वेलैमा चिनौँ कालाज्वर

२०७६ असार २५ बुधबार ०९:२८:००

 डा. असरफ हुसेन, इन्टर्नल मेडिसिन
नेसनल मेडिकल कलेज
वीरगन्ज

गर्मी तथा वर्षात्को मौसम कालाज्वरबाट बढी प्रभावित हुने समय हो । यो वेला विशेषगरी तराईमा अधिकांश मानिस कालाज्वरबाट प्रभावित हुने गर्छन् । कालाज्वर प्रोटोजोवाअन्तर्गत पर्ने लेस्मोनिया दोनोभानी नामक परजीवीका कारण हुने गर्छ । यो स्यान्डफ्लाई नामक भुसुनाको टोकाइबाट सर्ने रोग हो । यो वर्षात्को मौसममा बढी सक्रिय हुने गर्छ । 

कारण

  • विश्वभरिमा कालाज्वरको सबैभन्दा बढी जोखिम हुने देशमध्येमा नेपाल पर्छ । विशेषगरी, जंगली भू–भाग बढी भएको स्थान तथा माटोका घर भएका ठाउँमा स्यान्डफ्लाई पाइने गर्छ । 
  • गुफा, मर्मत–सम्भार नगरिएका माटोका घर, छिद्र भएका घर तथा घरपरिपरि बाक्लो झाडी भएमासमेत कालाज्वरको जोखिम बढी हुन्छ । सरसफाइको कमी र पौष्टिक आहारको अभावका कारण पनि कतिपय व्यक्ति कालाज्वरबाट प्रभावित हुने गर्छन् । 

लक्षण

  • कालाज्वर लागेका बिरामीमा लामो समयसम्म ज्वरो आउने, शरीरमा रगतको कमी हुने, तौल घट्ने, कलेजो सुन्निने र छाला कालो हुनेजस्ता लक्षण देखिन्छन् । बिस्तारै कमजोरीपन बढ्दै जाने तथा पेट फुलेको महसुस हुन्छ ।
  • लामो समयसम्म यस्ता लक्षण देखापरेमा प्रतिरोधी क्षमतामा कमी आउने भएकाले पखाला लाग्ने, निमोनिया तथा क्षयरोगको संक्रमण हुने जोखिम बढेर जान्छ । समयमै उपचार नगरेमा बिरामीको ज्यान जान सक्छ । 

ज्वरो आउँदा त्यसलाई सामान्य हो भन्ने सोचेर हेल्चेक्र्याइँ गर्दा कालाज्वरको जोखिम बढ्ने भएकाले सकेसम्म छिटो चिकित्सकको सल्लाह लिनुपर्छ

रोकथाम तथा उपचार

  • कालाज्वरबाट बच्न सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ । स्यान्डफ्लाई भुसुना सक्रिय हुन सक्ने ठाउँमा नियमित सरसफाइ गर्नुपर्छ । गर्मी मौसममा घरवरिपरि कीटनाशक औषधि छर्कनुपर्छ । 
  • माटोको घरलाई समय–समयमा लिपपोत गर्नुपर्छ । जंगल तथा गुफामा पस्दा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । 
  • ज्वरो आउँदा त्यसलाई सामान्य हो भन्ने सोचेर हेल्चेक्र्याइँ गर्ने बानीले कालाज्वरको जोखिम बढ्छ । तसर्थ, लक्षण देखापरेमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिनुपर्छ । 
  • स्वास्थ्य संस्थामा आरके–३९, इस्टा, पिसिआर आदिजस्ता रगतको जाँच गरेर कालाज्वर भए÷नभएको पत्ता लगाउन सकिन्छ । 
  • कालाज्वर भएको प्रमाणित भएमा सोडियम इस्टिगो ग्लुकोनेट, मेग्लुमिन र एम्फो टेरिसिन बी नामक औषधिको सेवनबाट निको पार्न सकिन्छ । उक्त औषधि चिकित्सकको निगरानीमा तीनदेखि चार हप्तासम्म दिइन्छ ।