मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २ बिहीबार
  • Thursday, 15 April, 2021
२०७६ असार २६ बिहीबार १०:४०:००
Read Time : > 2 मिनेट
नयाँCity

ड्रिम सिटीका कथा खोज्दै युवा

Read Time : > 2 मिनेट
२०७६ असार २६ बिहीबार १०:४०:००

यतिवेला थापाथलीदेखि टेकु दोभानसम्म बागमतिको किनारै–किनार के होला ? वर्षामा धमिलो बाढी कहिले बढ्छ र सडक किनारसम्म आइपुग्छ । कहिले घट्छ । सडक हिलाम्मे छ । चर्को घाम लागेको वेला फोहोरको दुर्गन्ध आउँछ । यति सुनसान छ कि दिउँसो एक्लै हिँड्दा डर लाग्न सक्छ ।

यही ठाउँमा युवाको एक समूह हरेक दिन कथा खोजिरहेको छ । यो समूह थापाथलीदेखि टेकु दोभानसम्म तीन किलोमिटर क्षेत्रमा सक्रिय छ । उनीहरू यहाँका सांस्कृतिक सम्पदा र सामाजिक कथा खोजिरहेका छन् । जसको अन्त्यसम्ममा कसैले इन्टरनेटमा खोजी गरे यो ठाउँको कथा हेर्न सक्नेछन् ।

नेपालका धेरै ठाउँबारे इन्टरनेटमा कुनै जानकारी पाइँदैन । हाम्रा ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रचार हुनै सकेको छैन । त्यसकारण, ‘ड्रिम सिटी’ अहिले यिनै सम्पदाका कथा खोज्दै छन् । यी कथा सम्बन्धित ठाउँको नक्सांकनसहित इन्टरनेटबाट प्रचार गरिने ड्रिम सिटीका सुशील ढकालले बताए ।

ड्रिम सिटीमा तीन युवा सक्रिय छन् । सुशीलसहित प्रिजुन कोइराला र सौरभ ढकाल । काठमाडौंमा अहिले सुशील र प्रिजुन सक्रिय छन् । उनीहरू दुवै इन्जिनियर हुन् । तर, फरक विषय पढेका छन् । सुशील कम्प्युटर इन्जिनियर हुन् । प्रिजुन आइटी इन्जिनियर हुन् । उनी ग्राफिक डिजाइन, वेबसाइट डिजाइनको काम पनि गर्छन् । ड्रिम सिटीको वेब डिजाइन उनले नै गरेका हुन् । तीन वर्षदेखि यो समूहमा रहेर आफूले पढेको विषयलाई सिर्जनात्मक बनाएको प्रिजुनले बताए ।

अहिले उनीहरू दिउँसै डर लाग्ने थापाथलीदेखि टेकु दोभानसम्म बागमतीको किनारको क्षेत्रमा काम गरिरहेका छन् । त्यहाँको सांस्कृतिक सम्पदा अवलोकन गर्दै हिँड्ने बाटोलाई चलनचल्तीमा ल्याउन आधा दर्जन पर्यटक गाइडलाई प्रशिक्षण दिइसकेको प्रिजुनले बताए । उनले भने, ‘त्यो क्षेत्रमा तपाईं  एक्लै हिँड्नुभयो भने मसानघाटजस्तो लाग्छ, तर, हामीसँग हिँड्नुभयो भने वसन्तपुर हिँडेजस्तै हुनेछ, हामी त्यस क्षेत्रको ऐतिहासिक कथासहित घमाउछौँ ।’ उनीहरूले थापाथलीमा रहेको पार्कलाई पनि चेसपार्कका रूपमा चिनाएका छन् ।

उनीहरूले सबैभन्दा पहिला सिन्धुलीको ऐतिहासिक हरिहर गढीको कथा बनाए । कथा सार्वजनिक भएपछि त्यहाँ आन्तरिक पर्यटक बढेको उनीहरूको दाबी छ । अहिले त्यहाँ व्यवस्थित पदमार्ग र सिन्धुलीगढी जोड्ने साइकल ट्र्याक खुलेको छ । रिसोर्ट पनि बनिसकेको छ । 

आफूहरूको उद्देश्य युवाको सहभागितामा विभिन्न तहका सरकारले गर्ने कामलाई सघाउनु मात्र भएको सुशीलले बताए । त्यसकारण, आफूहरूले स्थानीय जानकारसँग छलफल गरेर मात्र काम गर्ने गरेको उनको भनाइ छ । उनीहरूले स्थानीय सरकारसँग पनि समन्वय गर्ने गरेका छन् । अनि मात्र सो ठाउँको नक्सांकन गरेर कथासहित प्रस्तुत गर्ने गरिन्छ । उनीहरूले गरेको काम ड्रिमसिटीको वेबसाइटमा पनि हेर्न सकिन्छ । 

युवाको एउटा समूह थापाथलीदेखि टेकु दोभानसम्म तीन किलोमिटर क्षेत्रमा सक्रिय छ । उनीहरू यहाँका सांस्कृतिक सम्पदा र सामाजिक कथा खोजिरहेका छन्, जसको अन्त्यसम्ममा कसैले इन्टरनेटमा खोजी गरे यो ठाउँको कथा हेर्न सक्नेछन् ।
 

त्यसो त स्थानीय सरकारले आफ्नै  महत्वपूर्ण सम्पदाको नक्सांकन गरेका छैनन् । स्थानीय सरकारले गरेका काम परम्परागत प्रकारका छन् । त्यस्ता योजना बनाउँदा सीमित नेता बस्ने र कहाँ कुलो बनाउने, कहाँ सडकका लागि डोजर चलाउने भन्ने छलफल हुन्छ । कुनै पनि योजना बनाउँदा स्थानीय युवासँग छलफल हुँदैन । तर, विकासका आधुनिक अवधारणा युवाहरूसँग हुन्छ ।

कुनै पनि योजनामा स्थानीय युवाको सहभागिता हुनुपर्छ भन्ने अवधारणाले ड्रिमसिटी प्रोजेक्ट सुरु भएको सुशील बताउँछन् ।स्थानीयसँग काम गर्दा उनीहरूले आफ्नो ठाउँमा के रहेछ, कस्तो सम्पदा रहेछ अथवा आफूसँग भएको स्रोत के–के हुन् भन्ने थाहा पाउँछन् । केही ठाउँमा काम गरिइसकेपछि आफूहरूको अवधारणा स्थानीयले मन पराएको सुशीलको भनाइ छ । 

प्रिजुनका अनुसार स्थानीय युवासँग त्यहाँको कथाका लागि छलफल हुँदा नयाँ विचार आउन सक्छन् । नयाँ योजना आउन सक्छन् । तिनका कार्यान्वयनका लागि स्थानीय सरकारसँग मिलेर त्यहीँका युवाले काम गर्न सक्छन् । अथवा स्थानीय सरकारले नसके व्यवसायीसँग समन्वयमा गर्न सकिन्छ । प्रिजुन भन्छन् ‘हामी हाम्रो गाउँ तथा सहरलाई प्रवद्र्धन गर्न चाहान्छौँ । त्यसका लागि स्थानीय युवासँग नै सहकार्य गर्छौं । हामी ती ठाउँबारे जानकार भएपछि स्थानीय युवालाई त्यससम्बन्धी जानकारी दिएर योग्य बनाउँछौँ ।’