१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालसँग छलफल गर्दै पौडी संघका पदाधिकारी
२०७६ असार २६ बिहीबार ०९:०१:००
Read Time : > 1 मिनेट
खेलकुद

करारका कर्मचारीको समस्या हल गर्ने नवनियुक्त सदस्यसचिवको प्रतिबद्धता

Read Time : > 1 मिनेट
२०७६ असार २६ बिहीबार ०९:०१:००

राष्ट्रिय खेलकुद परिषद्को एउटा ठूलो समस्या करार कर्मचारी पनि हो । परिषद्मा प्रत्येकपटक सदस्य–सचिव नयाँ आउँदा सुरुमै यही समस्याबाट गुज्रिने गर्छन् । परिषद्का १८औँ सदस्य–सचिवका रूपमा आएका रमेशकुमार सिलवालले करार कर्मचारीको समस्या चाँडै हल हुने बताएका छन् । राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य–सचिवको स्वागत तथा निवर्तमान सदस्य–सचिवको बिदाइ कार्यक्रममा सिलवालले कर्मचारीको समस्या चाँडै हल हुने बताए । ‘तपाईंहरूको स्थायी हुनुपर्ने मागका विषयमा धेरै लामो समय कुर्नुपर्दैन,’ सदस्य–सचिव सिलवालले भने, ‘चाँडै परिणाम आउँछ । मैले तपाईंहरूको समस्याबारे विभागीय प्रमुखसँग छलफल गरिसकेको छु ।’ 

समिति भंग गर्ने
नवनियुक्त सदस्य–सचिव सिलवालले करार कर्मचारीको समस्या समाधान गर्न गठिन संघर्ष समिति भंग गर्नुपर्ने बताए । उनका अनुसार यही वर्षभित्रै करार कर्मचारीको समस्या समाधान हुनेछ । ‘यही वर्षभित्र समस्या हल गरेर तपाईंहरूले स्थायी हुनुपर्ने माग राख्दै गठन गरेको संघर्ष समिति भंग गर्नेछौँ,’  उनले भने, ‘विगत लामो समयदेखि राखेपमा कार्यरत करार कर्मचारीले स्थायी हुनुपर्ने माग राख्दै आएका छन् ।’ सिलवालले आफूलाई भेट्न आउँदा समस्या मात्र नभई त्यसको उपाय पनि सँगै लिएर आउन सुझाएका छन् । निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टले करार कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा आफूले चारवटा समिति गठन गरेको स्मरण गरे ।

खेलकुदभन्दा बाहिर नरहने
निवर्तमान सदस्य–सचिव विष्टले आफू खेलकुदभन्दा कहिल्यै बाहिर रहन नसक्ने बताएका छन् । खेल क्षेत्रमै योगदान दिन प्रयासरत रहने प्रतिबद्धता विष्टले व्यक्त गरे । ‘खेलकुदभन्दा बाहिर जान सकिन्न, यही क्षेत्रमा योगदान दिन प्रयासरत रहन्छु,’ विष्टले भने, ‘शिर ठाडो पारेर आएको थिएँ, शिर ठाडो पारेर जाँदै छु । यसमा मलाई दुःख छैन । चार वर्षका लागि आएको थिएँ, त्यो जिम्मेवारी पूरा गरेर गएँ ।’ यता राखेप करार तथा अस्थायी कर्मचारी संघका अध्यक्ष काजीमान श्रेष्ठले स्थायी हुनुपर्ने लामो समयदेखिको माग वर्तमान सदस्य–सचिवको कार्यकालमा पूरा हुने विश्वास व्यक्त गरे ।

पूर्वाधारले साग नरोकिने
सदस्य–सचिव सिलवालले विभिन्न खेलका प्रमुख प्रशिक्षकसँग भेटघाटसमेत गरेका छन् । सिलवालले नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) पूर्वाधारका कारण नरोकिने बताएका छन् । यसका लागि सबै क्षेत्रलाई तयारीमा जुट्न उनले निर्देशन दिए । उनले सागसँगै नवौँ राष्ट्रिय खेलकुदको तयारी पनि सुरु गर्ने बताए । यसैगरी, सिलवालले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको बुधबार निरीक्षण गरेका छन् । हिटिङ पौडी पोखरीको निरीक्षण गर्दै सदस्य–सचिव सिलवालले निर्माण कार्यमा संलग्न पक्षलाई भुक्तानीका विषयमा चिन्ता नलिन आश्वस्त पारे ।