अपराधको बढ्दो ग्राफ

२०७६ असार २६ बिहीबार ०९:०२:००

नेपाली समाजमा बढ्दै गएका अपराध र आपराधिक घटनामा संलग्न अनेक पात्रलाई हेर्‍यो भने कहालीलाग्दो अवस्था देखिन थालेको अनुभव जोकसैलाई हुन्छ । यो एक वर्षमा भएका घटनाले समाजलाई नराम्रोसँग हल्लाइदिएका छन् । झन्डै एक वर्षपहिले कञ्चनपुरको भीमदत्त नगरपालिकामा भएको किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या अझै रहस्यमै छ ।

एकजना १३ वर्षे किशोरीलाई बलात्कार र हत्याको अपराधमा संलग्न व्यक्ति असामान्य र मानसिक विकृतियुक्त थिएन भन्ने अपराधी पत्ता लगाउन नसकिएकै कारणले पनि अनुमान गर्न सकिने विषय हो । यता काठमाडाैं र बनेपामा सिरिन्जले घोच्नेहरूको आतंक जीवितै छ । काठमाडौंमा एउटा सहज जीवन व्यतीत गरिरहेको, आफ्नै व्यवसाय सञ्चालन गरिबस्ने र परिवारसहितको युवाले रमाइलोका लागि महिलालाई काँटीले घोच्ने गरेको जवाफ दिएको छ । अर्थात् ऊ परपीडामा रमाउने भयानक मनोदशाबाट ग्रस्त छ । यता हरेक दिनजसो कहीँ न कहीँ कुनै न कुनै पुरुषबाट महिलाको हत्या हुने क्रम जारी छ । यस्तो हत्या पति, छोरा, प्रेमी, बलात्कारी, सामाजिक कार्यकर्ता या अगुवा जसले पनि गर्न सक्छ । 

केही दिनअघि रौतहटबाट एउटा हत्याको अत्यासलाग्दो घटना सार्वजनिक भएको थियो । एकजना पुरुषले गरिबीबाट उम्कन पहिले छोरीका नाममा जीवन बिमा गरे । पछि छोरीलाई काखमा लिएर मारे र नजिकैको पोखरीमा फ्याँके । छोरीको मृत्युको दुःखबाट उम्कने समय नहुँदै बिमा दाबी गर्ने तरखर गरे । बुझ्दै जाँदा उनले छोरीको हत्या गरेर बिमा रकम दाबी गर्नकै लागि बिमा गराएको खुल्यो । अर्थात् अब छोरीहरूको हत्या पैसाका लागि पनि हुन थालेको छ । यी हत्या र बलात्कारका शृंखलामा अपराधी देखिनेहरू समाजका सीमान्तकृत मानिस मात्र छैनन् । समता अस्पतालको आत्महत्यामा छानबिनको माग भइरहेकै छ । यता विद्यालयमा पनि अपराधजन्य घटना हुन थालेका छन् । पछिल्लो समय कञ्चनपुरमा शिक्षकहरूले कुटेर विद्यार्थीको मृत्यु भएको समाचार सार्वजनिक भएको छ ।

प्रिन्सिपलसहित शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएपछि सम्बन्धित शिक्षकहरू अनुसन्धानका लागि हिरासतमा छन्

कञ्चनपुरको एउटा निजी विद्यालयका प्रिन्सिपलसहितका शिक्षकले कक्षा ९ का विद्यार्थी माधव कलौनीलाई मरणासन्न हुने गरी पिटेका थिए । उपचारका क्रममा उनको मृत्यु भएपछि घटना सार्वजनिक भयो र सम्बन्धित शिक्षक अनुसन्धानका लागि हिरासतमा छन् । यो घटनाले हाम्रो समाजमा पढ्नु या शिक्षित हुनुले कसैको ज्ञान बढाउँदैन भन्ने देखाउँछ । सबै विद्यार्थी सरल र सहज रूपमा विद्यालयका आदेश पालना गर्ने खालका नहुन सक्छन् । तिनलाई अनुशासनमा राख्ने र नसके विद्यालयबाट हटाउनेसम्मको अधिकार विद्यालयलाई दिइएकै छ । तर, कुनै पनि शिक्षकले विद्यार्थीलाई भौतिक या मनोवैज्ञानिक असर पर्ने गरी सजाय दिन पाउँदैन ।

तर, यता कहिले छात्राहरू पिटिएर थला परेका खबर आउँछन् त कतै विद्यार्थी मारिएका । केही वर्षपहिले काभ्रेमा एकजना शिक्षकले स्थानीय दलित महिलालाई बोक्सी भन्दै विद्यालय प्रांगणमै बाँधेर पिट्दै मानिसको दिसा खुवाएको समाचार आएको थियो । जसका कारण ती महिलाको ज्यानसमेत गयो । कञ्चनपुरको घटना सरासर अपराध हो । यस्ता घटना नयाँ भने होइनन् । शिक्षालाई मुनाफाको विषय बनाउन थालेपछि विद्यालयहरू ज्ञानभन्दा धन्दाका क्षेत्र बन्छन् । जसले यस्ता अपराधलाई प्रोत्साहित गर्छन् । अपराधीमाथि कारबाही त हुनैपर्छ, सँगै विद्यालय सञ्चालन गर्नेहरूलाई उनीहरूले पालना गर्नुपर्ने न्यूनतम अनुशासन, मर्यादा, विद्यार्थीप्रति अपनाउनुपर्ने व्यवहारबारे पनि जिम्मेवार बनाउँदै अनुगमन गर्ने गरी सम्बन्धित निकायले ध्यान दिन ढिलो गर्नु हुँदैन । विद्यालयलाई पनि प्रहरीको हिरासत बनाउने हो भने ज्ञान र शान्ति खोज्न कता जाने ?

 

 

 

सम्बन्धित समाचार