मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डा. अनिता रौनियार काठमाडाैं
२०७६ असार २६ बिहीबार ०९:१३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

विषादीयुक्त खानपान र महिला स्वास्थ्य

Read Time : > 2 मिनेट
डा. अनिता रौनियार काठमाडाैं
२०७६ असार २६ बिहीबार ०९:१३:००

केही दिनयता तरकारी तथा फलफूलमा विषादी प्रयोगको विषय चर्चामा छ । खानपानका सामग्रीमा विषादीको बढ्दो प्रयोगले मानवस्वास्थ्यमा के–कस्ता असर पर्छन् ? त्यसबाट कसरी बच्न सकिन्छ ? भन्ने विषयमा हामी सचेत हुनैपर्छ । त्यसो त, विषादी प्रयोगको बहस नयाँ भने होइन । दशकौँदेखि विषादी प्रयोग हुँदै आएको छ र यस विषयमा बहस पनि मनग्य हुने गरेको छ । मात्रै यसको असरबारे हाम्रोमा चर्चा नभएको हो ।

आयातीत होस् वा यहीँ उत्पादन भएको तरकारी÷फलफूल तिनमा प्रयोग हुने विषादीले महिला प्रजनन र मातृशिशु स्वास्थ्यलगायत मानव स्वास्थ्यमा नकारात्मक असर पर्छ । अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न खोज–अनुसन्धानले यस्तो नतिजा देखाएका छन् । हाम्रो सन्दर्भमा दुःखद् पक्ष के छ भने, यस विषयमा अहिलेसम्म चिकित्सकीय अध्ययन–अनुसन्धान भएकै छैनन् । विषादी उत्पादकहरूको अव्यावसायिकता, कृषकको अज्ञानता साथै नियमनकारी निकायको निष्क्रिय भूमिकाका कारण देश नै विषादी सेवन गर्न बाध्य छ । खोज अनुसन्धान त परको कुरा विषादीको मात्रा परीक्षण गर्ने सन्दर्भमा समेत यहाँ जालझेल हुने गरेको छ । 

मुख्यतः विभिन्नथरीका कीटनाशक औषधि जस्तै, छिटो पकाउन, फसल जोगाउन, कुहिनबाट जोगाउन आदिका लागि प्रयोग हुने रसायनले मानव स्वास्थ्यमा धेरै नै नकारात्मक प्रभाव पार्ने गर्छ । यसलाई तत्कालै हुने असर र दीर्घकालीन असर गरेर दुई भागमा बाँड्न सकिन्छ । विषादीको किसिम र शरीरमा प्रवेश गर्ने बाटोले तत्काल असर देखाउँछ । जस्तै, छालाबाट सोसिएर, खेतमा रसायन छर्दा मुखबाट निलेर अथवा श्वास–प्रश्वासबाट फोक्सोमा गएर ।

विषादीको मात्रा धेरै भएमा तत्कालै ज्यानसमेत जान सक्छ । छालामा देखिने विभिन्न समस्या, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने, टाउको दुख्ने, बान्ता हुने, अनिद्रा, खानामा अरुचिजस्ता समस्या तत्काल देखिने समस्या हुन् । जुन विषादीको सम्पर्कबाट हुने गर्छ । खेतबारीमा छरिने विषादीका कारण अथवा दैनिक तरकारी र फलफूलमार्फत सेवन गरिने विषादीका कारण तत्काल भयानक परिस्थिति नआए पनि लामो समयसम्म यसको सम्पर्कमा रहँदा जटिल स्वास्थ्य समस्या देखापर्छ । महिला स्वास्थ्यमा विषादीले के–कति असर पार्छ त ? भन्ने विषयलाई हामीले यसरी उल्लेख गर्न सक्छौँ । 

विषादीबाट महिलाको प्रजनन अंगको विकासमा बाधा पुग्नेदेखि विशेषतः गर्भवतीको गर्भमा हुर्किंदै गरेको भ्रूणको विकासमा प्रत्यक्ष असर पर्छ । भ्रूण खेर जाने, जन्मजात विकलांंग हुने जस्तै, खुँडेपन, अंगभंग, शिशुको वृद्धि विकास ढिलो हुनेलगायत समस्या देखापर्छन् ।

विषादीबाट महिलाको प्रजनन अंगको विकासमा बाधा पुग्नेदेखि विशेषतः गर्भवतीको गर्भमा हुर्किंदै गरेको भ्रूणको विकासमा प्रत्यक्ष असर पर्छ । गर्भावस्थामा जटिलता पैदा हुनेदेखि भ्रूण खेर जाने, जन्मजात विकलांग जस्तै, खुँडेपन, अंगभंगदेखि शिशुको वृद्धि विकास ढिलो हुनेलगायत समस्या देखापर्छन् । विषादीले महिलाको प्रजनन क्षमतामा जटिल समस्या ल्याउँछ । अध्ययनले देखाएअनुसार धेरै विषादीको प्रयोगका कारण भारतीय महिलामा बाँझोपन बढ्दै गएको छ । सामान्य विषादीले महिला स्वास्थ्यमा समस्या पर्छन् । महिनावारीमा समस्या, हर्मोनजनित समस्या, रक्तअल्पतालगायत समस्या देखिएका छन् । यसका साथै श्वास–प्रश्वासको समस्या, फोक्सोमा खराबी, नसासम्बन्धी समस्याका तथा यौनजन्य समस्या, विभिन्न प्रकारका ट्युमर, हड्डी र दिमागको क्यान्सरलगायत समस्या देखिएका छन् । 

सन् २०१० मा गरिएको एउटा अनुसन्धानले वर्षमा एक लाखभन्दा बढीको मृत्यु कीटनाशक विषादी प्रयोगद्वारा हुने गरेको पुष्टि गरेको छ । क्लोराई रिफोस, इन्डो सल्फान–टी, हेप्टाक्लोर–क्विनालफोस, एल्ड्रिन, क्लोरोफेन्भिन्फोस, लिन्डेन, डिडिटीलगायत रोक लगाइएका तथा रोक नलगाइएका विषादीको प्रयोगले सबैभन्दा धेरै समस्या निम्त्याउने गरेको पाइएको छ । सन् १९४० को दशकमा सुरु भएको विषादी उत्पादनले विश्व बजारमा हाल खर्बौं डलरको बजार ओगटेको छ । विषादी प्रयोगले मानव स्वास्थ्यमा कस्तो असर पारेको छ भन्ने विषयमा विभिन्न अध्ययन भए पनि विषादी कम्पनीले त्यस्ता अध्ययन तथा प्रतिवेदन रोक्ने गरेको अनुसन्धानकर्ताको तर्क छ । 

विषादीबाट बच्ने उपायसमेत अनुसन्धानकर्ताले सुझाएका छन् । जस्तै, विषादीको प्रयोग गर्दा त्यसको पूर्ण जानकारी लिएर मात्रै प्रयोग गर्ने । गर्भावस्थामा विषादीदेखि सक्दो टाढा रहने । विषादी केटाकेटीको पहुँचभन्दा पर राख्ने । बेमौसमी तरकारी/फलफूलमा विषादीको प्रयोग हुने हुँदा सकेसम्म कम सेवन गर्ने । खानुपूर्व तरकारी/फलफूललाई ८–१० पटक पखालेर खाने । विष पखाल्ने नाममा साबुन पानीले खानेकुरा कदापि नपखाल्ने । यसरी हामी अलिकति भए पनि विषादीमुक्त हुन सक्छौँ । विषादीका बारेमा जनस्तरमा जनचेतनासमेत फैलाउनुपर्ने देखिन्छ, जसले हाम्रो स्वास्थ्यलाई बलियो बनाउन मद्दत गरोस् ।  
(लेखक स्त्रीरोग चिकित्सक हुन्)