मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका  काठमाडौं 
२०७६ असार २२ आइतबार १५:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सिमामा विषादी परीक्षणको सुरुवात गर्न कम्तिमा एक वर्ष लाग्छ : कृषि मन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं 
२०७६ असार २२ आइतबार १५:०४:००

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका छन् । 

तेस्रो मुलुकबाट आयात हुने फलफुल र तरकारीमा ६ महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेका बेला कृषि मन्त्री खनालले एकीकृत विषादी परीक्षणको सुरुवात गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका हुन् । 

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा विनियोजित बजेटमाथि बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले पुर्वाधार निर्माण गरि ६ महिना पछि परीक्षण सुरु गरिने भने पनि सो अवधिमा घोषणा गरिए अनुसार एकीकृत र प्रविधियुक्त परीक्षण सुरु गर्न नसकिने ठोकुवा गरे ।

‘६ महिनाभित्र पुर्वाधार तयार गर्ने भनिएको छ,’ उनले भने, ‘हाम्रो खरिद प्रक्रियाका कारण ६ महिनामा सकिदैन । खरिद प्रक्रिया पुरा गर्न हामीलाई करिब ९ महिना लाग्छ । ९ देखि १० महिनामा ल्यावहरु खडा गर्न सकिन्छ ।’ उनले ल्याब खडा गर्न ४ अर्ब रुपैयाँ लाग्ने र त्यो रकम अर्थसंग माग गरिसकेको उनले बताए ।

एक नम्बर प्रदेशको विर्तामोड, दुई नम्बरको सर्लाही, ३ नम्बरको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र ७ नम्बर प्रदेशमा रहेका २ वटा विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुदै आएकोमा अहिले भने रोकिएको उनले जानकारी दिए । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाँकीमा २ वटा प्यारामिटर मात्रै परिक्षण हुने गरेको उनले बताए । 

चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्यारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको उनले स्पष्ट पारे । वाणिज्य र कृषि मन्त्रालयसंग सम्बन्धीत कतिपय विषयमा एउटाले गरेको निर्णय अर्को मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने अवस्था रहेकाले तत्कालका लागि पुर्वाधार नभएको भन्दै परीक्षण रोक्न बाणिज्यले गरेको प्रस्ताव पास भएपछि आफुले त्यसैको कार्यान्वयन गर्नुपर्ने उनको भनाई थियो ।

‘वाणिज्य र कृषिका अलग अलग निर्णय हुने तर ती सम्बन्धित छन्,’ उनले भने, ‘मुल्य निर्धारण हामी गर्छौ तर क्याबिनेटमा वाणिज्यबाट जान्छ । निकासी पैठारी ऐन अन्र्तगत निर्णय हुन्छ तर कार्यान्वयन कृषि मन्त्रालयले गर्नुपर्छ । त्यसो गर्दा वाणिज्यबाट यो प्रस्ताव गयो । प्रस्ताव पारित भयो । राजपत्रमा सुचना प्रकाशित भएको मितिबाट मैले सुरु गरेँ । गरेको त्यही हो । अब फेरी वाणिज्यले अहिले तत्काल पुर्वाधार नभएकाले अलि सकिन्न कि भनेर प्रस्ताव लग्यो अब त्यो पास भएको छ । मैले रोक्नुपर्ने होला ।’

असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउँदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुदै आएको छ ।