१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार २६ बिहीबार ०६:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

शिक्षकको सामूहिक कुटाइबाट १४ वर्षीय विद्यार्थीको मृत्यु

शिक्षक भन्छन्–अनुशासन उल्लंघन गरेपछि दुई झापड मात्रै हानेको हो

Read Time : > 1 मिनेट
२०७६ असार २६ बिहीबार ०६:३२:००

प्रधानाध्यापकसहित चार शिक्षकको निर्घात कुटाइपछि अस्पताल भर्ना भएका विद्यार्थी माधव कलौनीको उपचारका क्रममा गयो ज्यान

भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयमा ९ कक्षामा पढ्ने १४ वर्षीय बालक माधव कलौनीको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । उच्छृंखल गतिविधि नियन्त्रण गर्न भन्दै प्रधानाध्यापकसहित चार शिक्षकले निर्घात कुटपिट गर्दा बालकको ज्यान गएको हो । 

१३ असारमा विद्यालयभित्रै कुटिएका माधवको उपचारका क्रममा मंगलबार राति भारतमा मृत्यु भएको मामा पुष्पमणि जोशीले बताए । प्रधानाध्यापक यशोदा जोशी, सहायक प्रिन्सिपल दुर्गादत्त पाठक, शिक्षकहरू लक्ष्मणदत्त भट्ट र हर्क जाग्रीले कुटेको परिवारको आरोप छ । पाठक र भट्टले माधवलाई सामान्य कुटपिट गरेको स्विकारेका छन् । तर, कुटाइबाट माधवको टाउको र छातीमा चोट लागेको थियो भने दायाँ खुट्टा भाँचिएको थियो । उनको मृत्युपछि चारै शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे छानबिन भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

कुटेर घाइते बनाएको पर्सिपल्ट विद्यालयबाटै निकाला
१३ असार शुक्रबार कुटेर घाइते बनाएपछि विद्यालयले १५ असारमा टेलिफोन गरी बुबा वृहस्पती कलौनीलाई बोलाई माधव जिम्मा लगाएका थिए । आइतबार प्रिन्सिपल र शिक्षकहरूले आफूमाथि धेरै आरोप लगाएपछि मात्रै माधवले कुटाइ खाएको घटना बुबालाई बताएका थिए । मामाघरमा बसेर पढ्दै आएका बैतडीको शिवनाथ गाउँपालिका–२ सर्मलीका माधवले शिक्षकबाट कुटाइ खाएको प्रसंग शुक्रबार मामालाई पनि सुनाएका थिएनन् । 

‘मेरो छोरोलाई शिक्षकले विद्यालयमै सामूहिक रूपमा कुटपिट गरेछन् । त्यतिवेला डरले उसले परिवारमा भनेन,’ माधवका बुबा वृहस्पतीले भने, ‘म बैतडी बस्थेँ । प्रिन्सिपल जोशीले टेलिफोन गरेर बोलाएपछि म विद्यालय पुगेँ । तपाईंको छोराले ठूलो गल्ती ग¥यो, लैजानुस् भन्दै ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट मेरो हातमा थमाएर विद्यालयबाटै निकालिदिए । तर, प्रहरीमा उजुरी नदिन भने । त्यसपछि मात्रै छोराले हामीलाई घटनाबारे सुनायो ।’

त्यसलगत्तै माधवलाई डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार गराएको परिवारले जनाएको छ । त्यहाँ उनको खुट्टामा प्लास्टर गरिएको थियो । डडेल्धुराबाट महाकाली अञ्चल अस्पताल रेफर गरिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगन्ज शिक्षण अस्पताल हुँदै भारतको राममूर्ति अस्पताल लगिएको थियो । 

शिक्षक भन्छन्–अनुशासन उल्लंघन गरेपछि दुई झापड मात्रै हानेको हो
माधव अनुशासनभन्दा बाहिर गएर हतियार बोकेर अवाञ्छित क्रियाकलाप गरेको र ठूलै घटना गराउन सक्ने देखिएकाले सचेत गराएर अभिभावकको जिम्मा लगाएको प्रिन्सिपल यशोदा जोशीले बताइन् । उनले माधवलाई कुटपिट नगरेको, अनुशासन मेन्टेनका लागि शिक्षकले सामान्य दुई झापड मात्रै हानेको दाबी गरिन् । 

माधवलाई स्कुल को–अर्डिनेटर लक्ष्मणदत्त भट्ट र अर्का विद्यार्थी आदित्य लुहारलाई सहायक प्रिन्सिपल दुर्गादत्त पाठकले थप्पड हानेको बताएका छन् । १० असारमा गाउँमै भएको एक विवाहमा माधव कलौनीले अन्य विद्यार्थीलाई कुटपिट गरेको र आफ्ना साथीलाई खुकुरी ल्याउन भनेको थाहा पाएपछि सामान्य झापड हानेको शिक्षक पाठकले बताए । ‘हामीले झापड मात्रै हानेको हो, प्रहरीकै रोहवरमा उनलाई अभिभावकको जिम्मा लगाउँदा स्वास्थ्य ठीकै थियो,’ पाठकले भने । 

दोषीमाथि कारबाही गर्न विद्यार्थी संगठनको माग
कञ्चनपुरका विद्यार्थी संगठनले बालक मृत्युको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । यो घटना घोकन्ते विद्या दिलाउने र विद्यार्थीलाई दण्डित तथा मानसिक दबाब दिएर क्षणभरका लागि राम्रो देखाउने निजी विद्यालयको प्रवृत्तिको उपज भएको उनीहरूको भनाइ छ ।