मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ पौष १७ मंगलबार १८:२०:००
Read Time : < 1 मिनेट
समाचार

हात मिलाएर मात्रै पार्टी एकता हुँदैन : नेता पौडेल

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष १७ मंगलबार १८:२०:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताबीच हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् । बन्दीपुर गाउँपालिका–१ मा मंगलबार नाहालामा आयोजना गरिएको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताएका हुन् । 

उनले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिए । नेता पौडेलले विषयवस्तुमा आधारित भएर एकता चाहेको उल्लेख गर्दै विधानमा एकता गर्न सकिने धारणा व्यक्त गरे । उनले भने, “पार्टीमा क्यालेण्डरअनुसार काम गरौँ, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौँ, त्यसमा एकता हुन्छ, देखाउन र नक्कली एकता काम छैन ।”
 
उनले पार्टीमा गलत काम भएपछि विरोध हुनु स्वभाविक भएको भन्दै सभापतिले समग्र पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा जोड दिए । सभापति पार्टीका कार्यकर्ताको भावनाअनुसार चल्न नसकेकाले आफूले सभापतिविरुद्ध आवाज उठाउनु परेको उनको भनाइ थियो । कांग्रेस सदनमा हराएको जस्तो देखिएको उल्लेख गर्दै उनले सरकारलाई खबरदारी गर्न समेत प्रतिपक्षीले नसकेको बताए । 

कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, महाधिवेशन प्रतिनिधि दिपक भट्टराई र मानकाजी श्रेष्ठ, क्षेत्रीय संयोजक सहदेव अधिकारी, बन्दिपुर गाउँपालिका सभापति कर्णबहादुर खत्री, वडा नम्बर १ का सभापति रेशमबहादुर थापा लगायतले पार्टीमा गुटबन्दी अन्त्य हुनु पर्नेमा जोड दिएका थिए ।