१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २६ बिहीबार १०:११:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता

सामसङ प्लाजाले  इलेक्ट्रिक सामग्रीको बजार परिवर्तन गर्‍यो 

Read Time : > 4 मिनेट
२०७६ असार २६ बिहीबार १०:११:००

गोल्छा अर्गनाइजेसनअन्तर्गतको हिम इलेक्ट्रोनिक्सले १५ वर्षअघि सामसङ ब्रान्डका इलेक्ट्रोनिक सामानको बृहत् सोरुम खोल्ने उद्देश्यअनुरूप काठमाडौंको दरबारमार्गमा सामसङ प्लाजा नामक सोरुम सञ्चालनमा ल्यायो । बुधबार ललितपुरको पुल्चोकमा खुलेको सोरुमसहित अहिले कम्पनीका सोरुम १४ वटा पुगेका छन् । सामसङ डिजिटल प्लाजा खुल्दा नेपालमै कुनै पनि कम्पनीकोे आधुनिक र व्यवस्थित सोरुम थिएन । डिलरमार्फत सामान्य पसलमा राखेर सीमित मोडेल बिक्री हुने गर्थ्यो । अत्याधुनिक सोरुम सञ्चालनमा ल्याउने सोच थियो कम्पनीकी निर्देशक सीमा गोल्छाको । भारतको दिल्ली युनिभर्सिटीमा अध्ययन गरेकी सीमाले दिल्लीबाटै एड्भर्टाइजिङ एन्ड मार्केटिङको अध्ययन गरेकी छन् । लन्डन स्कुल अफ इकोनोमिक्सबाट एमबिए गरेकी उनले विदेशी अध्ययन र अनुभवलाई नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रमा लगाइन् । उनीसँग सामसङ डिजिटल प्लाजालगायत विषयमा नयाँ पत्रिकाका सुदीपकुमार ढुंगानासँग गरेको कुराकानी :

सीमा गोल्छा
निर्देशक, हिम इलेक्ट्रोनिक्स

इलेक्ट्रिोनिक्सका सामग्रीको माग सीमित रहेको समयमा नेपालमै पहिलो एक्सक्लुसिभ सोरुम खोल्ने सोच कसरी आयो ?
त्योवेला इलेक्ट्रोनिक्सको बजार भनेको न्युरोड मात्र थियो । दरबारमार्गमा मैले राम्रो सोरुम खोल्ने निर्णय गरेपछि स्थान मिलेन भनेर धेरै गुनासा पनि सुन्नुपर्‍यो । तर, ठाउँ चयन खासै नराम्रो भएन । मैले विदेशमा अधिकतम बिक्री मूल्य तोकेर राखिएका ठूला सोरुम देखेको थिएँ । नेपालमा अधिकतम बिक्री मूल्य ग्राहकले देख्नेगरी लेखिएको इलेक्ट्रोनिक्स सोरुम थिएन । त्यसैले नेपालमा पनि यस्तै सोरुमको भविष्य छ भन्ने लागेर सुरुवात गरेकी हुँ । त्यस्तै सानो पसलमा गएर पसलेले देखाएको सामान किन्नुपर्ने बाध्यताबाट ग्राहकलाई मुक्त गर्नुपर्छ र छनोटको अवसर दिनुपर्छ भन्ने सोचेर सामसङ डिजिटल प्लाजा सुरु गरेकी हुँ । 

तपाईंले आधुनिक सोरुमको सुरुवात गरेपछि अरूले पनि अनुकरण गरे । प्रतिस्पर्धा कस्तो रह्यो ?
प्लाजा सुरु भएको केही समयपछि अरू पनि आए । प्रतिस्पर्धा बढ्छ भन्ने थाहा थियो र हामी तयार पनि थियौँ । प्रतिस्पर्धा बजारका लागि राम्रो कुरो हो । यसले बजारको विकास हुन्छ । तपाईंले बिक्री गर्ने वस्तु गुणस्तरीय छ भने प्रतिस्पर्धासँग डराउनुपर्दैन । 

अस्वस्थ प्रतिस्पर्धा र अवैध आयातले बजारमा कत्तिको समस्या परेको छ ? 
हो । यसले एकदमै चित्त दुख्छ । ग्राहकलाई गलत सूचना दिएर सही मूल्य नराखेर गरिने प्रतिस्पर्धा अहिलेको समस्या हो । तर, अहिले सूचनाप्रविधिको व्यापकताले त्यो खासै सहज छैन । मानिसले कुन सामान कति राम्रो हो भनेर इन्टरनेटबाटै थाहा पाइहाल्छन् । अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै अवैध आयात हो । हामी पूरै सरकारी नियमअनुसार राजस्व तिरेर सामान आयात गर्छौँ । अवैध आयातकर्ताले विभिन्न क्षेत्रमा राजस्व छलेको हुन्छ । त्यसैले अवैध आयात प्रतिस्पर्धाका लागि ठूलो समस्या हो । 

अवैध आयातको समस्या समाधानका लागि के गर्नुपर्ला ?

अहिलेको समस्या भनेको अवैध आयात हो । अवैध आयातकर्ताले विभिन्न क्षेत्रमा राजस्व छलेको हुन्छ । यसले देशलाई त घाटा हुन्छ नै प्रतिस्पर्धामा समेत समस्या पारेको छ । 


यसका लागि हामीले धेरै प्रयास गरेका छौँ । सामसङ कम्पनीसँग पनि धेरैपटक छलफल भएको छ । अहिले अवैध आयातसँग लड्ने हतियार भनेको सामानमा दिने वारेन्टी र आप्mटर सेल सर्भिस हो । अवैध आयातका सामान खरिद गर्दा काम गरेन भने बनाउन पनि सहज हुँदैन र ठूलो घाटा बेहोर्नुपर्ने हुन्छ । जस्तै, साउदी अरेबियाको बिजुली र नेपालको बिजुलीमा नै फरक छ । त्यहाँ भोल्टेज तल–माथि हुँदैन । तर, नेपालमा यो समस्या सामान्य हो । त्यसैले हामीले यहाँ ल्याउने टिभीको सर्किट र साउदी अरेबियामा बिक्ने टिभीको सर्किटमा ठूलो फरक छ । तर, के गर्नु किनेर ल्याउनेले बुझ्दैनन् । अनि घाटा बेहोर्छन् । साउदी अरेबिया उदाहरण मात्र हो । विकसित देशमा चलाउन बनाएको टिभी भोल्टेजको अनियमितताकै कारण नेपालमा लामो समय टिक्दैन । त्यस्तै बेलायतका लागि बनेको इलेक्ट्रोनिक्समा क्षेत्रअनुसारको कोड हुन्छ । यस्ता सामानबारे हामीले बुझाउने कोसिस गरिरहेका छौँ । 

अहिले सोरुममा गएर हेर्नेभन्दा पनि अनलाइन सपिङ गर्ने क्रम बढेको छ । अनलाइन बजारका सन्दर्भमा तपाईंहरूको तयारी कस्तो छ ?
हामीले समय चिन्नुपर्छ । अबको समय भनेको अनालाइन ट्रेडिङ नै हो । समय र परिवर्तित प्रविधिअनुसार चल्न नसक्ने धेरै कम्पनी हराएर गए । हामी समयअनुसार चल्छौँ । यदि भविष्यबारे नसोचे हामी पनि खत्तम हुन्छौँ । त्यसैले हामीले धेरै अनलाइन सेल्स कम्पनीसँग सम्झौता गरेका छौँ । उनीहरू कहाँ अर्डर आउँछ र हामी सप्लाई दिन्छौँ । तर, नेपालमा अहिले पनि इलेक्ट्रोनिक सामान सोरुममै गएर हेरेर अनुभव गरेर बुझेर मात्र किन्ने प्रचलन छ । त्यसैले नेपालमा सोरुमबाट ग्राहकलाई छनाएर इलेक्ट्रोनिक सामान बिक्री गर्ने क्रम अझै धेरै लामो समय चल्छ भन्ने लाग्छ । 

पुल्चोकमा सामसङ डिजिटल प्लाजाको उद्घाटनपछि सामग्री अवलोकन गर्दै गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा तथा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छालगायत । सामसङका सामग्री एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले हिम इलेक्ट्रोनिक्सले बुधबारदेखि डिजिटल प्लाजा सञ्चालन गरेको हो । योसँगै देशभर सामसङ डिजिटल प्लाजाको संख्या १४ पुगेको छ ।   

वैदेशिक रोजगारीमा जानेले त्यही देशमा सिटी एक्सप्रेसमार्फत रकम पठाएर नेपालमै सामसङ टिभी लिन पाउने योजना ल्याउनुभएको छ । यो अवधारणा कसरी ल्याउनुभयो ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्कने वा बिदामा आउने प्रायः सबैजसोले ट्रलीमा एउटा टिभी राखेर ल्याएको देख्दा मलाई दिक्क लाग्थ्यो । नेपालमा टिभी नै नपाइनेजस्तो वा नेपालीले वैदेशिक रोजगारी गएर गर्ने उपलब्धि नै टिभीजस्तो देखिने । त्यसलाई कसरी हटाउने भन्ने सोच आउन थाल्यो । त्यसबारे सामसङसँग पनि कुरा गरेँ । पहिले नेपाल र विदेशमा टिभीको मूल्यमा ठूलो अन्तर थियो । अहिले त्यति छैन । करिब १५ प्रतिशतसम्म मात्र फरक होला । तर, उनीहरूले ल्याएको टिभीमा वारेन्टी, आफ्टर सेल सर्भिसजस्तो सुविधा पाउँदैनन् । यहाँबाट लिएको टिभीमा त्यो पाइन्छ । त्यसैले हामीले सिटी एक्सप्रेसमार्फत पैसा पठाएपछि यहाँ हामीले टिभी डेलिभरी दिने योजना ल्यायौँ । त्यसले विदेशी मुद्रा पनि नेपाल भित्रने भयो । रेगुलेसन पनि भयो । ल्याउँदा टुट्नेफुट्ने डर पनि भएन । हामीले पनि समानान्तर बजारसँग कम लडे पुग्ने भयो । यो भर्खर सुरु भएको छ । हेरौँ आउँदा दिनले कस्तो काम गर्छ । 

बिक्रीपछिको सेवा र काठमाडौँबाहिर बिक्री सञ्जाल कस्तो छ ? 
३२ इन्चभन्दा बढीको टिभीमा हामीले होम डेलिभरीको सुविधा दिएका छौँ । त्यस्तै, वासिङ मेसिन, रेफ्रिजेरेटर, एसीजस्ता ठूला सामानमा होम डेलिभरी दिएका छौँ । त्यस्तै, वासिङ मेसिनमा इन्स्टलेसन र चलाउने तरिका सिकाउँछौँ । कुनै उपभोक्ताले सामान किनेपछि हामीले दिने सेवाका कारण मैले राम्रो सामान किनेँछु भन्ने महसुस हुने गरी बिक्रीपछिको सेवा दिइरहेका छौँ । १५ वर्ष पहिले दरबारमार्गमा स्थापना भएको एउटा सोरुम अहिले १४ वटामा पुगेको छ । त्यस्तै हामीसँग ठूलो सर्भिस सेन्टर छ । जहाँ उपभोक्ताको घरमै मर्मत गर्न नसकिएको सामान मर्मत हुन्छ । काठमाडौंभन्दा बाहिर ६ वटा सामसङ डिजिटल प्लाजा सञ्चालनमा छन् । बुटवल, नेपालगन्ज, पोखरा, चितवन, धरान, बिर्तामोडमा आफ्नै सोरुम राखिसकेका छौँ । 

अहिले सामसङको इलेक्ट्रोनिक्स बजारमा हिस्सा कस्तो छ ?
अहिले इलेक्ट्रोनिक्सको वार्षिक बजार ९ अर्बको हो । त्यसमा टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन हाम्रा लागि ठूलो प्रोडक्ट हो, जसअनुसार अहिले हिम इलेक्ट्रोनिक्सले २ अर्ब ८० करोडजतिको कारोबार गरिरहेको छ । अर्थात् हाम्रो मार्केट सेयर ३० देखि ३५ प्रतिशतको हो । 

कम्पनीको अबको योजना के छ ?
अब काठमाडौंबाहिरका मुख्य–मुख्य अन्य सहरमा पनि प्लाजा खोल्ने योजना छ । त्यस्तै, अबको सञ्जाल प्रादेशिक संरचनालाई ध्यान दिएर बनाउनुपर्छ । साथै, अनलाइन बजारमा दरिलो उपस्थिति हाम्रो योजना हो । हामी बजारको मागअनुसार नै चल्छौँ । 

इलेक्ट्रोनिक्स सामान खरिदमा महिलाको निर्णय अधिकार कत्तिको पाउनुभएको छ ?
मैले काम गरेको १५ वर्षमा गरेको अनुभव भनेको पहिले सबै कुराको खरिदमा पुरुष नै हाबी थिए । सबै कुराको छनोट र खरिदको निर्णय पुरुषले नै गर्दथे । तर, अहिले महिला सक्रियता बढेको छ । अहिले महिला र बच्चाको निर्णयले समेत काम गर्छ । किनकि प्रविधिको बारेमा बच्चा बढी सचेत छन् । 

महिला व्यवसायी भएको नाताले महिला सशक्तीकरणबारे पनि काम गर्नुभएकै होला ?
मेरो सबै टिम महिलाको छ । मैले काममा महिलालाई मात्र साथ लिएकी छु । म्यानेजर, असिस्टेन्ट म्यानेजर, फाइनान्स हेड, मार्केटिङ, सेल्स टिमलगायत सबै महिला नै छन् । नेपालमा इलेक्ट्रोनिक्स कारोबारमा महिला सक्रिय भएको देखिँदैन । उनीहरू ब्युटिपार्लर, बुटिक्स, स्कुल, नर्सिङमा छन् । तर , मैले महिलालाई सक्रिय बनाउनुपर्छ भनेर पूरा टिम नै महिलाको बनाएको छु । त्यसैबीच हामीले दुईवटा विद्यालयका ५० जना बालिकालाई अध्ययनको पूरा जिम्मा लिएका छौँ । त्यस्तै, चितवनमा पनि महिला सशक्तीकरणका लागि ३० जना महिलालाई प्रौढ शिक्षा दिइरहेका छौँ । उनीहरूले आफैँ पत्रपत्रिका पढेको देख्दा आनन्द आउँछ । यो सशक्तीकरणको सुरुवात हो । गएको १५ वर्षमा हामीले कुनै ठूलो पार्टी वा भोज आयोजना गरेनौँ । समाजसेवा गर्दा जुन आनन्द आउँछ, भोजमा त्यो आनन्द कहाँ छ र । म जोन्टामा पनि छु र जोन्टाको काम नै महिला सशक्तीकरण हो । 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका