Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २२ आइतबार ०६:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विश्वविद्यालय अनुदान  आयोगमा असारे खर्च : सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा

१० जना भियतनाम र आठजना आज चीन उड्दै

Read Time : > 1 मिनेट
२०७६ असार २२ आइतबार ०६:१३:००

विश्वविद्यालय शिक्षा : नयाँ पत्रिका फलोअप -

विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन् । बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन् । भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य, राममणि गौतम, डम्बरलाल श्रेष्ठ, उषा खकुराल, कपिल रिसाल, दुलराज चिमोरिया, विरोद भट्टराई, उषा पोखरेल र शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली टोलीमा छन् । अधिकृत रमेशप्रसाद अधिकारी आन्तरिक कारबाहीमा परेकाले भ्रमणमा सहभागी हुन पाएनन् ।

त्यसैगरी चीन जाने टोलीमा आयोगका अध्यक्ष प्रा.डा. भीम सुवेदी, बोर्ड सदस्यहरू गोविन्द आचार्य, विकास अधिकारी, चन्द्रकला घिमिरे र पिके झा, आयोगका पदेन सदस्य त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल छन् । आयोगका कर्मचारी देवेन्द्र रावल पनि टोलीमा परेका छन् । 

भियतनाम जाने टोली आइतबार बेलुकी उड्दै छ भने चीन जाने टोली २६ असारमा जानेछ । स्रोतका अनुसार विदेश भ्रमणका लागि ५० लाख बजेट विनियोजन गरेका छन् । सदस्यसचिव अधिकारीको टोलीले कोरिया भ्रमण गर्ने योजना बनाए पनि नमिलेपछि भियतनामको भ्रमण तय गरेको हो । आयोगका प्रशासकीय प्रमुख सुवास ढुंगेलबाहेक सबै अधिकृतस्तरका कर्मचारी भियतनाम जाँदै छन् । 

आयोगबाटै निर्णय गरेर एक्सपोजर भिजिटका नाममा उनीहरूले भ्रमण गर्न लागेका हुन् । आयोगको कार्यक्रम कार्यविधिमा सार्क मुलुकभित्रको एक्सपोजर भिजिटमा जान सक्ने उल्लेख छ । तर, उनीहरू अहिले आसियन मुलुक जान लागेका छन् । चीनमा हुने कार्यक्रम दुई दिनको छ, तर भ्रमणको कार्यक्रम सात दिनको छ । भियतनाम जाने टोलीले आठ दिनको भ्रमण तय गरेको छ । 


केही सिक्न जाँदै छौँ : प्रा.डा. भीमप्रसाद सुवेदी 

अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग


योजना बनाउँदा–बनाउँदै भ्रमणमा ढिला भएको छ । भियतनाममा उच्च शिक्षा र क्युएएका विषयमा केही सिक्न जान लागिएको हो । त्यस्तो गतिलो इकोनोमी भएको देश होइन, तर केही समानता भएकाले केही सिक्न सकिन्छ भनेर जान लागिएको हो । बोर्डका केही सदस्यले एक्सपोजर हुनुपर्छ भनेकाले निर्णय गरेर चीन जान लागिएको हो । चीनमा केही विश्वविद्यालय भिजिट गरेर कसरी सञ्चालन भएका छन् भन्ने अध्ययन गर्छौँ ।