Skip This
Skip This

तामाकोसी–५ मा १६ अर्ब लगानी गर्दै एआइआइबी

२ महिनाभित्र खरिद प्रक्रियामा जाने तयारी, ऋण सम्झौताका लागि अर्थ मन्त्रालयमार्फत समन्वय हुँदै

२०७६ असार २६ बिहीबार ०७:३४:००

तामाकोसी–५ जलविद्युत् आयोजनामा एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले लगानी गर्ने भएको छ । ९९.८ मेगावाट क्षमतामा निर्माण गरिने आयोजनामा लगानी गर्न एआइआइबीले अर्थ मन्त्रालयसँग ऋण सम्झौताका लागि छलफल गर्ने तयारी गरेको मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए । उनका अनुसार आयोजनामा लगानी हुने १ सय ५० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब रुपैयाँ) ऋण दिन एआइआइबी करिब तयार भएको अवस्था छ ।

यसअघि नै उक्त आयोजनाको वातावरणीय प्रभाव, जैविक विविधता, स्थानीय सामाजिक जनवीवनजस्ता विषयमा अध्ययन गर्न ९ लाख अमेरिकी डलर (करिब ९ करोड ९० लाख रुपैयाँ) अनुदान सहयोग दिइसकेको छ । ‘आयोजनाका लागि ९ लाख डलर अनुदान सहयोग दिएको, एआइआइबीले आफ्नो वेबसाइटमा तामाकोसी–५ लाई गरेको सहयोगका विषयमा उल्लेख गरेकोलगायत विषयले एआइआइआइबी तामाकोसी–५ मा लगानीका लागि तयार छ,’ उनले भने, ‘तर, ऋण दिने र लिने दुवै पक्ष तयार भएपछि मात्रै ऋण सम्झौता हुने भएकाले अब ऋण सम्झौताबारे वार्ता सुरु हुने छ ।’ उनका अनुसार आयोजनाको रेट अफ रिटर्न, सम्भाव्यतालगायतका विषय अध्ययन गरेपछि एआइआइबी ऋण लगनी गर्न तयार हुन सक्छ ।

तर, एआइआइबीले राख्ने शर्त, ऋणको ब्याजदर, भुक्तानी गर्ने अवधि, ग्रेस पिरियडजस्ता विषय नेपाललाई पनि मञ्जुर हुनुपर्ने हुन्छ । ‘सहुलियत दरको ऋण लगानी गर्ने अन्तर्राष्ट्रिय बैंकहरूमध्ये एआइआइबी अलि महँगै विन्डो हो,’ उनले भने, ‘अति कम विकसित देशहरूलाई प्रवाह गर्ने ऋणको ब्याजदर कम गर्नेबारेसमेत नेपालले बैंकसँग छलफल गर्नुपर्नेछ ।’

आइआइबीले पूरै लगानी गर्ने नेपालकै पहिलो आयोजना 
ऋण स्वीकृतिपछि आयोजनाको वित्तीय व्यवस्थापन हुने र निर्माण कार्य अघि बढ्ने तामाकोसी जलविद्युत् आयोजना कम्पनी लिमिटेडका प्रमुख नसिवमान प्रधानले जानकारी दिए । उनले भने, ‘चीनमा प्रधान कार्यालय रहेको र नेपालसमेत संस्थापक सदस्य रहेको एआइआइबी एक्लैले लगानी गर्ने यो नेपालकै पहिलो परियोजना हुनेछ । यसअघि एआइआइबीले कोरियाली कम्पनीले निर्माण गर्न लागेको २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ मा आइएफसीको नेतृत्वमा करिब १० अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको थियो । 

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाकै क्यास्केड आयोजनाका रूपमा तामाकोसी–५ बनाउन लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले यो आयोजना अघि बढाउन सहायक कम्पनी तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड स्थापना गरेको थियो । तर, ४ महिनाअघिबाट मात्र पूर्ण सञ्चालनमा आएको उक्त कम्पनीले आयोजना निर्माण अघि बढाउन लागेको हो ।

 पूरक इआइए र टेन्डर डकुमेन्ट अन्तिम चरणमा 
तामाकोसी–५ आयोजना सुरुमा ८७ मेगावाट क्षमतामा बनाउने तयारीसहित वातावरणीय प्रभाव मूल्यांकन गरी विद्युत् विकास विभागले स्वीकृति दिएको थियो । तर, हाल आयोजनाको क्षमता बढेर ९९.८ मेगावाटमा बनाउने गरी डिजाइन भइरहेको छ । क्षमता बढेसँगै आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत तयार पार्नुपर्ने हुन्छ । यसका लागि हाल आयोजनास्थल तथा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ गर्ने कार्य सम्पन्न गरिसकेको उनले बताए । त्यस्तै, आयोजना निर्माण सेवा खरिदका लागि सिभिल र हाइड्रो मेकानिकल निर्माणलाई पहिलो र इलेक्ट्रो मेकानिकल निर्माणलाई दोस्रो प्याकेज हुने गरी कम्पनीले ‘टेन्डर डकुमेन्ट’ बनाउने कामसमेत अन्तिम चरणमा रहेको कम्पनी प्रमुख प्रधानले बताए । ‘अबको करिब दुई महिनाभित्र हामी टेन्डर आह्वान गर्ने चरणमा पुग्छौँ,’ उनले भने, ‘आयोजनाको ठेक्का सम्झौता भएको मितिले ४ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ ।’

तामाकोसीको पानी सुरुङमार्फत इन्टर कनेक्सन गरिने 
माथिल्लो तामाकोसीको टेलरेसबाट निस्किएको पानीलाई ८.१ किलोमिटर लामो हेडरेस सुरुङ बनाएर तामाकोसी–५ को पावरहाउसमा पुर्‍याउने योजना छ । क्यास्केड आयोजना भएकाले यसका लागि छुट्टै बाँध बनाउनुपर्दैन । माथिल्लो तामाकोसीकै बाँधले यो आयोजनालाई समेत काम गर्छ । माथिल्लो तामाकोसीको टेलरेससँग तामाकोसी–५ को हेडरेस जोडिने गरी सुरुङमार्फत ‘इन्टर कनेक्सन’ गर्ने गरी आयोजनाको डिजाइन गरिएको छ । आयोजनाको पावरहाउससमेत भूमिगत नै रहनेछ । यो आयोजना निर्माणका लागि नबनी नहुने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भने सम्पन्न हुन ८ महिना लाग्ने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताएका छन् ।