मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २६ बिहीबार ०९:३७:००
Read Time : > 1 मिनेट
खेलकुद

न्युजिल्यान्ड फेरि फाइनलमा

Read Time : > 1 मिनेट
२०७६ असार २६ बिहीबार ०९:३७:००

न्युजिल्यान्ड लगातार एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । न्युजिल्यान्डले बुधबार भारतलाई १८ रनले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । अब न्युजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको विजेताविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सन् २०१५ को विश्वकप फाइनलमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो । मंगलबार म्यानचेस्टरमा भएको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रोकिएको थियो । बुधबार दोस्रो दिनमा न्युजिल्यान्डले रोकिएको स्थानबाटै पुनः ब्याटिङ गर्‍यो । 

भारत दुई सय २१ रनमा अलआउट
न्युजिल्यान्डले जितका लागि भारतसमक्ष आठ विकेट गुमाएर दुई सय ३९ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा भारतले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २१ रन जोड्यो । इनिङको एक समय भारत ९२/६ को नाजुक स्थितिमा थियो । त्यसपछि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले सातौँ विकेटका लागि एक सय १६ रनको साझेदारी गर्दै भारतलाई २०८÷७ को स्थितिमा राखे । दुवै ब्याट्सम्यानले उत्कृष्ट लयमा बलिङ गरिरहेका न्युजिल्यान्डका बलरविरुद्ध डटेर खेले । 

 जडेजाको प्रयास
भारतको इनिङमा सातौँ विकेटका लागि शतकीय साझेदारी हुँदा जडेजाले नै धेरैजसो स्ट्रोक लिए । धोनी जतिसक्दो जडेजालाई स्ट्रोक दिलाउने प्रयासमा रहे । जडेजा आउट भएपछि धोनीले अन्तिमतिर स्ट्रोक लगाउन कोसिस गरेका थिए । तर, उनी ४८.३ ओभरमा मार्टिन गुप्टिलको उत्कृष्ट थ्रोमा सीधै रनआउटको सिकार भए । जडेजाले ५९ बलमा समान चार चौका र छक्का प्रहार गर्दै सर्वाधिक ७७ रनको योगदान दिए । धोनीले ७२ बलमा समान एक चौका र छक्काको मद्दतमा ५० रन जोडे । 

तीन बलर चम्किए
वर्षाले प्रभावित खेलमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी तथा सान्टनरले उत्कृष्ट स्पेल गरे । हेनरी र बोल्टले पहिलो १० ओभरमा भारतीय ब्याट्सम्यानमाथि चर्को दबाब राखेका थिए । बोल्टले ४२ रन खर्चिएर दुई विकेट लिए । सान्टनरले ३४ रन दिँदै दुई विकेट नै हात पारे । हेनरीले ३७ रन खर्चिएर तीन विकेट हात पार्दा ओपनर लोकेश राहुल, रोहित शर्मा र ऋषभ पन्तलाई आफ्नो सिकार बनाए । न्युजिल्यान्डको बलिङमा पाँच ओभर मेडन भएको थियो । 

११ बलमा चार विकेट
भारतले अन्तिम चार विकेट केवल ११ बलको अन्तरमा गुमाएको थियो । जडेजा आउट हुँदा भारतलाई ११ बलमा ३१ रन चाहिएको थियो । तर, बोल्ट, फर्गुसन तथा निसिमले महत्वपूर्ण समयमा धोनी, भुवनेश्वर र युज्वेन्द्र चाहलको विकेट लिँदै न्युजिल्यान्डलाई दोस्रोपटक विश्वकपको फाइनलमा पुर्‍याए । सो खेलमा न्युजिल्यान्डका बलरले १६ अतिरिक्त रन दिएका थिए । यसअघिको ब्याटिङमा न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ तथा टेलोरले ७४ रनको योगदान दिएका थिए । 

 हेनरी म्यान अफ द म्याच
भारतका मुख्य तीन ब्याट्सम्यानलाई आउट पारेका हेनरी सेमिफाइनल खेलको म्यान अफ द म्याच घोषित भए । हेनरीले नयाँ बलमा राम्रो स्विङ हुँदा नै पहिलो स्पेल उत्कृष्ट रहेको बताए । ‘हामी सबैले खेल्न चाहेका थियौँ, विकेटको कन्डिसन राम्रो थियो र दोस्रो इनिङमा बल निकै स्विङ भयो,’ हेनरीले भने ।