मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ मङ्सिर २९ शनिबार ११:५८:००
Read Time : > 3 मिनेट
फिचर

एक–अर्काका नजरमा जितु नेपाल र दमन रुपाखेती

Read Time : > 3 मिनेट
२०७५ मङ्सिर २९ शनिबार ११:५८:००

नेपाली कला क्षेत्रमा जितु नेपाल र दमन रुपाखेती परिचित नाम हुन् । हास्यव्यंग्य क्षेत्रमा सक्रिय दुवै कलाकारको सम्बन्धलाई लिएर चर्चा पनि भइरहन्छ । ‘जिरे खुर्सानी’मार्फत सानो पर्दामा चर्चित यो जोडीका कार्यक्रम निकै रुचाइएका छन् । दर्शकबाट ‘जुनियर मह जोडी’ भनेर उपनाम पाएका उनीहरू ‘जिरे खुर्सानी’बाटै लोकप्रिय बनेका छन् । 

तर, यस जोडीबीच लामो समय सहकार्य हुन सकेन । उनीहरूको बिग्रिएको सम्बन्धलाई लिएर बजारमा विविध ‘गसिप’ पनि हुने गरेका छन् । पछिल्लो समय केही कार्यक्रममा एकसाथ देखिए पनि पहिलेजस्तो जोडीका रूपमा भने पर्दामा आएका छैनन् । अहिले उनीहरूको सम्बन्ध कस्तो छ ? एक–अर्कालाई कसरी लिन्छन् ? नयाँ पत्रिकाले उनीहरूसँग बुझ्ने प्रयास गरेको छः 

दमन रुपाखेतीको नजरमा जितु नेपाल

परिवेशअनुसार आफूलाई ढाल्न माहिर हुनुुहन्छ ।

तपाईंको नजरमा जितु नेपाल कस्ता व्यक्ति हुन् ?
उहाँ भयंकर ट्यालेन्ट व्यक्ति हुनुहुन्छ । 

उनको संगतले आफूलाई केही परिवर्तन गर्नुभयो ?
म आफूलाई उहाँजस्तो बनाउन सकिनँ । त्यसैकारण हाम्रो धार फरक भयो । उहाँ आफूलाई हाई प्रोफाइलको सोच्नुहुन्छ । म आफूलाई सामान्य व्यक्ति ठान्छु । हाम्रो सोचाइ नितान्त भिन्न छ । 

उनको कमजोर पक्ष के हो ? अथवा सुधार गर्नुपर्ने पाटो के हो ?
उहाँ अलि बढी आफूलाई सोच्नुहुन्छ । सबैका लागि सोच्छु भन्ने देखाउन खोज्नुहुन्छ, तर व्यवहारमा स्वार्थीपन देखिइहाल्छ । अरूलाई मारमा पारेर आफूखुसी हुन खोज्नु राम्रो होइन । यही नै हो, उहाँको कमजोर पक्ष । अलि सुधार गर्नुपर्छ कि । बाँकी सबै एक्सिलेन्ट छ । 

साथीभाइबीच उनको कस्तो छवि छ ?
उहाँको छवि राम्रो छ । यति हुँदाहुँदै पनि अलिकति स्वार्थीपनचाहिँ अरूले पनि महसुस गरेका हुन् कि जस्तो लाग्छ । कहिलेकाहीँ समूहमा कुरा गर्दा त्यस्तो झल्को पाउँछु । तर, मैले आफूले चाहिँ तपाईंको नजरमा जितुजी कस्तो व्यक्ति हो भनेर सोधेको छैन । एकै क्षेत्रका साथीहरूले कहिलकाहीँ हल्का त्यस्तै खालको कुरा गरेको सुनेको मात्रै हो । त्योभन्दा अघि बढेर सोध्ने कुरा पनि आउँदैन । 

के कुराले तपाईंहरूको सम्बन्ध चिसिएको हो ?
त्यस्तो ठूलो विषय छैन । खालि फरक सोचाइका कारण धार मात्रै फरक भएको हो । अहिले पनि राम्रै बोलचाल छ । कतिपय प्रोजेक्टमा सँगै काम गरेका छौँ । 

तपाईंहरूबीच समानता के छ ?
हाम्रो हाइट बराबर छ । अनुहार पनि मिल्छ भन्छन् कतिपयले । त्यही हो । अनि क्षेत्र एउटै । अरू त्यस्तो समानता छैन जस्तो लाग्छ । उहाँ मभन्दा बढी चर्चित हुनुहुन्छ । उहाँ आफूकेन्द्रित हुनुहुन्छ । आफ्नो सेफ खोज्नुहुन्छ । त्यसैले उहाँ मभन्दा बढी सुखी हुनुहुन्छ । म आफ्ना लागि मात्रै नसोच्ने भएरै होला उहाँभन्दा दुःखी छु । हामी सबै बराबर हौँ भन्ने सोचाइले पनि अलि दुःख पाइनेरहेछ । धनमा दुःखी भए पनि मनमा चाहिँ सुख नै छ ।

उनको राम्रो पक्ष के हो ?
उहाँको सिर्जनशीलता । समयअनुसार कसरी चल्ने भन्ने कुराको ज्ञान उहाँमा जत्तिको अरूमा सायदै होला । परिवेशअनुसार आफूलाई ढाल्न माहिर हुनुुहन्छ । त्यो उहाँको सबैभन्दा राम्रो र बलियो पक्ष लाग्छ । 

अब एउटै प्रोजेक्टमा काम गर्ने योजना छ कि छैन ?
अहिले तत्काल छैन । हेरौँ भविष्यमा हुन पनि सक्छ । समय सधैँ एकैनास हुँदैन । एउटै प्रोजेक्टमा काम गर्न नसक्ने हुँदै होइन । अरूको प्रोजेक्टमा त गरिरहेका नै छौँ । तर, हाम्रो आफ्नै एउटै प्रोजेक्टमा काम गर्ने योजनाचाहिँ अहिले बनेको छैन ।

जितु नेपालको नजरमा दमन रुपाखेती

एकदम सरल जीवनमा रमाउनुहुन्छ

तपाईंको नजरमा दमन कस्ता व्यक्ति हुन् ?
उहाँ एकदमै सरल व्यक्ति हुनुहुन्छ । थोरै कुरामा रमाउन सक्ने, अरूले जे भने पनि आफ्नै किसिमले चल्ने व्यक्ति हुनुहुन्छ । 

उनको संगतले तपाईंमा केही परिवर्तन आयो ?
केही गरिनँ । तर, अरूले प्रगति गरिरहेको हुन्छ, त्यस्ता कुराहरूलाई वास्ता नगर्ने आफ्नै तरिकाबाट निरन्तर काम गरिरहने बानीबाट चाहिँ प्रभावित भएँ । तर, आफूलाई चाहिँ त्यस्तो बनाउन सकिनँ । 

उनको कमजोर पक्ष के हो ? अथवा सुधार गर्नुपर्ने पाटो के हो ?
उहाँको कमजोर पक्ष भनेको नै एकलकाटे स्वाभाव हो । कसैसँग घुलमिल नहुने, साथीभाइलाई समय नदिने, छलफल नगर्ने । काम गर्दा पनि आफ्नै खुसीअनुसार गर्ने, अरूको मतलब नगर्ने । समूहमा विश्वास नगर्ने । कमजोर पक्ष हुन् । साथीभाइसँग पनि घुलमिल हुनुपर्छ । मानवीय सम्बन्ध पनि बनाइराख्न जरुरी छ । यही पाटो अलि सुधार गर्नुपर्नेछ । काम भइन्जेल सम्पर्कमा रहने, सकिएपछि सम्पर्कमै नरहने बानी राम्रो होइन । कामभन्दा बाहेक पनि साथीभाइसँग सम्बन्ध बनाउनुपर्छ भन्ने लाग्छ । 

तपाईंहरूबीच समानता छ ?
हामीबीच समानता भनेको हाम्रो उमेर उस्तै हो । केही दिनको मात्रै फरक छ । अनुहार मिल्छ भन्छन् । अरू छैन । उहाँ आफूलाई बढी समय दिनुहुन्छ । म साथीभाइलाई बढी समय दिन्छु । म अलि चञ्चले स्वभावको छु । 

उनको साथीहरूसँग सम्बन्ध कस्तो–कस्तो छ ?
उहाँ कसैसँग पनि दीर्घकालीन रूपमा साथी नै बन्न सक्नुभएन । साथी पनि चाहिन्न जस्तो गर्नुहुन्छ । काम गरिन्जेल मात्रै साथी, त्यसपछि बिर्सिने बानी छ । उहाँको नजिकको साथी कोही छन् जस्तो मलाई चाहिँ लाग्दैन । जो–कोहीसँग भेट्दा पनि एकदम सामान्य अथवा औपचारिक रूपमा मात्रै हाइहेलो हुन्छ । 

के कुराले तपाईंहरूको सम्बन्ध चिसिएको हो ?
हामीबीच त्यस्तो नराम्रो पनि छैन । मैले अघि पनि भनिहालेँ उहाँ एकदम आफूलाई मात्रै साोच्नुहुन्छ । सेल्फिस हुनुहुन्छ । कार्यक्रमतिर जाँदा म सबैसँग घुलमिल हुन्छु, झुक्न पनि तयार हुन्छु । काम लिन सक्छु । हामी कलाकार भनेको हाम्रो व्यवहारबाट पनि काम पाउने हो । उहाँ त्यस्तो हुनुहुन्न । कसैसँग पनि तल पर्नु चाहनुहुन्न । एकदम स्वाभिमानी हुनुहुन्छ । मलाई झुक्ने बानीले कामको अफर आयो, मेरो चर्चा अलि बढी भयो त्यसैले उहाँ आफूलाई असुरक्षित पाउनुभयो होला । तर, अहिले पनि हामीबीच काम गर्नै नसक्ने भन्ने अवस्था छैन ।

उनको राम्रो पक्ष के हो ?
उहाँको सबैभन्दा राम्रो पक्ष भनेको हिसाबमा एकदम क्लियर हुनुहुन्छ । कसैलाई पनि दुई पैसा तलमाथि पार्नुहुन्न । अर्को भनेको अरूको तडकभडकले उहाँलाई कत्ति पनि असर गर्दैन । एकदम सरल जीवनमा रमाउनुहुन्छ । 

अब एउटै प्रोजेक्टमा काम गर्ने योजना छैन ?
मैले ‘जिरे खुर्सानी’मा फेरि सँगै काम गरौँ भनेको थिएँ । तर, उहाँले वास्ता गर्नुभएन । अहिले कमेडी क्लब गरिरहेको छु । त्यसमा चाहिँ मैले उहाँलाई अफर गरिनँ । त्यसैले गर्दा अहिले तत्काल काम गर्ने योजना छैन । तर, भविष्यमा काम गर्न सक्ने सम्भावना अझै पनि छ ।