मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २६ बिहीबार ०७:२५:००
Read Time : < 1 मिनेट
अर्थ

यार्सा संकलकलाई ५ लाख दुर्घटना बिमा 

Read Time : < 1 मिनेट
२०७६ असार २६ बिहीबार ०७:२५:००

जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा संकलन गर्न आउनेका लागि दुर्घटना बिमा लागू गरेको छ । गाउँपालिकाको असार २१ गते बसेको चौथो गाउँसभाले जोखिम मोलेर पाटन क्षेत्रमा यार्सा टिप्न जाने महिला, पुरुष बालबालिकाको बिमा गर्ने निर्णय गरेको हो । पाइलट प्रोजेक्टका रूपमा यार्सा संकलकका लागि ५ लाख रुपैयाँको बिमा गरिएको छ ।

गाउँपालिकाले यार्सा संकलनका क्रममा लेक लागेर, कुनै दुर्घटना परेर अकालमा ज्यान गएको खण्डमा राहत प्रदान गर्न आर्थिक वर्ष आगामी आव ०७६/७७ देखि लागू हुने गरी जीवन बिमा कार्यक्रम घोषणा गरेको हो । यार्सा टिप्न लेकतिर जा“दा अकालमा ज्यान गुमाउने जोकोहीलाई प्रथमपटक थोरै राहत दिने उद्देश्यले यार्सा दुर्घटना बिमा कार्यक्रम नीतिगत रूपमा गाउँसभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजालले जानकारी दिइन् ।

यार्सा संकलकको मृत्यु भए पनि घरपरिवारले राहत पाउन् भन्ने यसको मुख्य लक्ष्यका साथ यो कार्यक्रम ल्याइएको उनको भनाइ छ । घोषणा गरिएको यार्सा दुर्घटना बिमा कार्यक्रमको उपलब्ध र प्रभावकारिता हेरेर अर्कोपटक बढी बजेट छुट्याइने उनले बताए । 

यार्सा दुर्घटना बिमाले गर्दा अर्को वर्षदेखि यार्सा संकलककर्ता वृद्धि भई राजस्वसमेत बढी संकलन हुने अपेक्षा लिएको गाउँपालिकाले जनाएको छ । बिमा कार्यक्रम लागू गरेपछि यार्सा संकलन गर्न बढी मानिस आउने र यसले अन्ततः कर बढाउने हुँदा गाउँपालिकालाई नै फाइदा हुने गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । 

चौथो गाउँसभाले यार्सा क्षेत्रमा शुद्ध खानेपानी तथा सरसफाइ कार्यक्रम पनि सञ्चालन गर्ने नीति घोषणा गरेको छ । यार्सा पर्यटनलाई पनि विशेष रूपमा जोड दिइएको गाउँपालिकाका अधिकृत तीर्थराज शाहीले बताए । उनले भने, ‘यस गाउँपालिकामा घुम्न आउने पर्यटकहरूले पनि यार्सा देख्न र टिप्न पाउन् भन्ने सोच हामीले राखेका छौँ ।’