१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
केशव गुरुङ गोरखा
२०७६ असार २४ मंगलबार ११:३९:००
Read Time : > 1 मिनेट
समाचार

२९० विद्यालय पुनर्निर्माण

Read Time : > 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ असार २४ मंगलबार ११:३९:००

चार वर्षअघि गएको भूकम्पबाट क्षति पुगेका गोरखाका २ सय ९० विद्यालयको पुनर्निर्माण पूरा भएको छ । भूकम्पले जिल्लाका ४ सय ६० विद्यालय भवनमा पूर्ण क्षति पुगेको थियो । जिल्ला आयोजना कार्यान्वय एकाइ (शिक्षा)का अनुसार भूकम्पले गोरखाका एक हजार ८५ विद्यालयमा आंशिक क्षति पुगेको थियो । त्यसमध्ये ४० मावि र २ सय ५० आधारभूत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको इन्जिनियर बाबुराम देवकोटाले जानकारी दिए । पुनर्निर्माण भइरहेका विद्यालयमध्ये धेरैजसो सरकारीतवरबाटै बनिरहेका र केही  दातृ निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाले निर्माण गरिरहेका छन् । 

जापानी सहयोग नियोग (जाइका) ले निर्माण जिम्मा लिएको ६१ विद्यालयमध्ये २१ विद्यालय निर्माण पूरा भई हस्तारन्तरण भइसकेको कार्यालयले जनाएको छ भने २४ विद्यालय भवन पुनर्निर्माणको अन्तिम चणमा रहेको इन्जिनियर देवकोटाले बताए । भारतीय राजदूतावासले निर्माणको जिम्मा लिएको १० वटा विद्यालयमध्ये ३ वटा निर्माणाधीन अवस्थामा रहेको र ७ विद्यालय निर्माणका लागि स्रोत सुनिश्चित भएर सर्वेक्षण काम भइरहेको उनले बताए ।

यस्तै, गुड नेभर्सले जिम्मा लिएको ७ मध्ये ६ वटा विद्यालयको पुनर्निर्माण सकिएको छ भने एक निर्माणाधीन अवस्थामा छ । लायन्स क्लबले जिम्मा लिएको चारवटा विद्यालयमध्ये एक सम्पन्न भएको र तीन निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । जिएनआइले जिम्मा लिएको ७ वटा विद्यालयमध्ये ६ वटा सम्पन्न भइसकेको छ । एक निर्माणाधीन अवस्था छ ।

चीनले जिम्मा लिएको विद्यालय सुरु नै भएन
एडिबीले जिम्मा लिएका ४ विद्यालयको सर्वेक्षण काम सकिएको र टेन्टर निकाल्न बाँकी रहेको कार्यालयले जनाएको  छ । सेभ द चिल्डेनले ७ वटा तथा असल छिमेकीले ५ वटा विद्यालको पुनर्निर्माण सम्पन्न गरिसकेको इन्जिनियर देवकोटाले बताए । चाइना निर्माणले जिम्मा लिएको एक विद्यालय भने हालसम्म पनि सुरु नै भएको छैन । 

पुनर्निर्माण सम्पन्न नभएको विद्यालय केही अस्थायी सिकाइ केन्द्र तथा केही पुरानै भवनमा सञ्चालित छन् । हालसम्म ७० विद्यालय मर्ज भएको र केही मर्ज हुने क्रममा रहेको देवकोटाले बताए । जिल्लामा निर्माणाधीन विद्यालयमध्ये धेरै हस्तान्तरणको अन्तिम चरणमा छन्  । उनले चालू आर्थिक वर्ष ८५ प्रतिशत विद्यालय पुनर्निर्माणको काम सम्पन्न हुने दाबी गरे । ०७६/०७७ सम्ममा सबै विद्यालयको पुनर्निर्माण सक्ने लक्ष्यसाथ काम भइरहेको कार्यालयले जनाएको छ ।