गर्दै आएका छन् । घोराही–१८ की अल्लो व्यवसायी सरिता विश्वकर्माका अनुसार अहिले अल्लोको धागोबाट ज्याकेट, कोट, पाइन्ट, टोपीजस्ता कपडा तथा जुत्ताचप्पललगायत सामग्री निर्माण हुँदै आएका छन् । विगतमा हातले बनाउँदा सबै किसिमका सामग्री निर्माण गर्न नसकिए पनि अहिले मेसिनको प्रयोगले सम्भव भएको छ । तर पनि विदेशी सामान जति मुलायम र मसिनो आकार दिन नसक्दा बिक्री–वितरणमा समस्या भएको विश्वकर्माले बताइन् । 

यसरी टार्न सकिन्छ संकट
सचिव ओलीका अनुसार नेपालका पूर्वी जिल्ला संखुवासभालगायत स्थानमा दाङको भन्दा थप परिष्कृत सामग्री उत्पादन हुँदै आएका छन् । जिल्लामा सानो पुँजीका व्यवसायी भएकाले अध्ययन–अवलोकन गर्न नपाएको र परिष्कृत मेसिन किन्न नसक्दा समस्या भएको उनले बताइन् । ‘संकटमा पर्दै गएको अल्लो व्यवसायलाई उठाउन सकिन्छ । त्यसका लागि साना पुँजीका व्यवसायीलाई राज्यले लगानी गरी अध्ययन–अवलोकन र मेसिन किन्नमा सघाउनुपर्छ,’ उनले भनिन् । महिलालाई आत्मनिर्भर बनाउने हो भने घरमै बसेर पनि गर्न सकिने यस्ता व्यवसायमा राज्यको लगानी बढ्नुपर्ने उनको भनाइ छ ।