पूर्वाधार विकासमा प्रदेश  सरकार प्रतिबद्ध : मुख्यमन्त्री

रामायण सर्किट निर्माणबारे छलफल

२०७६ असार २६ बिहीबार ११:२७:००

नेपाल र भारतका लागि महत्वपूर्ण मानिएको रामायण सर्किट परियोजनाको विषयमा दुई देशबीच छलफल भएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आयोजना गरेको ‘रामायण सर्किटका लागि पूर्वाधार विकास’ विषयक कार्यक्रममा नेपाल र भारतका सरोकारवालाहरूले रामायण सर्किट दुवै देशका लागि फाइदाजनक रहेको बताए । उनीहरूले छिटोभन्दा छिटो सर्किट निर्माण हुनुपर्ने बताए ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले यस क्षेत्रको पर्यटकीय विकासमा रामायण सर्किट कोसेढुंगा सावित हुने बताए । उनले  पूर्वाधार विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

रामायण सर्किट धार्मिक र पर्यटकीय रूपमा महत्वपूर्ण रहेको उनले बताए । नेपाल र भारतबीचको सम्बन्धका साथै त्रेतायुगीन सभ्यताको झझल्कोसमेत दिने भएकाले दुवै देशका केन्द्रीय सरकारले यसको निर्माणमा चासो दिनुपर्ने उनले बताए । 

‘नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई जनजनको सम्बन्ध परापूर्वकालदेखि चल्दै आएको छ । यो सम्बन्धलाई राजनीतिक सिमांकनले छेक्ने काम कहिँकतैबाट हुनुहुँदैन, बरु यस्ता धार्मिक तथा ऐतिहासिक सम्बन्धलाई झन बलियो बनाउनुपर्छ,’ उनले भने । करोडौँ हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिन नसकेको मुख्यमन्त्री राउतले गुनासोसमेत गरे ।

जानकी मन्दिरलाई विश्वमा चिनाउन प्रदेश सरकार सक्रिय रहेको उनले  बताए । कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले जनकपुर क्षेत्रको विकासका साथै धनुषाधामको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । 

कार्यक्रममा भारत सरकारका पूर्वमन्त्री डा. सञ्जय पासवानले रामायण सर्किटको निर्माणको लागि भारत सरकार तत्पर रहेको बताए । ‘हामी रामायण सर्किट निर्माणमा लागि तत्पर छाैं,’ उनले भने, ‘नेपाल सरकारले पनि त्यसको लागि पहल गर्नु आवश्यक छ ।’ कार्यक्रममा रामायण सर्किटका अध्यक्ष डा. रामवतार शर्मा, प्रदेश सभा सदस्य रामआशिष यादव, साधवी हेमलतालगायतका उपस्थिति रहेको थियोे ।

सम्बन्धित समाचार