मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुरज घिमिरे काठमाडाैं
२०७६ असार २५ बुधबार ०८:५८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

बाध्यताको अर्को नाम निजी विद्यालय

Read Time : > 2 मिनेट
सुरज घिमिरे काठमाडाैं
२०७६ असार २५ बुधबार ०८:५८:००

आमाले सानो छँदा एउटै कुरा भन्नुहुन्थ्यो, ‘हामीले पढ्न सकेनौँ, छोराछोरीलाई राम्रो बोर्डिङ स्कुलमा पढाउने हो ।’ उहाँ आफ्नोे रहर पूरा गर्न पछि पर्नुभएन । हाम्रो आय एकदमै कम थियो, बाबा वैदेशिक रोजगारमा जानु भए पनि उहाँको तलब कम थियो । तैपनि आमाले हिम्मत गरेर हामी दाजु–बहिनीलाई चल्तीको भाषामा बोर्डिङ भनिने निजी विद्यालयमा पढाउनुभयो । आमाले समयमा विद्यालयको मासिक शुल्क बुझाउन सक्नुहुन्थेन । तर, प्रधानाध्यापकसँग हाम्रो राम्रो परिचय भएको र सानैदेखि त्यही बोर्डिङमा पढेको हुनाले पढ्न कुनै समस्या थिएन । बाबाको पैसा समयमा नआउँदा ऋण खोजेर वर्षमा दुईपटक बोर्डिङको शुल्क दिए हुन्थ्यो । यो बुझ्न थालेपछि कैयौँपटक विद्यालयबाट आउने गरेको मासिक शुल्कको रसिद म आफैँ राख्थेँ । आमालाई देखाएर केही काम छैन भन्ने लाग्थ्यो । किनभने हामीलाई थाहा थियो, उहाँसँग अहिले शुल्क तिर्ने पैसा छैन ।

शुल्क ढिलो तिर्नुको अर्को पीडादायक पाटो थियो । वर्षमा हुने चारै परीक्षा हामीले अर्कै कोठामा बसेर दिनुपथ्र्यो, जहाँ मजस्तै ढिलो शुल्क तिर्ने अरू विद्यार्थीलाई राख्ने गरिन्थ्यो । म र मेरो बहिनीलाई अलिकति पनि लाज लाग्दैनथ्यो, किनभने हामीलाई त्यसको कारण थाहा थियो । केहीपटक दिउँसोको घाममा सबैले देख्ने गरी विद्यालयको मध्यचउरमा राखिएको बेन्चमा बसी हामी दुईले परीक्षा दिएको मैले बिर्सेको छैन । परिवारको अवस्था अनि आमाको रहर बुझेर होला, यो घटना कहिल्यै अनौठो लागेन । विद्यालयको प्राथमिक तह पनि पूरा नगर्नुभएकी आमा हाम्रो शिक्षाका लागि सदैव चिन्तित हुनुहुन्थ्यो । पढाइमा म कहिल्यै अग्रस्थानमा आइनँ, तर जेहेनदार विद्यार्थी भने थिएँ । कहिलेकाहीँ प्रिन्सिपलले हाम्रो पढाइ खस्केको छ भन्दा आमा दुखित हुनुहुन्थ्यो । हाम्रा सीमित सफलताले पनि उहाँलाई एकदमै खुसी दिन्थे । अंग्रेजीमा केही पढेर त्यसको उल्था गर्दा होस् वा हाजिर जवाफमा तृतीय वा सान्त्वनाको पुरस्कार पाउँदा आमा खुसी हुनुहुन्थ्यो ।

नेपालका सबै अभिभावकको इच्छा मेरी आमाको जस्तै हो भन्ने मलाई लाग्छ । अनि उहाँको ठाउँमा आफँैलाइ राखेर सोध्छु, हामीलाई निजी विद्यालयमा पढाउने उहाँको रहर हो कि बाध्यता ? अहिले म आफू छोरीको बाबु भइसकेपछि उहाँको रहर र बाध्यता बिस्तारै बुझ्दै छु । कसको रहर हुँदैन र सन्तानलाई राम्रो शिक्षा दिने र उनीहरू पढेर ठूलो मान्छे भएको हेर्ने ? तर, यी रहरसँगै सुरु हुने रहेछन्, निजी विद्यालयमा पढाउने बाध्यता, मोटो रकम तिर्नुपर्ने बाध्यता, अनि यो बाध्यता पूरा गर्न अभिभावक बिदेसिनुपर्ने बाध्यता ! अहिले म र मेरी श्रीमतीका बीच हुने कुराकानी पनि यस्तै हुन्छन् । दुईजना मिलेर दुःख गर्ने, अनि छोराछोरीलाई राम्रो विद्यालय पढाउने । केही समयअघि मैले श्रीमतीसँग छोरीलाई सरकारी विद्यालयमा पढाउँदा के हुन्छ ? भन्ने प्रश्न गरेँ । तर, उनले मेरो सुझाबलाई सकारात्मक रूपमा ग्रहण गरिनन् । छोरीलाई राम्रो निजी विद्यालयमा पढाउनुपर्छ भन्ने उनको राय रह्यो । अहिले म पनि ‘राम्रो जीवन’का लागि विदेशमा छु । 

अहिले बालबालिकाको शिक्षाका लागि खोलिएका निजी विद्यालय आकर्षक व्यवसाय भएका छन् । सुनको अन्डा दिने कुखुरा बचाउन माफियाहरू जे पनि गर्न सक्छन् । तसर्थ शिक्षाको अनियन्त्रित व्यापारीकरण रोक्न केही कडा कदम चाल्न आवश्यक छ ।

निजी विद्यालयको महँगो शिक्षा गाउँघरका कम पढेलेखेका अभिभावकको मात्र नभएर आज सबैको बाध्यताजस्तै बनेको छ । शिक्षा क्षेत्रमा कलम चलाउने एक युवा नेताले केही महिनाअघि लेख्नुभएको एउटा लेखमा चारजनाको परिवार धान्न अहिले मासिक ५० हजारले हम्मेहम्मे हुने उल्लेख गरेका थिए । छोराछोरीको शिक्षाका लागि उनले मासिक १० हजार सरदर खर्च गर्ने रहेछन् । तसर्थ निजी विद्यालयको महँगो शिक्षा अहिले रहर मात्र नभई बाध्यता बनेको छ किनभने सरकारी स्कुलमा पढाइ राम्रो हुन्न भन्ने मान्यता छ । हालै प्रकाशित एसइईको परीक्षाफलले पनि त्यही देखाएको छ । यसैकारण धनी होस् वा गरिब सबैजना आफ्नो हैसियतअनुरूपको निजी विद्यालयमा पढाउन चाहन्छन् । सरकारी विद्यालयमा छोरीलाई पढाउनुहुन्न भन्ने श्रीमतीको विचारलाई मैले यसै अर्थमा बुझ्ने गरेको छु । 

छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिलाउन अभिभावकले किन यत्रो मिहिनेत गर्नुपर्ने ? बालबालिकाको शिक्षाको अधिकारमाथि हेलचेक्र्याइँ किन गर्ने ? अहिले बालबालिकाको शिक्षाका लागि खोलिएका निजी विद्यालय आकर्षक व्यवसाय भएका छन् । सुनको अन्डा दिने कुखुरा बचाउन माफियाहरू जे पनि गर्न सक्छन् । तसर्थ शिक्षाको अनियन्त्रित व्यापारीकरण रोक्न केही कडा कदम चाल्न आवश्यक छ । यसका लागि नीति–निर्माण तहबाटै सशक्त पहल हुन आवश्यक छ ।

सरकारी विद्यालयलाई सक्षम र सशक्त बनाउन निजी विद्यालयलाई बन्द गर्नु वा सरकारले किनेर सरकारीकरण गर्नुभन्दा पनि अन्य उपाय अपनाउन सकिन्छ । सरकारी विद्यालयका स्थायी–अस्थायी धेरै शिक्षक तिनका छोराछोरीलाई निजी विद्यालयमा पढाउँछन् । उनीहरूका छोराछोरीलाई सरकारी स्कुलमा पढाउन बाध्यकारी कानुन ल्याइनुपर्छ । निजी विद्यालय पढेका विद्यार्थीले भविष्यमा कुनै पनि आरक्षणमार्फत पाइने सुविधा लिन नपाउने कानुन बनाउने हो भने पनि सरकारी विद्यालयप्रति नीति–निर्मातादेखि सर्वसाधारणसम्मको जिम्मेवारी बढ्नेछ । तब मात्र सरकारी विद्यालयको शिक्षा सुध्रिन्छ र निजी विद्यालयमा बालबालिका पढाउनुपर्ने बाध्यताको अन्त्य हुन सक्छ ।