१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २४ मंगलबार ११:२०:००
Read Time : > 1 मिनेट
नयाँCity

यस्तो हुनेछ नयाँ धरहरा

Read Time : > 1 मिनेट
२०७६ असार २४ मंगलबार ११:२०:००

भीमसेन थापाले बनाएको धरहरा ११ तलाको थियो । तर, १९९० सालको भूकम्पले माथिल्लो भाग भत्कायो । पुनर्निर्माण गर्दा नौ तलाको बनाइयो । तर, अहिले काठमाडौंको त्यो धरोहर देख्न पाइँदैन । १२ वैशाख, ०७२ को भूकम्पले फेदैबाट ढालिदियो । भूकम्पले धरहरा मात्र ढालेन, एउटा इतिहास ढाल्यो ।  सरकारले ढलेको धरहराको ठुटोलाई संरक्षण गर्ने जनाएको छ । पुरानो धरहरा भएकै क्षेत्रमा अर्को धरहरा बन्दै छ । त्यो धरहरा जमिनमाथि ११ तलाकै हुनेछ । अर्थात् भीमसेन थापाले जति तलाको बनाएका थिए, त्यति नै बन्नेछ । नयाँ धरहराको उचाइ दुई सय ४५ फिटको हुनेछ ।

नयाँ धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ बनाइनेछ । यसको स्वरूप क्षतिग्रस्त धरहराजस्तै हुनेछ । मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाको फ्रेमले छोपेर राखिनेछ । नयाँ धरहरा हेर्न आउनेले पुरानो पनि अवलोकन गर्न पाउनेछन् । धरहरा बनाउनका लागि सरकारले नारा नै तय गरेको छ, ‘मेरो धरहरा मै बनाउँछु’ । तर, यो धरहरा पहिलाको भन्दा फरक हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले बताए । अब बन्ने धरहरा अत्याधुनिक हुने उनको भनाइ छ ।

ज्ञवालीका अनुसार धरहराको अन्डरग्राउन्डमा नै तीन तलाको हुनेछ । ती तलामा अत्याधुनिक ‘भूकम्प संग्रहालय’ हुनेछ । गोश्वारा हुलाकतिरको दुई तला अन्डरग्राउन्डमा अत्याधुनिक पार्किङ हुनेछ । ‘गोश्वारा हुलाक कार्यालय हटाइनेछ, नेपाल बैंक र सञ्चयकोषको पछाडिपट्टिको केही भाग पनि हट्नेछ,’ ज्ञवालीले भने । पुरानो धरहराले चर्चेको जग्गासहित गोश्वारा हुलाक र टक्सारको थप गरी कुल ४२ रोपनीमा नयाँ धरहरा बन्नेछ । अहिले गोश्वारा हुलाक भएको ठाउँमा प्रवेशद्वार हुनेछ । त्यहाँ पार्किङको पनि व्यवस्था हुनेछ । बगैँचा पनि बन्नेछ । त्यहाँ प्रवेश गरिसकेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्ला तला जाने व्यवस्था हुनेछ । 

नेपाल राष्ट्र बैंकको मुद्रा छाप्ने ठाउँ (टक्सार)लाई संरक्षण गरेर त्यसलाई अत्याधुनिक संग्रहालय बनाइनेछ । त्यहाँ पुराना पैसा छाप्ने मेसिन छन् । धरहरा क्षेत्रमा अत्याधुनिक वाटर फाउन्डर र बगैँचा हुनेछन् । सांस्कृतिक कार्यक्रम गर्ने खुला ठाउँ पनि राखिनेछ । सुन्धाराको पुरानो धारामा नियमित पानी आपूर्ति हुनेछ । धरहराको भित्रपट्टि कफिसप राखिनेछ । सिइओ ज्ञवाली भन्छन्, ‘धरहरा बाहिरपट्टिका निजी क्षेत्रका रेस्टुरेन्ट फस्टाउन्, त्यसबाट निजी क्षेत्रको पनि प्रमोसन होस् भन्ने सोचेर नै भित्र ठूला रेस्टुरेन्ट नराख्ने, तर सामान्य कफी र खाजा खाने मात्र व्यवस्था गरिने भएको हो ।’ 

अब धरहराबाट काठमाडौं अवलोकन गर्न पहिलेजस्तो सिँढी चढ्नु पर्नेछैन । अत्याधुनिक लिफ्ट हुनेछ । धरहराको टुप्पोबाट वरिपरि हेर्दा पहिलेको धरहराको जस्तै अनुभूति हुनेछ । बीच–बीचका तलामा पनि बस्ने र दृश्य अवलोकन गर्न मिल्ने व्यवस्था हुनेछ । भूकम्पको विविध खालको सूचना दिन श्रव्य र दृश्य सामग्री हुनेछन् । धरहरा निर्माणको ठेक्का सिटिसी र रमनदेवी कन्स्ट्रक्सनले लिएका छन् । प्राधिकरणका सिइओ ज्ञवाली भन्छन्, ‘गोश्वारा हुलाकलगायत केही कार्यालय सार्नुपर्ने कारणले त्यो साइडको काम अलि ढिलो भए पनि धरहराको मूल कामचाहिँ अगाडि बढिसकेको छ ।’ दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको उनले बताए । 

भूकम्पले लडाउनुअघिको धरहरा भएको क्षेत्रबाटै बाटो थियो । पहिलेको टक्सारबीचबाटै बाटो खोलिएको थियो । सो बाटो मुख्य राजमार्गमा जोडिन्थ्यो । स्थानीयले सो बाटो कायम गर्न माग गरेका छन् । स्थानीयको मागलाई सम्बोधन गर्ने गरी गुरुयोजना बनिरहेको ज्ञवालीले बताए । सानातिना गुनासा छाडेर धरहरा निर्माणमा कुनै बाधा नभएको ज्ञवालीले बताए ।