अहिले म ८० वर्षकी भएँ । २१ वर्षको उमेरमै मैले एमए पढ्न सुरु गरेकी थिएँ । जब एमए सकिनै लागेको थियो, साथीहरूले मेरो विवाहको कुरा लिएर आए । कुरा त त्यसभन्दा पहिले पनि परिवारका सदस्यले ल्याइरहेका थिए । तर, मैले पढ्नका लागि जिद्दि गरिरहेँ । विवाहका निम्ति तयार भइनँ । म परिवारकी पहिलो र एक्ली छोरी थिएँ । अलि पुलपुलिएकी थिएँ । जसले जे भन्यो, त्यसको विपरीत उभिइदिन्थेँ ।
त्यसवेलाचाहिँ उमेर पुगेको र पढाइ सकिएका कारण दबाब बढी नै थियो । मेरो विवाहका निमित्त राजविराजको केटा, तर बाहिर बस्ने केशवराज केशरीको कुरा आयो । त्यो विवाह पनि टार्नका निम्ति मैले सर्त राखेँ, ‘मैले पढेकी छु, अफिसमा काम गर्न चाहन्छु, घरमा बस्नुपर्छ भने म मरिगए पनि बिहे गर्दिनँ ।’त्यसअघि न्युजिल्यान्डमा रहेका केशवराज काठमाडाैं आएर डेरामा एक्लै बस्न थालेका थिए । उनलाई पनि सहारा चाहिएको रहेछ । मजत्तिकी केटीसित जीवन राम्ररी चल्छ भन्ने सोचेछन् । उनले तत्कालै मेरो सर्त मञ्जुर गरिहाले ।
विवाह गर्ने समयमा केशवराज कृषि मन्त्रालयमा काम गर्थे । म बानेश्वरको रत्नराज्य स्कुलमा पढाउथेँ । सर्त मञ्जुर भएपछि मैले उनैसँग विवाह गरेँ । तीन छोरीलाई जन्म दिएँ । बिहेको केही समयमा नै नेपाल वायुसेवा निगममा परीक्षा दिएँ । नाम निस्कियो । त्यहाँ काम गर्न थालेँ । श्रीमान् केशवराजको ०४२ सालमा निधन भयो । उनको मिर्गाैलाको अप्रेसन भएको थियो । सफल भएन । तीन छोरीको जिम्मेवारी एक्लै उठाएँ । लामो समय नेपाल वायुसेवा निगमको निर्देशक पदसमेत सम्हालेँ । त्यहीँबाट सेवा निवृत्त भएँ ।