१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. उषा झा काठमाडाैं
२०७६ असार २६ बिहीबार ०९:२७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

प्राज्ञिक रूपमा भ्रष्ट विश्वविद्यालय

उदेकलाग्दो के छ भने, नयाँ विश्वविद्यालय पनि त्रिविले गरेको गल्तीलाई नजिरको रूपमा स्थापित गर्दै आफ्नो गल्तीलाई चोख्याउन लागिपरेका छन् 

Read Time : > 4 मिनेट
डा. उषा झा काठमाडाैं
२०७६ असार २६ बिहीबार ०९:२७:००

विश्वविद्यालय विद्यार्थीसँग जोडिएको हुन्छ । विद्यार्थीको पढ्ने वातावरण निर्माणका लागि नै विश्वविद्यालयमा नियम, कानुन निर्माण भएका हुन्छन् । हाल सबै नियम कानुन छन्, तर विश्वविद्यालय सञ्चालनको प्रक्रिया हेर्दा लाग्छ, यो विद्यार्थीमुखी नभएर सत्तामुखी छ । यदि विश्वविद्यालयको नियम, कानुन र प्रक्रिया विद्यार्थीमुखी हुन सकेको भए पदाधिकारीले विद्यार्थीका लागि सोच्ने थिए । ती पदाधिकारीले विद्यार्थीको राम्रो भविष्यका लागि असल शैक्षिक अवस्था निर्माण गर्ने थिए ।

डा. उषा झा

विश्वविद्यालयमा अध्ययन र अध्यापनका क्रममा अनेकौँ अनुसन्धान सञ्चालन गर्ने थिए, तर दुःखसाथ भन्नुपर्छ यो सबै विश्वविद्यालयको प्राथमिकतामा पर्न सकेन ।विश्वविद्यालयको प्राथमिकतामा शैक्षिक अवस्था नभएर सत्तालाई खुसी पार्ने चरित्र हावी छ । आफ्नो पद र कुर्सी कसरी जोगाउन सकिन्छ, पदमा भएसँगै जे मन लाग्यो त्यो कसरी गर्न सकिन्छ भन्ने मानसिकता विश्वविद्यालयका पदाधिकारीमा छ । विश्वविद्यालयका बारेमा बहस गर्दै गर्दा यो कुनै एक विश्वविद्यालयको हकमा भनिएको होइन । यो चरित्र अधिकांशको हकमा लागू हुन्छ । भन्नुको अर्थ, अधिकांश विश्वविद्यालय प्राज्ञिक रूपमा भ्रष्ट छन् । उनीहरूले प्राज्ञिक मर्म कायम गर्न सकेका छैनन् । यही मेरो अनुभव हो । जोसुकै होस्, ऊ कुनै सार्वजनिक पदमा छ भने, उसको भूमिका, दायित्व र जिम्मेवारी के हुन्छ भन्नेबारे उसले सोच्नुपर्दैन ?

तर, विश्वविद्यालयका भिसी, रेक्टर, रजिस्ट्रार, प्रोफेसर, रिडर सबै मानिस होइन, मेसिन भइसकेका छन् । मेसिन भइसकेको मान्छेले सिर्जनात्मक काम कसरी गर्ला ? मेसिन भइसकेको मान्छेले दायित्व कसरी बहन गर्ला ? मेसिन भइसकेको मान्छेले विद्यार्थीको कल्याणमा कसरी भूमिका निर्वाह गर्ला भन्ने नै आजको प्रश्न हो । तर, अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा प्रतिबद्धताको ठूलो भूमिका हुन्छ । यहाँ त के गरेर विश्वविद्यालयको गरिमा र प्रतिष्ठा बढ्छ भन्ने नै सूचीबद्ध गरिएको छैन । मात्र एउटा ठूलो भवन हामीले देखेका छौँ । अनि त्यहाँ शिक्षकको संख्या बढेको बढ्यै देखेका छौँ । 

विश्वविद्यालयहरू अहिले सम्बन्धनका लागि मरिमेटेर लागेका छन् । सम्बन्धनको उपादेयता के, आवश्यकता के भन्नेबारे उनीहरूले खासै गृहकार्य गरेको देखिँदैन । विश्वविद्यालय अनुदान आयोग, मन्त्रालयमा पनि त्यही देखिन्छ । विश्वविद्यालयका विषयमा कैयौँ अन्तरक्रिया हुने गर्छन्, तर त्यहाँ पनि मैले सोचेजस्तो जवाफदेहिता र विश्वविद्यालय बनाउने सोच देख्न सक्दिनँ ।

पदाधिकारीको एउटै भनाइ छ– विश्वविद्यालय स्वायत्त संस्था हो । यो स्वायत्त भन्ने शब्दको के अर्थ हो मैले बुझ्न सकेकी छैन । स्वायत्त भनेको छाडापन नभएर कानुनको पालना गर्ने र इमानदार हुने हो । तर, अहिले स्वायत्त शब्दको अर्थ जे मन लाग्छ त्यही गर्न पाउनुपर्छ भन्नेसँग जोडिएको छ । त्यसैले यसलाई सही ढंगले परिभाषित गर्न छाता ऐन आवश्यक छ । ११ वटा विश्वविद्यालयको आफ्नै सेवा आयोग, आफ्नै कानुन छ । तर, के त्यसले काम गरेको छ ? यसमा कसैले पनि सकारात्मक जवाफ दिन सक्दैनन् । 

विश्वविद्यालयका भिसी, रेक्टर, रजिस्ट्रार, प्रोफेसर, रिडर सबै मानिस होइन, मेसिन भइसकेका छन् । मेसिन भइसकेको मान्छेले सिर्जनात्मक काम कसरी गर्ला ? मेसिन भइसकेको मान्छेले दायित्व कसरी बहन गर्ला ? मेसिन भइसकेको मान्छेले विद्यार्थीको कल्याणमा कसरी भूमिका निर्वाह गर्ला भन्ने नै आजको प्रश्न हो ।
 

नयाँ विश्वविद्यालय, जसले केही राम्रो अभ्यास गर्लान् भनेर अपेक्षा गरिएको थियो, तिनमा पनि कहीँ प्रगति छैन । ती निरन्तर ध्वस्त हुँदै गइरहेका छन् । झनै उदेकलाग्दो विषय के छ भने अधिकांश विश्वविद्यालयले त्रिविले गरेको गल्तीलाई नजिरको रूपमा स्थापित गर्दै आफ्नो गल्तीलाई चोख्याउन लागिपरेका छन् । उनीहरूबीच साना केटाकेटीको खेलजस्तै भिसी, रेक्टर, रजिस्ट्रारका बीच मनमुटावको अवस्था छ ।

यो सबै प्रतिनिधि घटना हो । तर, समग्रमा हाम्रो विश्वविद्यालयलाई चिहाउने यी आँखीझ्याल हुन् । पदाधिकारीबीचको मनमुटावले संस्थाको मर्यादा नास भइरहेको छ, तर उनीहरू आफ्नो अहंलाई प्रधान ठानिरहेका छन् । उदाहरणका लागि भिसीले एक थोक गर्न चाहन्छ, तर रजिस्टार अर्कै थोक गर्न चाहन्छ । जबकि यस्तो गर्न स्वयं उनीहरूले नै बनाएको ऐन नियमले दिँदैन । समग्रमा विद्यार्थीका लागि सोच्नुपर्ने विश्वविद्यालयले सोच्ने काम नै गर्न सकेको छैन ।   

योजना आयोगको सदस्य भएपछि मैले तीनवटा विश्वविद्यालयको छानबिन गरेकी छु, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय । यिनको छानबिनका क्रममा म साँच्चै दुःखी भएकी छु । त्यहाँका पदाधिकारी विद्यार्थीलाई आफ्नो सन्तानसरी किन ठान्दैनन् भन्ने प्रश्न गर्ने गरेकी छु । उनीहरूबीच सानो–सानो विषयमा विवाद छ । जसको मारमा विद्यार्थी नराम्रोसँग फसेका छन् । कतिसम्म भने मलाई उसले मर्यादा गर्नुपर्ने, तर गरेन भनेर दुई पक्षबीच झगडा छ । ब्याचलर पासलाई सह–रजिस्ट्रार बनाइएको छ ।

झगडाले एक–अर्कालाई कालोमोसो दल्ने घटनासमेत भएका छन् । यसले विश्वविद्यालयको मानसिकतालाई नै नराम्रो गरी दूषित पारेको छ । विश्वविद्यालयको जिम्मेवार व्यक्ति भिसी, रजिस्ट्रार नै हो । तर, मैले यी तीनवटै विश्वविद्यालयमा उहाँहरूलाई गैरजिम्मेवार पाएकी छु । जसले गर्दा विश्वविद्यालयको छवि त डुबेको छ नै, उहाँहरूको आफ्नो व्यक्तित्वसमेत धुमिल भएको छ । उहाँहरू एक–अर्काबीचमै भागाभागको अवस्था छ । कार्यालयमा बस्न सक्ने स्थिति छैन । काठमाडौंमा एउटा कोठामा बसेर भर्ना गर्ने, परीक्षा लिने र सम्बन्धन दिने काम भइरहेको छ । समग्रमा उहाँहरूले आफ्नो संस्थालाई पवित्र संस्था बनाउन सक्नुभएको छैन । 

त्यस्तै, उहाँहरूले सामुदायिक विद्यालयलाई आंगिक क्याम्पसमा रूपान्तरण गर्ने क्रममा प्रमाणपत्रको प्रामाणिकतासमेत नहेरी काम गर्नुभएको छ । सम्बन्धन दिने, आफ्नै ढंगले शिक्षक नियुक्त गर्ने, तथा सेवा आयोगसँग समन्वय नै नगरेको देखिएको छ किनभने सेवा आयोगका पदाधिकारीसँग बोलचाल नै छैन । सेवा आयोगका पदाधिकारी काठमाडौंको एउटा कोठामा बसेर काम गर्छन् भने अर्को पक्ष अर्कै कोठामा बसेर काम गरिरहेको हुन्छ । त्यस्ता कोठाबाट सम्बन्धन दिने, शिक्षक नियुक्त गर्ने र ठेक्कापट्टा पनि आफैँ लिने चलन छ । सबैमा अनियमितता छ ।

विश्वविद्यालयको प्राथमिकतामा शैक्षिक अवस्था नभएर सत्तालाई खुसी पार्ने चरित्र हावी छ । आफ्नो पद र कुर्सी कसरी जोगाउन सकिन्छ, पदमा भएसँगै जे मन लाग्यो त्यो कसरी गर्न सकिन्छ भन्ने मानसिकता विश्वविद्यालयका पदाधिकारीमा छ । यस्तै घटनाले विश्वविद्यालय प्राज्ञिक रूपमै भ्रष्ट हुन पुगेको छ । 
 

समग्रमा निकै अराजकताका बीच यी सबै काम सम्पन्न भइरहेका छन् । यो सबै कसरी भइरहेको छ भन्ने महत्वपूर्ण  प्रश्न हो । मलाई लाग्छ, यी सबै आज आएर यत्तिकै भएका होइनन् र सबै हिजोकै निरन्तरता हो । हाम्रो अघिदेखिकोे जुन संस्कार छ, यो त्यसको परिणाम हो । तर, अब पनि नियन्त्रण गर्न सकिएन भने हामीले संसारका अघि र ती विद्यार्थीका अघि कसरी अनुहार देखाउने भनेर सोच्नुपर्नेछ । 

पूर्वाञ्चल विश्वविद्यालयमा ब्याचलर पास गरेको व्यक्तिलाई सह–रजिस्ट्रार बनाइएको छ । त्यति मात्रै होइन, उनैलाई सह–डिनमा पनि नियुक्त गरियो । जबकि ऐनले स्नातकोत्तर पास गरेको व्यक्ति मात्रै सह–डिन हुन पाउने व्यवस्था गरेको छ । यसो गर्न पाइँदैन, नगर्नुस् भन्दा पनि मानेका छैनन् । अनि हामी स्वायत्त हो भन्नुको के अर्थ ? समग्रमा स्वायत्तताको परिभाषाभित्र विश्वविद्यालयको गरिमा तहसनहस गर्ने काम भइरहेको छ । त्यसैले यसलाई पुनः परिभाषित गर्नुपर्ने देखिएको छ ।

अनुभवका आधारमा के भन्न सकिन्छ भने विश्वविद्यालयलाई सुधार्न धेरै काम गर्नुपर्नेछ । विश्वविद्यालयको विकृतिबारे छलफल हुँदा धेरै मानिस राजनीतिक नियुक्तिलाई दोष दिन्छन् । यो राजनीतिक नियुक्तिको दोष होइन कि व्यक्तिको दोष हो । रानजीतिक व्यक्तिले कहिल्यै पनि स्नातकोत्तर चाहिने ठाउँमा स्नातक गरेको मान्छेलाई नियुक्त गर् भन्दैनन् । तर, आफ्नो पद जोगाउनका लागि उनले भनेको भन्दा पनि बढी गर्न थाल्ने प्रवृत्ति हावी भएको छ । अरूलाई खुसी पार्नका लागि यस्तो गर्नु भनेको कमजोर मानसिकताको परिचय हो । यस्तै घटनाले विश्वविद्यालय प्राज्ञिक रूपमै भ्रष्ट हुन पुगेको छ । 

(लेखक राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य हुन्)