१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर  काठमाडाैं
२०७६ असार २६ बिहीबार ०८:०२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

ब्याक्टेरियल संक्रमणले लहरे खोकी

Read Time : > 1 मिनेट
मञ्जु टेलर  काठमाडाैं
२०७६ असार २६ बिहीबार ०८:०२:००
डा. अखिल ताम्राकार
नवजात शिशु तथा बालरोग विशेषज्ञ
सिद्धि स्मृति बालअस्पताल

लहरे खोकी संक्रामक जीवाणुजन्य सरुवा रोग हो । लहरे खोकीबाट पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित हुने गर्छन् । जसमध्ये पनि तीन महिनाभन्दा मुनिका बच्चामा लहरे खोकी एकदमै जटिल खालको हुने गर्छ । लामो समयसम्म लहरे खोकी लाग्दा बच्चाले सास तान्न गाह्रो हुने हुँदा कतिपयको ज्यानै जाने सम्भावना रहन्छ । विश्वमा प्रत्येक वर्ष एकदेखि दुई लाख बच्चाको मृत्यु लहरे खोकीका कारण हुने गरेको छ । 

लक्षण

  •  सुरुमा रुघा लागेजस्तो भए पनि पछि गएर जटिल खालको खोकी लाग्छ । लामो समयसम्म खोकी लागिरहन्छ ।
  •  बच्चामा लगातार खोकी लागिरहन्छ । एकै सासमा धेरैचोटि खोक्न खोज्दा आँखा, मुख रातो–नीलो हुन्छ । 
  •  लहरे खोकी लामो समयसम्म लाग्छ । लगातार १४ दिनभन्दा माथि खोकी लाग्नु यसको लक्षण हो । यो लगातार सय दिनसम्म पनि हुन सक्छ । 
  •  खोक्दा हुप भन्ने आवाज आउँछ । तसर्थ, लहरे खोकीलाई हुपिङ कफ पनि भनिन्छ । 
  •  सुरुवाती समयमा सामान्य रुघाखोकी लाग्ने गर्छ । नाकबाट पानी बग्ने, लगातार हाच्छिउँ आउने र हलुका ज्वरो आउनेजस्ता समस्या देखिन्छन् । 
  •  खोक्दाखोक्दै बिस्तारै मुटुको धड्कन गडबडी हुने, खाना खानै नमान्ने र बान्ता हुने हुन्छ । जटिल खोकीका कारण निमोनिया, टाउको दुख्ने, बेहोसी हुने, हर्निया र मलद्वार खस्नेजस्ता समस्यासमेत निम्तिन्छन् । 

कारण

  •  लहरे खोकी  एक व्यक्तिाबाट अर्कोमा सजिलै सर्छ । खोक्दा, हाच्छिउँ गर्दा निस्केका कफ तथा थुकका मसिना छिटाका माध्यमबाट यो सर्छ । यसको मुख्य कारण ब्याक्टेरियल संक्रमण नै हो । 
  •  प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका लहरे खोकीबाट बढी प्रभावित हुने गर्छन् । मुटुमा समस्या भएका तथा फोक्सोको रोग भएका बच्चालाई लहरे खोकीले बढी सताउने गर्छ । 

रोकथाम र उपचार

  •  रुघा –खोकी लागेका मानिसले शिशुलाई सकभर बोक्नुहुँदैन । बोक्नुपरेमा हात धुने, मास्क लगाउने गर्नुपर्छ । यस्तो गरेमा बच्चामा संक्रमण फैलिन सक्ने सम्भावना कम हुन्छ ।
  •  बच्चालाई अनिवार्य डिपिटी खोप दिनुपर्छ । जो सरकारले निःशुल्क वितरण गरेको छ । यसबाट बच्चालाई लहरे खोकी तथा अन्य विभिन्न संक्रमणबाट बचाउन सहयोग मिल्छ । 
  •  संक्रमित मानिसलाई भिडबाट टाढा राख्नुपर्छ । जसले गर्दा अरूमा रोग सर्न अपाओस् । पौष्टिक आहार र पानी प्रशस्त दिनुपर्छ । लक्षण देखापर्न थालेमा चिकित्सकको सल्लाहमा एन्टिबायोटिक औषधि खुवाउन सकिन्छ । 

–सानो बच्चा छोटो समयमै बढी प्रभावित हुने र जटिल समस्या आउने हुँदा सकेसम्म छिटो अस्पताल पु-याउनुपर्छ ।