मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ता चाैधरी काठमाडाैं
२०७६ असार १८ बुधबार १२:२३:००
Read Time : > 2 मिनेट
शिक्षा

यस्तो छ शान्ता चौधरीको एसइईपछिको योजना

Read Time : > 2 मिनेट
शान्ता चाैधरी काठमाडाैं
२०७६ असार १८ बुधबार १२:२३:००

प्रप्रितिनिधिसभा सदस्य तथा नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) दिएकी हुन् । एसइर्ईमा उनले जिपिए २.६५ प्राप्त गरेकी छिन् । एसइईपछि विद्यालय तहमा औपचारिक कक्षा धेरै लिन नपाएकी चौधरीलाई उच्च शिक्षासम्म अध्ययनको धोको छ । नियमित विद्यालय जान नसकेपछि उनले खुला विद्यालयमा भर्ना भएर एसइई दिएकी थिएन् । उनी मात्र होइन, परिवारमा छोरीले समेत यसै वर्ष एसइई दिएकी हुन् । एउटै विद्यालयबाट सँगै पढेर परीक्षा नदिए पनि घरमा आमाछोरी प्रतिस्पर्धी हुन् । कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा छ, शान्ता र उनकी छोरी विनुको । चौधरी समानुपातिकतर्फबाट ०६४ सालमा संविधानसभा सदस्य भएकी थिइन् । पढाइको महत्व बुझेपछि औपचारिक शिक्षाको प्रमाणपत्र लिने अठोट गरी उनले एसइईको यात्रा तय गरेकी हुन् । अप्ठ्यारोलाई रुचिले जितेपछि औपचारिक शिक्षाको यात्रामा लागेको उनको ठहर छ । अबको शैक्षिक यात्राबारे उनकै शब्द :

ययस वर्षको एसइई मैले र छोरीले सँगसँगै दियौँ । छोरी र मेरो एसएलसीको कक्षा एउटै भए पनि दिने ठाउँ भने फरक थियो । मैले दाङको महेन्द्र माविबाट एसइई दिए र छोरीले काठमाडौंबाट दिएकी हुन् । मेरो एसइईमा जिपिए २.६५ आएको छ । एसइईपछि धेरै कलेजले आफ्नो कलेजमा पढ्नका लागि आग्रह गरेका छन् तर मैले यसबारे निर्णय गरेको छैन । 

छोरीसँगै एसएलसी दिँदा कतिपय विषयमा सजिलो पनि भयो । पढ्नका लागि सहज पनि भयो । मेरो उमेर धेरै भए पनि पढ्ने इच्छाका कारण एसइई दिएँ । संसद्मा बिदा लिएर पनि इच्छा पूरा गरँे । अरू कतिपयलाई पढ्न मन लागे पनि अप्ठ्यारो मानेर पढ्न सक्नुभएन । मेरो रुचिले मेरा अप्ठ्यारोलाई जितेका कारण एसइई पार लगाएँ । मैले गरेको तयारी पनि राम्रो थियो । 


एसइईपछि धेरै कलेजले आफ्नो कलेजमा पढ्नका लागि आग्रह गरेका छन् तर मैले यसबारे निर्णय गरेको छैन

रिजल्ट नजिकिँदै गर्दा छोरी विनुले कहिलेकाहीँ कसको नतिजा राम्रो आउने भनेर जिस्क्याउँथिन् । आमाछोरीको प्रतिस्पर्धा थियो । मैले पनि राम्रो तयारी गरेका कारण रिजल्ट राम्रो हुन्छ भन्ने अपेक्षा थियो । सानो उमेर र ठूलो भएर पढ्दा सम्झने कुरामा फरक हुने रहेछ । एकदमै उत्कृष्ट नतिजा नभए पनि  हुन्छ भन्ने थियो । छोरीले पढेको वातावरण र मेरो वातावरण फरक रहेकाले नतिजा पनि यहीअनुसारको हुन्छ भन्ने अपेक्षा थियो । जे भए पनि नतिजा आउने समयमा अलिकति डर लाग्ने रहेछ । 

एसइईपछिको यात्रा
एसइईपछिको यात्रा तय गर्ने योजनामा छु । यसपछि मेरो प्लस टु र ब्याचलर पढ्ने रुचि छ । म अरू कामसँगै पढाइलाई निरन्तरता दिन्छु । एसइईपछि के र कहाँ पढ्ने भन्ने टुंगो लागेको छैन । मेरो योजना कक्षा ११ र १२ दाङमै पढ्ने र ब्याचलर काठमाडौंमा पढ्ने छ । एसइईपछि मलाई राजनीतिशास्त्र र कानुन विषय पढ्ने मन छ । कक्षा ८ दाङमै पढेको र पछि खुला विद्यालयबाट दाङबाटै एसइई परीक्षा दिएकाले प्लस टु पनि दाङमै पढ्न मन छ । संसद् बैठक सधँै बस्ने होइन, जान–आउन सकिन्छ । काठमाडौंमै पढे पनि सधैँ कलेज गएर पढ्न सक्ने पनि होइन । पढ्ने विषय र संस्थामा अन्योल छ । रुचि भएको विषय पढ्ने अवसर मिल्छ कि मिल्दैन, त्यसअनुसार बिस्तारै टुंगो लगाउँछु । 

अब पढ्ने विषयमा आमाछोरीको पनि छलफल हुन्छ । मैले छोरीलाई पनि कानुन पढ्न भनेकी थिएँ, उनको त्यसमा इच्छा देखिएन । उनले स्टाफ नर्स पढ्ने निर्णय गरिसकेकी छिन् । नतिजा नआउँदै स्टाफ नर्स पढ्ने निर्णय गरेर त्यसको ब्रिजकोर्ससमेत लिएकी छन् । छोरी र मेरो कक्षा अर्थात् तह एउटै भए पनि गन्तव्य फरक छ । म  राजनीतिसँग जोडिएको विषय अध्ययन गर्न चाहन्छु । छोरीले बनाउन चाहेको करिअर फरक छ । उनले नर्सिङमा करिअर बनाउन चाहेकी छन् । अहिलेका बालबालिका आफ्नो रुचिअनुसारको तयारी गर्छन् । अभिभावकको चाहना एउटा हुन सक्छ, तर अभिभावकले छोराछोरीको भावना बुझेर अघि बढ्नुपर्छ, मैले पनि त्यसै गरेको छु । छोरीले काठमाडौंका शैक्षिक संस्थामा प्रवेश परीक्षामा नाम निकालेर अध्ययन गर्ने सोचाइ बनाएकी छिन् । 

आमाछोरी समकक्षी तर व्यवहारमा फरक
आमाछोरीको पढाइको लेभल एउटै भए पनि सोच्ने तरिका र व्यवहार फरक हुन्छ । पढाइको हिसाबमा छोरी मभन्दा धेरै जान्ने छिन् र मलाई नै सिकाउन सक्छिन् । टिनएजमा भएको छोरीले सोच्ने र मैले सोच्ने विषय फरक हुन्छ । कतिपय विषयमा छलफल हुन्छ र सहमतिमा आउँछौँ । कतिपय अवस्थामा यो उमेरका छोराछोरीमा जिद्दी स्वभाव पनि हुन्छ । उनीहरूले सधैँ आफ्नो कुरा ठीक ठानेका हुन्छन् । व्यावहारिक ज्ञान मबाट छोरीले सिकेकी छिन् ।