मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २६ बिहीबार ०६:१८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

दशकसम्म बनेन हुलाकी राजमार्ग : कतै ट्र्याक खुल्नै बाँकी, कतै कालोपत्रे

Read Time : > 2 मिनेट
२०७६ असार २६ बिहीबार ०६:१८:००

भारत सरकारको सहयोगमा निर्माण सुरु भएको हुलाकी राजमार्ग दशक पुग्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । तीन वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०१० बाट सुरु भएको यो राजमार्गअन्तर्गत कैलालीमा करिब २७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । कैलालीभत्र पर्ने करिब ९८ किलोमिटर सडकमध्ये ७० किलोमिटर भारत सरकारको सहयोगमा कालोपत्रे भइसकेको छ । बाँकी खण्ड नेपाल सरकार आफैँले निर्माण गरिरहेको छ । तर, काममा ढिलाइ हुँदा कहिले सम्पन्न हुने भन्ने अनिश्चित छ ।

राजमार्गको निर्माण सकिएकै छैन । कतिपय ठाउँमा ट्र्याक खोल्ने कामसमेत पूरा भएको छैन । तर, कालोपत्रे गरिएको सडक भने जीर्ण बनिसकेको छ । भारतले बनाएको कालोपत्रे सडक भत्केर दर्जनौँ ठाउँमा खाल्डाखुल्डी बनिसकेका छन् । मर्मत गर्नुपर्ने गरी कालोपत्रे सडक जीर्ण बनेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए । 

भारत सरकारको एक अर्ब २६ करोड रुपैयाँ आर्थिक सहयोगमा भारतीय कम्पनी जिआर गाभरले सन् २०१० बाट निर्माण सुरु गरेको थियो । सडकको क्षेत्राधिकारमा विवाद देखिएका ठाउँमा काम गर्न नसकेर उक्त कम्पनी फिर्ता भयो । निर्माण गरेको सडक सन् २०१७ मा नेपाललाई हस्तान्तरण गरेर भारतले आयोजनाबाट हात झिकेपछि बाँकी ठाउँमा नेपाल सरकार आफैँले निर्माण अघि बढाएको छ । वनलगायत अवरोधका कारण काम गर्न नसकेको भन्दै भारतले योजनाबाट हात झिकेको थियो ।

इन्जिनियर मडैका अनुसार कैलालीको वसन्ता क्षेत्रमा पर्ने १८ किलोमिटर, धनगढीमा साढे ६ किलोमिटर र सत्तीदेखि बर्दिया जोड्ने साढे दुई किलोमिटर निर्माण हुन बाँकी छ । लम्की–टीकापुर–खक्रौला जोड्ने २७.७ किलोमिटर हुलाकीको लिंक सडक, धनगढी क्याम्पस चोकदेखि वसन्ता तथा भजनी–टीकापुर खण्ड कालोपत्रे भइसकेको छ । 

निर्माणको गति सुस्त
 नेपाल सरकार आफैँले निर्माण गरिरहेको बाँकी खण्डमा काम सुस्त छ । सम्झौताअनुसार वसन्ता क्षेत्रको १८ किलोमिटर सडक गत फागुनमै निर्माण सम्पन्न भइसक्नुपर्ने हो । तर, रूख कटानको कानुनी अड्चनले त्यहाँ दुई किलोमिटरमा ट्र्याक खोल्नै बाँकी रहेको आयोजना प्रमुख रामपुकार जैसवालले बताए । 
यो खण्डको म्याद कात्तिकसम्म थपिएको छ ।

हालसम्म ५० प्रतिशत मात्रै काम भएकाले थपिएको अवधिमा पनि सम्पन्न हुन नसक्ने उनले बताए । यस्तै, धनगढी भन्सार रोडदेखि क्याम्पसचोक खण्डको साढे ६ किलोमिटर सडक निर्माणको गति पनि सुस्त छ । यो खण्डमा ट्र्याक खोल्ने काम पूरा भएको छ । क्षेत्राधिकारको विवादका कारण समयमै काम सुरु हुन नसकेकाले यहाँ पनि निर्धारित अवधिमा काम सम्पन्न नहुने देखिएको आयोजना कार्यालयले जनाएको छ । भन्साररोड–क्याम्पसचोक खण्डको निर्माण सम्झौता अवधि आगामी कात्तिकमा सकिँदै छ । 

हुलाकी सडकअन्तर्गत भजनीको कटैनी खोलामा पुल निर्माणको काम पनि बाँकी नै छ । ट्र्याक खोल्न बाँकी दुई किलोमिटर क्षेत्रमा वन विभागबाट रूख कटानको आदेश पाए आगामी आर्थिक वर्षभित्र हुलाकी सडक निर्माणले पूर्णता पाउने उनको दाबी छ ।कैलालीमा पर्ने हुलाकी सडक र त्यसअन्तर्गतका पुलसमेत गरी करिब ५० प्रतिशत काम बाँकी रहेको आयोजना प्रमुख जैसवालले बताए । 

निराश स्थानीय
जिल्लाका दक्षिणी क्षेत्रका बस्ती जोड्ने हुलाकी सडकले पूर्णता नपाउँदा स्थानीय बासिन्दा निराश छन् । निर्माण कार्यले पूर्णता नपाउँदै निर्माण भएको सडक पनि जीर्ण बनेपछि आवत–जावत गर्न सर्वसाधारणलाई समस्या भएको छ ।कैलारी गाउँपालिका–२, का कालीप्रसाद चौधरीले सडक जीर्ण हुँदा समस्या भएको बताए । सडकको दर्जनौँ ठाउँमा परेका खाल्डाखुल्डीका कारण स–साना दुर्घटना दैनिकजसो हुने गरेका उनले बताए । वसन्ता क्षेत्रमा ट्र्याक खोलिएको क्षेत्र पनि हिलाम्य भएको चौधरीले बताए ।

‘१८ किलोमिटर सडक नबन्दा हामीलाई निकै समस्या छ । बनेको सडक पनि भत्किएको छ,’ वसन्ता क्षेत्रका स्थानीय रामलाल चौधरीले भने, ‘वर्षाले अहिले हिलाम्य भएकाले वसन्ता खण्डमा हिँड्डुल गर्न सास्ती खेप्नुपर्छ ।’ जतिसक्दो चाँडो सडक निर्माण गर्न स्थानीयले सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।